नेपालमा यो वर्ष धान उत्पादन बढेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष ७० हजार ८३१ मेट्रिक टन धान उत्पादन बढेको हो।
चैते धान र वर्षे धान गरी यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ। यो उत्पादन अहिलेसम्मकै उच्च रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। त्यस्तै आव ०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, आव ०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ।
यो वर्ष धान लगाइएको क्षेत्रफल १४ हजार ५५९ हेक्टरले वृद्धि भई कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा उत्पादन भएको मन्त्रालयले जनाएको छ।
प्रतिहेक्टर उत्पादकत्व ३. ८२ पुगेको छ। जुन गत वर्षभन्दा ०. २८ प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ।
यो वर्ष सक्रिय मनसुन जेठ ३० बाटै सुरु भएको र गत सालको मनसुनभन्दा औसत ३१ प्रतिशत बढी वर्षा हुँदा उत्पादन वृद्धिमा टेवा पुगेको मन्त्रालयले जनाएको छ।
लकडाउनका कारण कामदारको सहज उपलव्धता, प्रदेशका कार्यालयहरुले बिउबिजन उपलव्धतामा सहजीकरण गरेकाले गत सालभन्दा धान उत्पादन राम्रो भएको मन्त्रालयको दावी छ।
त्यस्तै तराईका जिल्लाहरुमा सिमाना पारिबाट अनौपचारिक रुपमा रासायनिक मल किसानले ल्याएर असहजतालाई पनि पूर्ति गरेको मन्त्रालयले उल्लेख गरेको छ।
उन्नत तथा हाइब्रिड बिउबिजनको उपलव्धता तथा प्रयोगमा आएको वृद्धि, क्षेत्रगत रुपमा रोगप्रकोप तथा बिउका समस्यामा कमी हुनुले पनि उत्पादकत्व बढेको मन्त्रालयको भनाइ छ।
नेपालमा चैते धानको उत्पादकत्व वर्षे धानकोभन्दा उच्च रहीआएको छ। उत्पादन वृद्धिका हिसावले लुम्बिनी प्रदेश सबैभन्दा अगाडि छ। प्रदेश नम्वर २ मा सबैभन्दा धेरै धान उत्पादन भएको छ।
हेर्नुस् प्रदेशगत रुपमा धान उत्पादन र क्षेत्रफल