कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई आज (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
कृषि कर्मका निम्ति पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले किसानदेखि उपभोक्तासम्म आउनका निम्ती बीचमा जे जति तहहरू छन् त्यसले किसानलाई मर्कामा परेको बताइन्।
‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन। आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागितामा हुनुपर्यो नि! कति मेहेनत गरेको छ। कति श्रम गरेको। कति लगानी गरेको छ’, मन्त्री अर्यालले भनिन्, ‘अनि अर्काले ठ्याक्कै त्यसको मूल्य यति भयो भनेर भनिदिँदा कहिलेकाहीँ किसान मर्कामा पनि पर्छ। त्यसैले किसानको उन्नति, प्रगति गर्नका निम्ति किसानको श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी किसानले अलिकति मुनाफा पनि प्राप्त गर्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ।’
किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुनेगरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने बताइन्।
‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछि बीचको धेरै नाफा लिइदिनुभएन’, उनले भनिन्, ‘उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन। किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठिक हुनेगरी बजार मूल्य निर्धारण हुनुपर्यो।’
सबैको हित हुने गरी कसैलाई मार्ने वा कसैलाई हित गर्ने कार्य नगर्न उनले आग्रह गरिन्।
मुलुकको समृद्धि कृषि क्षेत्रबाटै बढी गर्न सकिने भन्दै मन्त्री अर्यालले कृषिको सम्भावना, वातावरणीय सम्भावना र नेपाली मानव सभ्यता जस्ता कुराहरू विश्वका धेरै मुलुकहरूले अनुकरण गर्न सक्ने बताइन्।
ती सम्भावनाहरूलाई लिएर अगाडि बढेमा मुलुक समृद्ध बन्नबाट कसैले रोक्न नसक्ने समेत उनको भनाइ थियो।
‘ती सम्भावनालाई अगाडि बढाउँदै हामी समृद्ध बन्ने हो। हाम्रो मुलुकलाई समृद्ध बनाउने अबको दिशा यही हो भन्ने कुरामा हामी स्पष्ट छौं। सरकार त्यो ढंगले अगाडि बढेको छ’, उनले भनिन्, ‘हामीले १५ औं योजनामार्फत् समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने योजना अगाडि सारेका छौं। १६ योजना नपुग्दै हाम्रो मुलुकको माथिल्लो स्तरको आर्थिक विकास प्राप्त गर्न सक्छौं भन्ने विश्वास हामीले गरेका छौं।’
उत्पादन र बजारलाई सँगै लैजानुपर्ने भन्दै उनले उत्पादन र बजारलाई सँगै लैजाने भन्ने सरकारको सोचाइलाई साकार पार्न मुलुकभर धेरै बजारहरू विकास गर्दै जानुपर्ने बताइन्।
यी काम गर्नका निम्ति सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्ने उनको भनाइ थियो।
मन्त्री अर्यालले भने, ‘विकासको दिशामा सरकार एक्लै होइन सरकारी, गैरसरकारी र निजी क्षेत्र, सहकारी सबै क्षेत्रबीच साझेदारी गरेर जाने हो भन्ने कुरामा सरकार दुविधामा छैन।’
आजको आवश्यकता कृषिको व्यवसायिकता भन्ने कुरा राज्यले भनिसकेको भन्दै उनले त्यसलाई कार्यान्वयन गर्नका निम्ति सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू गरेको बताइन्।
‘कृषिमा अब औजारको प्रयोग, यान्त्रिकीकरण गर्दै अब हामी उत्पादन बढाएर आयातलाई न्यूनीकरण गर्ने हो। आयातलाई न्यूनीकरण गर्नका निम्ति हामीले उत्पादन बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘उत्पादन वृद्धि गरेर कृषि क्षेत्रको व्यवसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरणलाई सँगसँगै लैजान आवश्यक छ। त्यसमा गुणस्तरियता कायम गर्ने। राज्य त्यही ढंगले अगाडि बढेको छ।’
बजारलाई सबल बनाउनका निम्ति बजार विस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका निम्ति सरकारले संघीय, प्रादेशिक र स्थानीय बजार गरी ३ खालको बजारको परिकल्पना गरेको बताइन्।
९ वटा ठूला बजार स्थापना गर्नका निम्ति सरकारले प्रक्रिया अगाडि बढाइसकेको भन्दै उनले बजार बिना उत्पादनको अर्थ नहुने भएकाले किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म सहज ढंगले पुर्याउन बजारको व्यवस्था आवश्यक रहेको बताइन्।