दाङको दंगिशरण गाउँपालिका-६ बागरका ४६ वर्षीय मनिराम चौधरीले गत वर्ष ब्यवसायिक माछा पाल्न घोराहीमा जग्गा भाडामा लिए।
घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरामा उनका दुई वटा माछापोखरी छन्। ती मध्ये एउटामा १८ हजार र अर्कोमा १० हजार माछाका भुरा हालेका छन्।
यो जग्गा पद्मोदय पब्लिक उच्च माविको हो। २ बिगाहा क्षेत्रफलको जग्गा उनले १० बर्षका लागि भाडामा लिएका छन्।
जहाँ उनले माछा पालन, बंगुरपालन, कुखुरा पालन र तरकारी खेती गरिरहेका छन् ।
सुरूमा गत साल मंसिरमा दुई जना मिलेर यो जग्गा भाडामा लिएका रहेछन्।
तर, विद्यालयसँग सम्झौता भएको ४ महिना नपुग्दै नेपालमा लकडाउन सुरू भयो । कोरोना भाइरसको कहरले सर्वत्र त्रासदी छायो। लकडाउनले व्यापार व्यवसाय चौपट भयो । घाटा बेहोर्नु पर्यो । अनि चौधरीका अर्का साथी बाहिरिए।
घाटा भयो, भनेर साथीले बीचमै छोडेर गए पनि चौधरीले हरेश खाएनन् ।
दुई जना साथी हुँदा सुरूमा मासिक ५० हजार जग्गाको भाडा तिर्ने सम्झौता थियो । बीचमै एकजनाले छोडेर गएपछि विद्यालयले पनि केही सहुलियत दियो। चौधरी एक्लै भएपछि मासिक ३२ हजार भाडा तिर्ने सहमति भयो।
गत साउनदेखि सबै कामको जिम्मा चौधरी एक्लै लिएका छन्।
‘भगवानले तँ सोच म पुर्याउँछु भन्छ रे, गरे हुँदो रै’छ,’ चौधरीले भने, ‘मैले घोङ्गी बेचेरै यो बीचमा सबैभन्दा धेरै आम्दानी लिएको छु।’
ती माछा पोखरीमा प्राकृतिक रूपमा आफैं हुर्किएका घोङ्गी बेचेर साउन यता मात्रै झन्डै ८ लाख रुपैंया आम्दानी गरेको सेतोपाटीलाई जानकारी दिए।
उनले यहाँ घोङ्गी कतैबाट किनेर वा खोजेर पालेका होइनन्। प्राकृतिक रूपमा आफैं खोलामा हुर्किएका घोङ्गी पानीसँगै बगेर उनको माछा पोखरीसम्म आएका हुन्।
त्यहीँ माउ घोङ्गीले बच्चा उत्पादन गरे। तीनै घोङ्गी बेचेर उनले लाखौं आम्दानी लिए। उनको माछा पोखरी कटुवा खोलाको किनारमै छ।
मनिरामले हाल ठेक्कामा लिएको माछा पोखरी अर्कै व्यक्तिले निर्माण गरेका हुन्। उनले यहाँ माछा मात्रै पाले। तर, घोङ्गीबाट पनि आम्दानी लिन सकिन्छ भनेर सोचेनन्। त्यो बेच्ने सोच पनि राखेनन्। उनले छोडेर गएपछि चौधरीले घोङ्गीबाट पनि सम्भावना देखेर बिक्रि गर्न थालेको बताए।
पनौंरामा घोङ्गी किन्न पाइन्छ भनेर थाहा पाएका सबै जिल्लाका होटेल तथा रेष्टुरेण्ट सञ्चालक आज चौधरी कहाँ जान्छन्।
धेरैले चौधरीलाई नै जिल्लाकै पहिलो ब्यवसायिक घोङ्गी पालक किसान ठान्छन्।
किलोको दुई सय रूपैयाँमा घोङ्गी बेच्दै आएका उनले कोही आएर आफैं तालमा पसेर लैजान चाहे प्रतिकेजी डेढ सयमै दिने गरेको सेतोपाटीलाई जानकारी दिए।
‘मैले घोङ्गी माग अनुसार पुर्याउनै सकेको छैन। डाक्टरदेखि ठेकेदार, ठूला होटेलका साहुलेसमेत यहीँबाट घोङ्गी लैजाने गरेका छन्’, उनले भने, ‘जिल्लामा चलेका होटेल र रेष्टुरेण्टहरू पनि घोङ्गी खोज्दै यहाँ आउँछन् तर मैले मागे अनुसार दिनै सकेको छैन।’
कुनै बेला थारू जातिले मात्रै घोङ्गी खान्थे। तर, घोङ्गी खाँदा शरीरलाई हुने फाइदा र महत्व बुझेपछि आज सबै जातजाति र समुदायका मानिसहरुले घोङ्गी खोजी–खोजी खान थालेको चौधरीको अनुभव छ।
चौधरीका अनुसार घोङ्गी क्याल्सियमको मुख्य स्रोत हो। यसले हड्डी र मासी बढाउने काम गर्छ। ग्याष्ट्रिकका बिरामीका लागि यो औषधि समान मानिन्छ।
चौधरीले हालसम्म दुई वटा माछा पोखरीबाट झन्डै ४ क्वीन्टल जति घोङ्गी बिक्रि गरिसकेका छन्। अझै पोखरीमा ४-५ क्वीन्टल घोङ्गी बाँकी रहेको उनले बताए।
घोङ्गी एक प्रकारको किरा हो। यो पाल्न कुनै लगानी आवश्यक पर्दैन। एक रूपैंया खर्च गर्नु पनि पर्दैन। यसले पानीका चिजवस्तु आएर हुर्किन्छ।
चौधरीका अनुसार घोङ्गीले अलिअलि घाँस पनि खान्छ, माटो पनि खान्छ, लेउ र स्याउँ खाएर हुर्किन्छ। माछा पोखरीमा हुर्किरहेको घोङ्गीले माछाले खाएर बचेको र पानीको सतहमा थिग्रिएको दाना खाने गरेको उनले बताए।
घोङ्गी जिल्लाका खहरे खोलामा पनि पाइन्छन्। पहिले–पहिले यो धान खेत र गरामा प्रसस्तै भेटिन्थ्यो। तर, पछिल्लो समय विषादी र रसायनिक मलको बढ्दो प्रभावले घोङ्गी विस्तारै कम हुँदै गएको चौधरीले बताए।
चौधरीले आफूनै जिल्लामा व्यवसायिक रूपमा घोङ्गी बेच्ने पहिलो व्यक्ति भएको दाबी गर्दै घोङ्गी पालेर मनग्य आमदानी लिन सकिने सम्भावनासमेत औंल्याए।
‘घोङ्गी पाल्न कुनै खर्च लाग्दैन। ताल वा पोखरी भए जो कोहीले पनि घोङ्गी पाल्न सक्छ,’ उनले भने,‘यसबाट मनग्ये आम्दानी गर्न सकिन्छ।’
पछिल्लो समय चौधरीका छोरा कुलबिर पनि ओमानबाट फर्किएर बुवालाई काममा सघाइरहेका छन्। छोरा विदेशबाट आउनुअगाडि मनिरामले काम गर्ने केही मानिस राखेका थिए। अत्यासलाग्दो लकडाउनमा काम नभएपछि उनीहरु पनि गए। अहिले परिवारका सदस्य सबै मिलेर काम गरिरहेको मनिरामले बताए।