कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयसँग यसको पक्ष र विपक्षमा बहस चर्किन थालेको छ। कोही कृषिमा वैदेशिक लगानी भित्र्याउन पर्छ भन्छन् भने कोही भित्र्याउन हुँदैन भन्छन्।
तर शर्तसहितको वैदेशिक लगानी भित्र्याउन सकिने कुरामा भने प्राय सबै सहमत देखिएका छन्।
मंगलबार राजधानीमा आयोजित कृषिमा विदेशी लगानी खुला किन? विषयक बहसमा सहभागी कृषक तथा कृषि उद्यमीहरुले शर्तसहित वैदेशिक लगानी ल्याउँदा आपत्ति नहुने बताएका हुन्।
उक्त कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघसँगको सहकार्यमा एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट(अनाज)ले गरेको हो।
कार्यक्रममा गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले कृषिमा आउने वैदेशिक लगानीदेखि डराउनु नहुने बताए।
केही व्यवसायीले कृषिमा वैदेशिक लगानीको विरोध गरेकोमा आफू आश्चर्य चकित भएको उनको भनाइ छ।
‘हाम्रा स्वदेशी लगानीलाई विस्थापित नगर्ने गरी कृषिमा वैदेशिक लगानी भित्र्याउन जरूरी छ, यसले कृषिलाई आत्मनिर्भर बनाउँछ,’ उनले भने।
‘कृषिमा वैदेशिक लगानी आउनुपर्छ, यसो भनिरहँदा यसमा व्यक्तिगतरुपमा मेरो कुनै स्वार्थ छैन। मैले पनि कृषि गरेको छु। व्यक्तिगतरुपमा भन्दा घाटा हुने हो भने मलाई पनि घाटा हुनुपर्ने हो। तर यसले कसैलाई घाटा पार्दैन, वैदेशिक लगानीले राष्ट्रिय अर्थतन्त्र र नेपाली किसानको हित गर्छ" उनले भने।
उनले ठूला लगानी हुन नसकेकै कारण अहिले पनि करोडाैंको पाउडर दूध, वटर, चकलेट, दालमोठलगायतका बस्तु आयात भइरहेको बताए।
वैदेशिक प्रविधि, सीप र पुँजी भित्रिए बाहिरबाट आयात हुने कृषिजन्य उत्पादन यही उत्पादन गर्न सकिने उनको भनाइ छ।
‘वार्षिक ५ अर्बको दालमोठ आयात भइरहेको छ, ठूलो दालमोठ उद्योग स्थापना भयो भने आयात गर्नुपदैन, अनि किसान पनि लाभान्वित हुन्छन् । त्यसैले प्रतिस्पर्धादेखि किन डराउने?', उनले प्रश्न गरे।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा डेरी उद्यमी अरनिको राजभण्डारीले आफूहरुले वैदेशिक लगानीको विरोध नगरेको बताए।
सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन ल्याएकोमा कसैको स्वार्थ गाँसिएको आशंका पैदा भएको उनको भनाइ छ।
‘सरोकारवालासँग व्यापक छलफल गरेरमात्रै सरकारले ऐन ल्याउनुपर्नेमा संसद पनि नभएको बेला हतारमा किन ऐन ल्याइयो भन्नेमा हाम्रो शंका हो,’ उनले भने।
पहिले स्वदेशी उद्योगको क्षमता अभिबृद्धि गरेरमात्रै वैदेशिक लगानी भित्र्याउन पर्ने उनको भनाइ छ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले भने आत्मनिर्भरोन्मुख अवस्थामा रहेको नेपालको दूग्ध क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको बताए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले सरोकारवालासँग व्यापक छलफल र गृहकार्यपछि मात्रै ऐन ल्याउनुपर्नेमा उद्योग मन्त्रालयले हतार गरेको स्वीकार गरेको बताए।
तर ऐन आउँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको उनको भनाइ छ।
‘अहिले आत्तिहाल्न पर्ने केही छैन, निर्देशिका बनाउँदा के के ल्याउने, कति ल्याउने त्यो सबै स्पष्ट पार्नु पर्छ,’ उनले भने।
खुला अर्थनीतिमा कृषिमा बैदेशिक लगानीलाई नकार्न नसकिने बताए।
सरोकारवालासँग छलफल गरेरै ऐन ल्याइएको उद्योग विभागअन्तर्गको वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ताको दावी छ।
गुप्ताले ऐन आएपनि कृषिमा तत्कालै वैदेशिक लगानी आइहाल्ने अवस्था नरहेको बताए।
गुप्ताका अनुसार हालसम्म कृषिमा ४ वटामात्रै ठूला वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् भने साना उद्योगको संख्या भने २ सय ९० रहेको छ।
निर्देशिका बनाउँदा सरोकारवालाका सुझाव लिनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय किसान आयोगका प्रवक्ता रवीन्द्र केसीले स्वदेशी उद्योगलाई असर नपर्ने गरी वैदेशिक लगानी ल्याउनुपर्ने बताए। विगतमा पनि पटक पटक कृषिमा वैदेशिक लगानी खुला गर्न प्रयास गरिएको उनले जानकारी दिए।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले साना किसान विस्थापित भएर मजदुर बन्नुपर्ने अवस्था सिर्जना नहुने गरी वैदेशिक लगानी भित्र्याउन सकिने बताए।