रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम दिएको छ। नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाको दरले अनुदान उपलब्ध गराएको हो।
उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैंया प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
अगरप्रमुख बासुदेव घिमिरेले अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको बताए।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन्।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि झण्डै ३७ लाख रूपैंया दुग्ध उत्पादनको आधारमा अनुदान वितरण गरेको थियो।
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले सेतोपाटीलाई बताईन्।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ। केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ।
यस्तै वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैंयाँ प्राप्त गरेको छ ।
गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंया बढी अनुदान रकम प्राप्त गरेका छन्।
दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुग्ध सहकारीमार्फत् विक्री वितरण हुने भएको छ।