जयपृथ्वी नगरपालिका-५ का धनबहादुर बुढाथापा बाजेको पालादेखि नै मौरीपालन व्यवसायमा लागिरहेका छन्। सानै छँदाको उहाँलाई अहिले पनि सम्झना छ। बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उनी अहिले पाँच घारमात्रै रहेको बताउँछन्।
लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताए। तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी पनि मर्न थालेपछि उनी चिन्तित छन्।
उनले भने, ‘मौरी के कारणले मरे भन्नेबारे त्यति जानकार नभए पनि भएका घारमा पनि मह निकाल्दा मह पनि हुँदैन। चैत, वैशाख मौरीको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरू मात्र लागेका हुन्छन्।’
उनका अनुसार धेरै वर्षअगाडि मौरीलाई चर्नका लागि जङ्गल हुन्थ्यो। मान्छेहरू खेतबारीमा तोरी प्रशस्त गर्थे। चिउरीको बोटहरू हुन्थे। अहिले गाउँघरमा केही छैन। वनमा फुल्ने लालीगुराँससमेत पानी नपरेकाले नफुलेरै सुकेका छन्। वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको उनको दाबी छ।
मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ। मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको धनबहादुरको भनाइ छ।
‘यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन’, उनले भने, ‘चिउरी नफुल्दै झुसिलकीराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो।’
त्यसैले यस वर्ष उत्पादन घटेको उनको भनाइ छ।
धेरै वर्षदेखि मौरीपालनमा लागेका जयपृथ्वी नगरपालिका-२ घर भएका जनक खड्काले समेत विगत केही वर्षभन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताए।
मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट यहाँ मह बेच्ने आउनेहरू बढ्न थालेका छन्।
दाङ जिल्ला घर भएका लालबहादुर चौधरीलगायत टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन्। हाल जिल्लामा मह प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ।
कृषिज्ञान केन्द्र बझाङका अनुसार जिल्लामा हाल मौरी व्यवसायीको सङ्ख्या ४३ जना रहेका छन्। जिल्लामा वार्षिक दुई हजार ५०० किलोग्राम मह उत्पादन हुने गरेको छ।
जिल्लामा ७४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८१२ घार छन् भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका उत्तम क्षेत्र मानिन्छ।
अर्गानिक महको माग काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत सहरमा बढी छ। विभिन्न कारणले मौरी जोगाउनै समस्या भएको किसान बताउँछन्। यहाँका अर्गानिक मह किन्न व्यापारी किसानको घरघर पुग्ने गरेका छन् ।
वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ।
‘उत्पादन घटे पनि माग र भाउ भने बढिरहेको छ’, केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने,‘उत्पादन घट्न थालेपछि किसान पलायन हुन थालेका छन्।’
सुलसुले कीराले सतायो
यहाँका सामुदायिक र राष्ट्रिय वनमा सुलसुले कीराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको केन्द्रले जनाएको छ। चिउरीका फूल फुल्न नपाउँदै कीराले नष्ट गरेको केन्द्र प्रमुख विष्टले बताए।
उनका अनुसार मौरीपालनका लागि राम्रो मानिएको खप्तडछान्नामा मह उत्पादन झन्डै आधा घटेको छ। मौरी पालनका लागि फापर, सुन्तला जात, तोरीजस्ता बोटबिरूवा रोप्नुपर्ने किसानको भनाइ छ।
मौरी पालन किसानका लागि ढुवानी, अनुदान, परामर्शलगायत तालिमको व्यवस्था गर्नुपर्ने किसानको माग छ।
केन्द्र प्रमुख विष्टले बच्चादेखि बुढासम्म आयुर्वेदिक औषधिमात्र नभएर यसको सांस्कृतिक, धार्मिक र जन्मदेखि मृत्युसम्म बहुउपयोगी हुने भएकाले मह उत्पादन लाग्न किसानलाई आग्रह गरे।