मोरङको बुढीगंगा गाउँपालिकाले जमिन बाझो राख्ने गाउँबासीलाई सेवा सुविधा रोक्ने घोषणा गरेको छ।
गाउँपालिका क्षेत्रमा जमिन बाझो राख्न नदिने नीति अनुसार यस्तो घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले दिने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न जमिन बाझो नराखेको स्वयम् घोषणा अनिवार्य गरिएको छ।
गाउँपालिकाले सूचना नै प्रकाशन गरेर जमिन बाझो राखेको पाइए सेवा नदिने घोषणा गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालका अनुसार भू-उपयोग नीति कार्यान्वयन गर्न गाउँपालिकाले सामूहिक कृषिकर्मको योजना बनाएको छ।
‘हामीले अहिलेसम्म ३० विघा ऐलानी जमिन बाझो रहेको भेटेका छौं’, उनले भने, ‘अन्य जमिनको पनि तथ्यांक संकलन भइरहेको छ। ’
गाउँपालिकाले वडा तहबाटै सुकुम्बासी परिवार समेटेर कृषक समूह बनाउने र उनीहरूलाई तिनै जमिनमा सामूहिक खेतीमा लगाउने योजना बनाएको छ।
त्यसक्रममा निजी जमिनका धनीहरूसँग पनि गाउँपालिकाले सम्झौता गरेर बाझो जमिन उपयोगमा ल्याउने तयारी छ।
‘बाझो जमिनमा तरकारी, दाल, घाँसबाली लगाउन प्रेरित गर्ने योजना छ’, बरालले भने, ‘पहिलो चरणको अभिलेख संकलन सकिएको छ। अब निजी जमिनको लगत संकलन गरेपछि समूह बनाएर योजना कार्यान्वयनमा लैजानेछौं।’