कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषिमा आत्मनिर्भर नगर बनाउने अभियान सुरू गरेको रुपन्देहीको सैनामैना नगरपालिकाले नि:शुल्क ड्रागन फ्रुटको बिरूवा वितरण गरेको छ।
नगरपालिकाको वडा नं. ८ का १ हजार ३ सय ५० घरधुरीलाई प्रतिघरधुरी एउटाको दरले ड्रागन फ्रुटको बिरूवा वितरण गरिएको हो।
त्यस्तै, वडा कार्यालयले टोलविकास समितिलाई १० थान इलेक्ट्रोनिक स्प्रेयर ट्यांकी प्रदान गरेको छ।
ड्रागन फ्रुट मानिसको स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुने र सानो ठाउँमा पनि सजिलै लगाउन सकिने भएकोले वडाबासीलाई वितरण गरिएको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए।
ड्रागन फ्रुटको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनुको साथै क्यान्सर जस्तो प्राणघातक रोगको लागि अत्यन्त लाभदायक हुने विज्ञहरू बताउँछन्।
नगरप्रमुख कार्कीले सैनामैनामा पर्याप्त खेतीयोग्य जमिन रहेकोले ड्रागन फ्रुटको व्यवसायिक खेती गर्न पनि नगरबासीलाई आग्रह गरे।
‘नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर विभिन्न तालिम, अनुदान र सहयोगका लागि बजेट विनियोजन गरेको छ’, नगरपालिकाले छुट्याएको बजेटको पर्याप्त सदुपयोग गरी व्यवसायिक खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ,’ कार्कीले भने।
सैनामैनामा कृषि क्षेत्रको सुधारका लागि कृषि पाठशाला समेत सञ्चालन गरिँदै आएको कार्कीले बताए।
वडागत चालु आर्थिक वर्षमा विनियोजित ३ लाखको बजेटमा वडा नं. ८ ले ड्रागन फ्रुटको बिरूवा ल्याएर वितरण गरेको वडा अध्यक्ष रामशरण न्यौपानेले जानकारी दिए।
नेपालमा नौलो र स्वास्थ्यको लागि लाभदायक मानिने ड्रागन फ्रुटका बिरूवा नि:शुल्क उपलब्ध भएको भन्दै वडाबासी खुसी भएका थिए।
स्थानीय घनश्याम पाण्डेले वडाले उपलब्ध गराएको बिरूवालाई राम्रो गरी हुर्काएर फल उत्पादन गर्ने बताए।
उनले ड्रागन फ्रुटका बारेमा सुन्दै आए पनि घरमै बिरूवा पाउँदा खुसी लागेको बताए।
गर्मी ठाउँमा राम्रो उत्पादन लिन सकिने यो फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने विज्ञहरू बताउँछन्। जस्तोसुकै माटोमा हुर्किन सक्ने ड्रागनलाई गमला, छत तथा करेसाबारीमा पनि लगाउन सकिन्छ।
विदेशमा अत्यन्त महँगो मूल्यमा विक्री हुने यो फलको नेपालमा पनि लुम्बिनी प्रदेशको दाङमा व्यवसायिक खेती सुरू गरिएको छ। यो फलमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा पेटको कब्जियतको दोष निको पार्ने तत्व हुन्छ। कृषि प्राविधिकका अनुसार बिरूवा रोपेको २ वर्षपछि उत्पादन लिन सकिन्छ।
सैनामैना नगरपालिकाले नगरबासीलाई कृषिमा आकर्षित गर्न बिरूवा, औजार वितरण तथा शीतभण्डार निर्माणदेखि स्वरोजगार र उद्यमशीलता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख विना रानाले बताइन्।
उत्पादन गरौं आत्मनिर्भर बनौं भन्ने नगरपालिकाको अभियान रहेको र त्यो अभियानलाई पूरा गर्न कृषि उत्पादकत्व वृद्धि, बजारीकरण, यान्त्रीकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागू गर्दै करार, सहकारी तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको रानाको भनाइ छ।
माछा, मासु, दूध र अन्डा उत्पादनमा सैनामैना नगरपालिका आत्मनिर्भर भइसके पनि व्यवसायिक रूपमा उत्पादन गरी छिमेकी पालिकाका बजारमा पुर्याउन किसानहरूलाई आग्रह गरिएको छ।
नगरपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा वडा नम्बर ३ मा स्मार्ट कुखुरापालन, वडा नम्बर ६ र ११ मा स्मार्ट पशुपालनका लागि कृषिग्राम कार्यक्रम सञ्चालन गरेको छ भने कृषिको सुपर जोन, कृषि जोन र व्यावसायिक कृषि क्षेत्रलाई क्रमागत रूपमा अगाडि बढाएको छ।