काठमाडौंको तारकेश्वर नगरमा घरमा पालिएका पन्छीमा बर्डफ्लुको संक्रमण भेटिएको छ।
नगरपालिकाको फुटुङ–७ का स्थानीय कृषकहरूले पालेका टर्की, बट्टाई, हाँस र लोकल कुखुरामा बर्डफ्लु भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।
रोग पुष्टि भएका १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए।
‘त्यस क्षेत्रमा भेटिएको सबैलाई नष्ट गरी निसंक्रमित समेत गरिसकिएको छ,’ उनले भने।
साथै मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाण पत्र लिनुपर्ने बताएको छ।
कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न मन्त्रालयले आग्रह गरेको छ।