३३ वर्षीय सन्तोष डाँगी चैत ७ गते तुलसीपुर बजारमा हाँस डेलिभरी गर्न व्यस्त थिए।
चैत ८ गते उनी ३५ हाँस लगेर तुलसीपुर बजारदेखि ४८ किलोमिटर टाढा लमहीको बयालडाँडास्थित एक कटेजमा पुगे। तीन दिनको प्रयासपछि बल्ल सन्तोषसँग चैत ९ गते कुराकानीको समय जुर्यो।
सन्तोषसँग अझै साढे तीन सयको हाराहारीमा अमेरिकन पेकिङ डक (हाँस) बिक्रीका लागि तयारी अवस्थामा छन्। त्यसैले यतिखेर उनलाई मार्केटिङको खुबै चटारो छ।
‘कुनै पनि नयाँ कुराको बजार विस्तार गर्न सजिलो कहाँ हुन्छ र,’ सन्तोषले भने, ‘लोकल हाँस र चाइनिज हाँस खाइरहेकाहरूलाई अमेरिकन हाँस बेच्न सुरूमा त अलि बढी खट्नै पर्छ।’
जिल्लामा नयाँ प्रजातिको अमेरिकन हाँस पहिलो पटक आफूले नै पालेको उनको दाबी छ।
‘बजारमा मान्छेहरू अमेरिकन हाँस भन्नासाथ आश्चर्य मान्छन्, सोधीखोजी गरे पनि हत्तपत्त किन्दैनन्,’ उनले भने, ‘आफैंले नचाखेसम्म कसैले विश्वास गर्छ र? एक पटक मासु खाइसकेपछि भने उनीहरू खोज्दै आउन थालेका छन्।’
सन्तोषले पहिलो लटमा पालेका पाँच सय हाँस सबै बिक्री गरिसके।
६ महिनाअगाडि नवलपरासीबाट हाँसका बच्चा (टिउरा) किनेर ल्याएर उनले पालेका थिए। पहिलो लटमा पालेको अमेरिकन हाँसबाट राम्रै फाइदा भएपछि उनले फेरि नवलपरासीबाटै हाँसका बच्चा किनेर ल्याए। तिनै हाँस अहिले धमाधम बेचिरहेका छन्।
‘नवलपरासीबाट प्रतिटिउरा दुई सयका दरले ल्याउने गर्छु। तीन महिना पालें। यो हाँस सरदर तीन किलोको हुन्छ,’ उनले भने, ‘हाँस केजीको चार सयमा बिक्री हुन्छ। एउटा हाँसबाट कम्तीमा पनि दुई सय फाइदा हुन्छ।’
उनका अनुसार अमेरिकन हाँस अरू हाँसभन्दा निकै छिटो हुर्किन्छ। त्यही भएर अमेरिकन हाँसलाई ‘बोइलर हाँस’ पनि भनिने गरिएको डाँगीले बताए।
‘यो हाँसको हड्डी लोकल हाँसको जस्तो कडा पनि हुँदैन,’ उनले भने, ‘यो मासुकै लागि बनेको हाँस हो, लोकल हाँसभन्दा अलि मोटो हुन्छ।’
यो हाँस पाल्न पनि सजिलो छ। खोरभित्रै थुनेर पानीबिना नै बोइलर कुखुरा पालेजस्तै गरी पाले हुन्छ। त्यसरी पाल्दा अलि बढी दाना लाग्छ। खुल्ला आकाशमुनि तारबार लगाएर पाल्दा कम खर्च लाग्ने अनुभव डाँगीको छ।
अरू हाँस पालेजस्तै गरी पाले पनि हुन्छ। नदी, खोला वा पानी छ भने बिहान खोरबाटै सिधै त्यतै धपाए हुन्छ। पानीमा पाइने किरा खान्छन्। त्यति भए बिहान कुनै दाना दिनु पर्दैन। उनका अनुसार दिउँसो भोक लागे हाँस कराउँदै खोरमा फर्किन्छन्।
खोरनजिकै हिउँदसम्म खोलामा पानी थियो। आजकल सुकिसकेको छ। त्यसैले, हाँसका लागि तारबारभित्र नजिकै इनार र धाराबाट पानी राख्न मिल्ने गरी सानो पोखरी निर्माण गरेका छन्। मन लागे त्यसैमा हाँस खेल्छन्। पोखरीको पानी हप्ता दिनमा फेर्ने गरेको उनले बताए।
आफूले पाल्दै आएका हाँस घाँस खाएर हुर्कने हुँदा पूरै अर्ग्यानिक भएको दाबी गरे।
‘म यी हाँसलाई घाँस खुवाएर हुर्काइरहेको छु,’ उनले भने, ‘९० प्रतिशत घाँस र दस प्रतिशत जति म गाउँ-घरमै उत्पादित धान किनेर दिने गर्छु।’
तीन समय घाँस मात्रै र बेलुका धान चारोको रूपमा दिने गरेको उनले बताए।
हाँसलाई तोरीको तेल पिन्दा निस्कने पिना पनि दिने गरेको बताए। त्यसले औषधीको काम गर्ने हुँदा हाँसलाई रोग नलाग्ने उनको बुझाइ छ।
हाँसलाई घाँस खुवाउन उनले गाउँमै डेढ बिगाहा जग्गा भाडामा लिएर जौं, मेथीलगायत विभिन्न चार जातका घाँस रोपेको उनले बताए। आजकल त्यही हरियो घाँस काटेर उनले साँझ-बिहान हाँसलाई दिने गरिएको छ।
‘हाँसलाई घाँस खुवाउँदा लागत पनि कम पर्छ, अर्ग्यानिक पनि हुने र बेच्दा फाइदा हुन्छ,’ उनले भने।
घाँस रोपेको डेढ बिगाहा जग्गाको वार्षिक कठ्ठाको एक हजारका दरले भाडा ३० हजार तिर्ने गरेको उनले बताए।
आफूले उत्पादन गरेका हाँस, खसी बाख्रा बिक्री गर्नु परे मार्केटिङका लागि सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्छन्। उनले मूल्य र आफ्नो मोबाइल नम्बर पनि सँगै राखेका हुन्छन्।
ठाउँ-ठाउँबाट अर्डर आउँछ। उनले अटोमार्फत् हाँस बजारमा पठाउँछन्। उनको आफ्नै अटो पनि छ। अटोबाहेक घरमा अरू सवारी साधान भने छैन।
उनका ६५ वर्षीय बुवा चन्द्रबहादुर आफैं अटो चलाउँछन्। त्यसले हाँस डेलिभरी गर्न सजिलो भएको सन्तोष बताउँछन्।
‘म मार्केटिङ मेन बनेर व्यापारीकहाँ पुग्छु,’ उनले भने, ‘बुवा चन्द्रबहादुर चालक बनेर हाँस ओसार्नु हुन्छ।’
अटोमा लाग्ने भाडा बुवालाई दिन्छन्। सबैले आ-आफ्नै हिसाब-किताब राख्छन्।
सन्तोष परिवारका एक्ला छोरा हुन्। दिनहुँ ८-१० हाँस तुलसीपुर बजार पठाउने गरेको सन्तोषले बताए। तुलसीपुरका ४-५ वटा होटल र कजेट सञ्चालक उनका नियमित ग्राहक बनिसकेका छन्।
‘उहाँहरू फोन गरेर अडर गर्नुहुन्छ म हाँस पठाइदिन्छु,’ उनले भने।
सामाजिक सञ्जालबाट मार्केटिङ
सन्तोष आजभोलि हाँसको मार्केटिङका लागि अनेक उपाय अपनाइरहेका छन्।
उनी पशुपन्छी पालक किसानका विभिन्न ग्रुपमा जोडिएका छन्। आफ्नै फेसबुक पेजमार्फत् पनि आफ्नो मार्केट विस्तार गरिरहेका छन्। आफूले उत्पादन गरेका खसी-बोकादेखि हाँस कुखुरा सामाजिक सञ्जालको ग्रुपमा राखेर बिक्री गर्दै आएका छन्।
सामाजिक सञ्जालकै मार्केटिङले हालसालै महेन्द्रनगरमा दर्जन बढी हाँस पठाएको उनले बताए। सजिलोका लागि सन्तोषले मोबाइलमा इसेवा चलाउँछन्।
उनले भने, ‘खरिद गर्न इच्छुकले इसेवाबाट मलाई पैसा पठाउँछन् र मैले यताबाट उनीहरूले भनेको ठाउँमा गाडीमा हाँस पठाइदिन्छु।’
उनले दाङका प्रमुख सहरभित्रै आफैं होम डेलिभरी गर्छन्। तर, जिल्लाबाहिर पठाउनु पर्दा गाडीमा पठाउँछन्।
उनले पालेका खसी-बोका हालसम्म गाउँ-घरमा बेच्नु परेको छैन। काठमाडौं, पोखरा, नेपालगञ्ज लगायत स्थानमा यस्तै ग्रुपको माध्यमले खसी-बोका बिक्री गर्दै आएको उनले बताए।
‘प्रतिस्पर्धाको जमानामा मार्केटिङ कसरी गर्ने भनेर आफ्नो तयारी हुनुपर्छ,’ उनले भने, ‘भारतका मानिसहरू हाम्रो गाउँघरमा आएर पूराना भाँडा वर्तन मर्मत, कवाडीको व्यापार गर्न सक्छन् भने हामीले आफ्नै उत्पादनका लागि किन मेहनत नगर्ने?’
आर्थिक अवस्थाकै कारण सन्तोषले १२ कक्षा सकेपछि पढाइ बीचमै छोड्नु पर्यो। यो बीचमा झन्डै दस वर्ष उनी विदेश बसे। कहिले साउदी र कहिले कतार पुगे। जहाँ पुगे पनि उनले अप्ठेरो काम गर्नु परेन। प्राय: उनी सेल्समेन वा इन्डोरमै बसेर काम गरे। जहाँ पुगे पनि उनको मन रमाउन सकेन।
करिब तीन वर्षपहिले तुलसीपुर-१६ फचकलुवास्थित घर फर्के। उनको घर तुलसीपुर बजारदेखि झन्डै आठ किलोमिटर पूर्वदक्षिणमा छ। उनी जतिपटक आउँदा पनि गाउँ जस्ताको तस्तै देखे। अब आफ्नै गाउँ-ठाउँमा केही नयाँ काम गर्नुपर्छ भन्ने उनलाई लाग्यो।
विदेशमा रहँदा फुर्सदमा सामाजिक सञ्जाल खुबै हेर्थे। आफ्नो देशमा के भइरहेको छ अनलाइनमा समाचार पढ्थे। उनको रुची पशुपन्छी पालनसम्बन्धी समाचारमा बढी हुन्थे।
घर फर्किसकेपछि फेरि उनले सामाजिक सञ्जाल हेर्न थाले। युट्युबमा पशुपन्छीका विभिन्न व्यवसायबारे बुझे। आफैंले सुरुवात नगरी त्यसै बसेर मात्रै हुँदैन भन्ने बुझेर उनले दुई वटा बाख्रा किनेर ल्याए। पछि खोर बनाएर बंगुर पनि पाल्न थाले। अहिले फार्ममा २५ वटा खसी-बाख्रा छन्।
यो बीचमा उनले ठूला भएका खसी-बोका बेच्दै आएका पनि छन्।
अढाई वर्ष बंगुर पाल्दा अपेक्षित फाइदा लिन सकेनन्। बंगुर पाल्दा उनले दानामा बढी खर्च देखे। बजारका होटेलमा फालेको खाना सधैं लिन जान पनि सकेनन्।
१५ वटा बंगुर दुई वर्ष पालेपछि उनले ती हटाए। बंगुरको खोर खाली भयो।
उनले हरेश खाएनन्। यो बीचमा उनले फेरि सामाजिक सञ्जालहरूमा त्यस्तै कुराहरू खोजी गरे। अमेरिकन हाँस र त्यो पाल्ने तरिका दोहोर्याइ तेहर्याई हेरे।
उनले बंगुरको खोरलाई हाँस पाल्ने खोरका रूपमा परिणत गरे। घरमा खसी-बाख्रा छँदै थिए। खसी-बाख्राबाट प्रतिफल लिन अलि एक डेढ वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ।
छिटो छरितो अर्को विकल्पको रूपमा उनले अमेरिकन हाँस पाल्ने निधो गरे। जहाँ इच्छा त्यहाँ उपाए भनेझैं सन्तोषले नेपालकै नवलपरासीमा ती हाँसका बच्चा किन्न पाइने कुरा पत्ता लगाए। सम्पर्क गरे। गएर बुझे।
पहिलो लटमै जे त होला भनेर पाँच सय टिउरा किनेर ल्याए। तीन महिनापछि बेच्दा एउटा हाँसबाट कम्तीमा पनि डेढ दुई सय फाइदा भयो।
उनले पहिलो लटमा बजारबाट बोइलर कुखुरालाई दिने घाँसका साथै दिने दाना पनि अलि बढाएर हाँसलाई दिएका थिए। कामले काम सिकाउँछ। यसपालि उनले दाना कम गरे। घाँसको मात्रा बढाए। तर, पनि हाँस रहर लाग्दो गरी हुर्किएका छन्।
प्रत्येक हाँस तीन महिनामा अढाइ-तीन केजीका भएका छन्। यसपालि दाना कम घाँस धेरै दिएको हुँदा उनको लागत खर्च कम परेको छ। जसबाट झनै बढी फाइदा लिने सकिनेमा सन्तोष विश्वस्त छन्।
उनी भन्छन्, ‘यसबाट मैले साँझ बिहानको रोजीरोटी सहजै चल्ने देखेको छु, मेहनत गरे गाउँ-घरमै विदेशमा जति कमाउन सकिने रहेछ भन्ने मलाई बल्ल ज्ञान भयो।’
हाँसमा खासै त्यस्तो रोग पनि लाग्दैन। तर, केही हाँसमा खुट्टा नलाग्ने समस्या यो बीचमा देखियो। पशु स्वास्थ्यकर्मीसँग परामर्श गरी औषधी दिएपछि ठिक भएको उनले बताए। पिनाले रोगसँग लड्ने शक्ति प्रदान गर्ने हुँदा दैनिक केही मात्रामा भए पनि खानाको रूपमा पिना दिनु जरुरी रहेको उनको बुझाइ छ।
खेर गइरहेको एक कठ्ठा जतिको क्षेत्रफलमा तारबार गरी उनले हाँस पालेका छन्। दिनभर हाँस खुल्ला आकाशमुनि हुन्छन्। राति मात्रै उनले विगतमा बंगुर पाल्नका लागि बनाएको खोरमा हाँस बास बस्न जान्छन्।
उनी निकट भविष्यमै हालको हाँसको खोरको डिजाइन परिवर्तन र विकास गर्ने सोचमा छन्।
‘म अब यो खोरलाई डिजाइन परिवर्तन गरी दुई तलाको बनाउने सोचमा छु,’ उनले भने, ‘त्यसपछि माथिल्लो तलामा खसी बाख्रा पाल्छु र तल्लो तलामा यही हाँस पाल्छु।’
व्यवसाय विस्तारका लागि घाँस लगाउन थप दुई बिगाहाजति जग्गा भाडामा लिने सोच अनुरूप प्रक्रिया सुरू भएको बताए।
‘अब यही हाँस र खसी बाख्राबाट कमाउँदै व्यवसाय विस्तार गर्दै जाने मेरो लक्ष्य छ,’ उनले भने, ‘५० देखि एक सयसम्म खसी बाख्रा र पाँच सयदेखि एक हजारसम्म हाँस पाल्न मिल्ने खोर म तयार पार्नेछु।’
तीन वर्षपहिले आफू विदेशबाट आएपछि दुई वटा बाख्रा किनेको र आज ती बाख्राबाट २५ वटा पुगेको भन्दै उनले भविष्यमा ह्याचरिङ मेसिन आफैं ल्याएर हाँसका बच्चा उत्पादन तथा बिक्री गर्ने योजना उनले सुनाए।
‘विदेश गए केही पैसा अवश्य कमाइ हुन्छ, तर सबै कुरा पैसा मात्रै हैन, हरेक व्यक्तिका लागि आत्मसन्तुष्टि पनि ठूलो कुरा रहेछ,’ उनले भने, ‘विदेशमा अर्काको गुलाम गर्नुभन्दा आफ्नै ठाउँमा आफ्नै गाउँमा घर परिवारसँग रमाउँदै काम गर्नुजस्तो ठूलो सन्तुष्टि अर्को केही हुँदो रहेनछ।’
उनले अब आफू जुनसुकै देशको अफर आए पनि विदेश नजाने बताए।
उनले भने, ‘अब त अमेरिका जाने टिकट सित्तैमा पाए पनि जान्नँ।’