अमरगढी नगरपालिका-१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुन्।
उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो। उनी सो विद्यालयमा गणित र विज्ञान विषय पढाउँछन्। उनी शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ।
शिक्षक ऐरको दैनिकी फरक छ। उनी बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करिब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिन्छन्।
उनी तीन महिना आलु खेतीसँग रमाउँछन्, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिन्छन्। उनी बाँकी समय घर वरपरका बोटबिरूवा, गाईभैंसी, माछाको हेरचाहमा बिताउँछन्।
२० वर्षदेखि आलु खेती
प्रकाश सरले आलु खेती सुरू गरेको २० वर्ष भयो। तेह्र रोपनी जमिनमा उनले आलु खेती गरिरहेका छन्। विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ। आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ। यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरूले हरियालीपूर्ण छ।
‘यहाँ सुरूसुरूमा मकैमात्रै लगाउँथ्यौं। हामी मकैमा मात्रै सीमित थियौं’, उनले भने, ‘पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन्।’
धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन्। इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गरेका छन्।
सुरूमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उनले सुनाए।
‘मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु। सुरूमा गाईवस्तुहरू पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो’, उनले भने, ‘अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेसिनहरू पनि उपलब्ध भएको छ। त्यसले जोत्ने काममा सहजता ल्याएको छ।’
घरपरिवारको साथ
उनको छ जनाको परिवार छ। उनलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहेका छन्।
‘तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौंं’, उनले भने, ‘आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौं। बिहान बेलुका व्यायाम पनि हुन्छ। काम पनि हुन्छ। मलाई एकदमै रमाइलो लागेको छ।’
एक याममा छ लाख कमाइ
उनी अहिले एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन्। आलु राम्रो उत्पादन भएका समयमा एक याममा रु छ लाख र कम उत्पादन भएका याममा रु तीन लाख आम्दानी हुन्छ।
विक्रीवितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ। उत्पादित बीउ आलु भने उनी नजिकैको उग्रतारा शितभण्डारण गृहमा राख्छन्। आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र डोटीका विभिन्न स्थानीय तहले सजिलै उनकै घरबाट बीउ आलु खरिद गरेर लैजान्छन्।
प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र विक्री गरेर उदाहरणीय काम गरिरहेको स्थानीयबासी बताउँछन्।
उनको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरूप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ। सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए।
अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ। खायन आलुको मूल्य प्रतिकिलो रु २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो रु ७० देखि ८० हो।
‘आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ। घरपरिवारका सदस्यले सघाउँछन्। काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु’, उनले सुनाए।
विदेशिने युवालाई सुझाव
युवाले खाडी मुलुक तथा भारतीय सहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ।
देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उनले भने, ‘युवाहरूले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ। विदेश जानु हुँदैन। यहीँ लाखौं कमाउन सकिन्छ।’
नेपालकै भूमिमा पसिना बगाउन उनले सुझाव दिए।
‘विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’, उनले भने।