भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा दूध उत्पादन कार्यक्रम सुरू गरेको छ।
मर्चवारलाई दूधको पकेट क्षेत्रका रूपमा विकास गर्न तीन वर्षे कार्ययोजना बनाएर कार्यक्रम सुरू गरिएको हो।
रुपन्देहीको वनगाई मर्चवार रोड करिडोर आसपासका एक सय बढी पशुपालक किसानहरूलाई लक्षित गरी दूध उत्पादन कार्यक्रम सुरू गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
यस वर्षदेखि सुरू गरिएको आयोजना तीन वर्षसम्म सञ्चालन हुनेछ।
उक्त आयोजनाको लागि यस वर्ष पशु सेवा विज्ञ केन्द्रको ५० लाख अनुदान र किसानको ५० लाख २५ हजार गरी एक करोड बढीको लागतमा आयोजना सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ।
पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बिउ तथा बेर्ना वितरण गर्ने, पशुमा लाग्ने परजीवी नियन्त्रण गर्ने, औषधी उपचार, भिटामिन तथा खनिजको व्यवस्था, इलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिइने भेटेरिनरी अस्पतालका पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख परवेज आलमले बताए।
‘चालु आर्थिक वर्षदेखि वनगाई मर्चवार रोड कोरिडोरलाई आधर मानेर रोडको छेउछाउ ५ किलोमिटरको दूरीभित्रका १ सय किसानलाई समेटेर कार्यक्रम अगाडि लैजाने योजना रहेको छ’, आलमले भने।
लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले कोटहीमाई गाउँपालिकाबाट मर्चवार मार्ग लक्षित दूध उत्पादन कार्यक्रमको शुभारम्भ गरेकी छन्।
मर्चवार क्षेत्रका अधिकांश नागरिकको मुख्य पेशा कृषि र पशुपालन रहे पनि निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरूलाई व्यवसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम सुरू गरेको मन्त्री पौडेलले बताइन्।
यो कार्यक्रमको उद्देश्य दुग्ध उत्पादनका लागि किसानलाई सघाउने मात्र नभई दूधको संकलन र विक्री वितरणको लागि स्थानको समेत व्यवस्था गर्ने भएकोले मर्चवार मार्ग लक्षित दुग्ध उत्पादन र संकलन कार्यक्रम अगाडि बढाउन लागिएको मन्त्री पौडेलको भनाइ छ।
‘रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा बहुसंख्यक यादव समुदाय रहेको र उनीहरूले पुर्खौंदेखि भैंसी र गाई पाल्दै आए पनि त्यसलाई व्यवसायिक बनाउन नसक्दा मुनाफा लिन सकेका छैनन्, सरकारले त्यस्ता किसानलाई लाभ लिने गरी व्यवसायिक पशुपालक बनाउने प्रयास गर्दै छ,’ मन्त्री पौडेलले भनिन्।
उक्त कार्यक्रम सञ्चालनका लागि किसानहरूले सञ्चालक समिति समेत बनाएका छन्।
आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरूले तालिम दिने र व्यवसाय विस्तार गर्न अनुदान पाइने भएकाले किसानहरू उत्साहित बनेका छन्।
अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दूध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा विक्री हुँदै आएको छ।
मुख्य पेशा कृषि र पशुपालन भए पनि कामचलाउ भएको छ। तर अब भने गरिरहेको पशुपालनलाई तालिमपश्चात व्यवस्थित बनाउने स्थानीय किसान योगेन्द्र यादवले बताए।
‘अहिले पनि मैले गोठमा ४ वटा भैंसी पालेको छु, अनुदान आएपछि अझै चार वटा भैंसी थपेर उत्पादन बढाउने सोंचमा छु,’ उनले भने।
पहिलो वर्ष भैंसीका लागि अनुदान उपलब्ध गराएर दूध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी संचालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ।
एआई सेन्टर स्थापना, घांस स्रोतकेन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिद लगायतमा अनुदान दिइने बिज्ञ केन्द्रले जनाएको छ।
पशु प्राविधिकहरूको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिकाको सिकाइले मर्चवार क्षेत्रलाई दूधको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना छ।