चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएको छ।
कर्जा दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ को तेस्रो संशोधनसहित उक्त कर्जा प्रवाह गर्न बैंकले सम्झौता गरेको हो।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरे।
कसले कतिसम्म कर्जा पाउने?
पशुपालक व्यक्तिरकिसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने।
कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्म र व्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रति कम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका बिभिन्न सहकारी संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजार बढी किसानहरु लाभान्वीत हुनसक्ने अपेक्षा राखिएको छ।
यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क लाग्ने छैन।
सम्झौताअनुसार यस्तो कर्जा शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने बताइएको छ।