कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरेको बताइन्।
शुक्रबार कृषि पत्रकारसँग गरिएकोे छलफल कार्यक्रममा मन्त्री अर्यालले कृषिको सूचना व्यवस्थित गर्न किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्न लागिएको बताएकी हुन्।
‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो। अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन्, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउँदै जानुपर्छ। हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गछौं।’
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता बिकृति तोडेर जाने मन्त्री अर्यालले बताइन्।
‘तपार्इंहरुले बारम्बार उठाउँदै आउनुभएको छ। कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन्। यसलाई तोडेरै हामी जान्छौं,’ उनले भनिन्।
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिती तोड्न कार्यविधि बनाइसकेको उनले बताइन्।
फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा मन्त्रालयले लागि परेको उनको भनाइ छ।
दीर्घकालीन रुपमा मलको समस्या समाधान हुनेगरी अगाडी मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिइन्।
‘मलको समस्या समाधान गर्न दीर्घकालिन नीति बनाउँदै छौं,’ मन्त्री अर्यालले भनिन्, ‘अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनु पर्दैन।’
मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्ने मन्त्रालयको योजना छ।
इजरायली प्रविधिको कृषि प्रणाली भित्राउन इजरायल सरकारसँग सम्झौता भएर प्राविधिक समिति गठन भइसकेको उनले जानकारी दिइन्।