प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्नमा नेपाली एक हिसाबले आत्मनिर्भर भएको बताएको छन्।
बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हामीलाई आफ्नो उत्पादनभन्दा नक्कली कुरातिर आकर्षित भएकाले समस्या भएको बताए।
'हामीलाई लामा-लामा सिता हुने चामल चाहिन्छ। त्यसमा हरिया टमाटर काटेर जिरा हालेर पाहुनालाई दिँदा सान बढेजस्तो लाग्छ,’ प्रधानमन्त्री ओलीले भने,‘अनि हामीलाई त्यो भात होइन भुजामा परिणत भएजस्तो लाग्छ र खाने होइन ज्युनार गर्नेजस्तो लाग्छ।’
उनले तर ती लामा-लामा सिता हुने चामल धोका भएको बताए।
‘कुनै धान देख्नुभएको छ एक इन्च लामो धान तर एक इन्च लामो चामल कहाँबाट आउँछ? त्यो मेसिनमा पेलेर बनाएको हो। सब धोका हो,’ प्रधानमन्त्री ओलीले भने,‘आज घर गएपछि लामो चामल किन्न बन्द गरिदिनुस्। त्यसको काम छैन।’
उनले लामो चामलमा पूरानो चामललाई पेलेर बनाउने भएकाले पौष्टिक तत्व नहुने बताए।
'शास्त्रमा पहिलो वर्षको अन्न बिउका लागि, दोस्रो वर्षको खानाका लागि र तेस्रो वर्षको होम यज्ञमा हवन गर्नु भनेको छ,’ प्रधानमन्त्री ओलीले भने,‘त्यो लामो चामल त झन् पाँच वर्ष पूरानो हुन्छ।'
प्रधानमन्त्री ओलीले नेपाली किसानले उत्पादन गरे बजारको अभाव नहुने पनि दाबी गरे।
'एक डोको गोलभेंडा, एक डोको भन्टा, एक डोको चिप्ले भिन्डी उत्पादन गरेर बजार पाइनँ भनेर हुँदैन। धेरै धेरै उत्पादन गरे सरकार ढुवानी गर्न बाटो पनि बनाउँछ,’ ओलीले भने।
उनले माटोको डिजिटल नक्सा बनेपछि किसानहरूले घरमै बसेर आफ्नो माटोकाबारे जानकारी पाउन सक्ने भएकाले यो नेपालीको कृषि क्षेत्रमा नयाँ युगको सुरूआत भएको बताए।