कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताइन्।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले आगामी सिजनमा मलको अभाव नहुने बताएकी हुन्।
‘हामीलाई शंका थियो तर यसमा सफलता प्राप्त गर्याै। मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छाै’, मन्त्री अर्यालले भनिन्।
तत्कालिन समाधानको रुपमा मलको व्यवस्थापन, मध्यकालिन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको उनले जानकारी दिइन्।
मलको समस्या समाधान गर्न सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ।
यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गरिने योजना छ।
जसमध्ये हालसम्म १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक छ। त्यस्तै, सोही परिमाणको मल नेपाल भित्रिने क्रममा छ।
चालू आवमा आयात गरिएको मलबाट २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहेको उनले बताइन्।
पछिल्ला ३ वर्षहरुको विक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ। जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने मन्त्रालयले बताएको छ।
आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यही महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्रालयको भनाइ छ।