चिनी मिलहरूले लामो समयदेखि बक्यौता रहेको उखु किसानको भुक्तानी दिन थालेका छन्। सबै मिलहरूले अब किसानको ८ करोड १ लाख रूपैयाँ मात्र दिन बाँकी रहेको मंगलबार उद्योग मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
गत मंसिर-पुसमा भएको उखु किसानको आन्दोलनअघि मिलहरूले किसानलाई ६५ करोड ३१ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी थियो। पुस १३ गते भएको सहमतिपछि उद्योग मन्त्रालयले निरन्तर ताकेता गरेको र उद्योगीले २१ दिनका बीचमा ५७ करोड ३० लाख रूपैयाँ तिरिसकेका मन्त्रालयले जनाएको छ।
'अब ८ करोड १ लाख मात्र तिर्न बाँकी छ,' मन्त्रायलका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए, 'उद्योगीले तिर्दैछन्, बाँकी रकम पनि तिर्छन्। हामीले निरन्तर ताकेता गरिरहेका छौं।'
उनका अनुसार गत वर्ष किसान आन्दोलनमा आउँदा झन्डै साढे २ अर्ब रूपैयाँ किसानलाई दिन बाँकी थियो। मन्त्रालयले पहल गरेपछि ८ करोडमा आइपुगेको हो।
श्रीराम सुगर मिलले किसानको सबै पैसा तिरिसकेको पनि रेग्मीले जानकारी दिए। त्यस्तै अन्नपूर्ण सुगर मिल्सले १७ करोड तिर्न बाँकी रहेकामा १२ करोड ६४ लाख तिरिसकेको छ भने ४ करोड ३६ लाख रूपैयाँ तिर्न बाँकी छ।
लुम्बिनी चिनी मिलले ८ करोड ४१ लाख तिर्न बाँकी रहेकामा ५ करोड १६ लाख भुक्तानी गरिसकेको छ भने मिल सञ्चालकको खातामा रहेको ३ करोड रूपैयाँ रोक्का गरिएको छ।
इन्दिरा सुगर मिलले ४ करोड ७० लाख तिर्न बाँकी रहेकामा १ करोड ५० लाख तिरिसकेको छ भने ३ करोड २० लाख रूपैयाँ तिर्न बाँकी छ।
महालक्ष्मी सुगर मिलले किसानको खाता नभएकाले पैसा दिन नसकिएको बताएको रेग्मीले जानकारी दिए।
उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि किसान बाध्य भएर दुई पटकसम्म काठमाडौं, माइतीघरमा आन्दोलन गर्न आएका हुन्। गत वर्ष पुसमा आन्दोलन गर्न आउँदा किसानले विगत तीन वर्षदेखिको करिब साढे दुई अर्ब पैसा लिन बाँकी थियो।
आन्दोलन गरेको एक साता नपुग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ दिनभित्र भुक्तानी गर्न सम्झौता गर्दै आन्दोलन स्थगित गराएका थियो। बीचमा केही उद्योगले पैसा तिर्दै गए। केहीले भने अझै तिर्न बाँकी थियो।
किसानहरूले पैसा पाइन्छ भन्ने आशामा एक वर्ष बिताए। तर वर्षदिन बित्दा पनि पैसा नपाएपछि गत महिना फेरि किसानले उखुको भुक्तानी पाऊँ भन्दै माइतीघरमा धर्ना दिएका थिए। आन्दोलनको दुई सातापछि पुस १३ गते उद्योग मन्त्रालयले २१ दिनभित्र भुक्तानी गर्ने गरी किसान र उद्योगीसँग सम्झौता गरेको थियो।
हेर्नुस्, कुन मिलले किसानको कति पैसा दिन बाँकी छः
उद्योगको नाम
|
तिर्नपर्ने रकम (रूपैयाँमा)
|
तिरेको रकम (रूपैयाँमा)
|
तिर्न बाँकी (रूपैयाँमा)
|
श्रीराम सुगर मिल
|
३५ करोड
|
३५ करोड
|
|
अन्नपूर्ण चिनी उद्योग
|
१७ करोड
|
१२ करोड ६४ लाख
|
४ करोड ३६ लाख
|
इन्दिरा सुगर मिल
|
४ करोड ७० लाख
|
१ करोड ५० लाख
|
३ करोड २० लाख
|
लुम्बिनी चिनी मिल
|
८ करोड ४१ लाख
|
५ करोड १६ लाख भुक्तानी गरेको। (३ करोड बैंक खातामा रोक्का गरिएको)
|
२५ लाख
|
महालक्ष्मी सुगर मिल
|
२० लाख
|
किसानको खाता नभएकोले तिर्न नसकिएको
|
२० लाख
|
जम्मा
|
६५ करोड ३१ लाख
|
५७ करोड ३० लाख
|
८ करोड १ लाख
|