कृषि कार्यमा सहज होस् भनी रुपन्देहीको सैनामैना नगरपालिकाले किसानहरूलाई कृषि उपकरण वितरण गरेको छ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा ६० थान वितरण कृषि उपकरण प्रदान गरेको हो।
नगरपालिकाभित्र कृषि कर्म गर्दै आएका किसानहरूलाई २२ लाख रुपैयाँ बराबरको कृषि यन्त्रउपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।
नगरपालिकाले ३१ थान मिनि टिलर, १३ थान इलेक्ट्रिक मोटर, ८ थान पम्पसेट वितरण गरेको छ। त्यस्तै, धान रोप्ने मेसिन रिपर र थ्रेसर २/२ थान तथा पावर टिलर, मह मदानी, बेसार पिस्ने मेसिन र ड्रिल मेसिन १/१ थान वितरण गरेको हो।
नगरपालिकाभित्र रहेका कृषकलाई आधुनिक कृषियन्त्र उपलब्ध गराएपछि कृषि कर्ममा लाग्न अझै हौसला थपिएको सैनामैनाका किसान राजु पौडेलले बताए।
पर्याप्त खेतीयोग्य जमिन रहेको सैनामैनामा केही वर्षदेखि मात्रै परम्परागत खेती गर्दै आएका किसानहरू व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
परम्परागत खेतीमा धेरै मेहनत गर्दा पनि लाभ लिन नसकेका किसानहरूले व्यवसायिक खेती गर्न थालेपछि लाभ लिन थालेका छन्।
तर निजी लगानीमा कृषि कार्यका लागि चाहिने यन्त्र तथा उपकरण खरिद गर्दा महँगो पर्ने भएपछि कृषिलाई यान्त्रीकरण गर्न नसकिएको अवस्थामा नगरपालिकाको सहयोगले राहत मिलेको उनीहरूले बताए।
विभिन्न उपकरण प्रदान गर्दै नगरप्रमुख कार्कीले नगरपालिकाले उपलब्ध गराएका कृषियन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरूलाई आग्रह गरे।
उनले अब कृषिलाई व्यवसायिक र आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए।
कोभिड- १९ कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरी नगरपालिकाले कार्यक्रम संचालन गरिरहेकोले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे।
कार्कीले सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने युवालाई नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउनुको साथै कृषि उत्पादनको बजार व्यवस्थापनका लागि पनि विभिन्न स्थानमा हाटबजारको व्यवस्था गरेको जानकारी दिए।