गत वर्षदेखि गहुँको न्यूनतम समर्थन मूल्य तोक्न सुरू गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यसवर्ष पनि मूल्य तोकिदिएको छ।
नगरस्तरीय कृषि व्यवसाय प्रवर्द्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैयाँ तोकेको हो।
गत वर्ष प्रतिक्विन्टल न्यूनतम तीन हजार रुपैयाँ तोकेकोमा यस वर्ष एक सय ५० रुपैयाँ बढाएर समर्थन मूल्य तोकेको हो।
लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा गहुँको समर्थन मूल्य तोकेको नगरपालिकाको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए।
नगर प्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले न्यूनतम समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे।
तोकिएको मूल्यमा कुनै किसानको गहुँ विक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा पनि नगरपालिकाले लिने जनाएको छ।
तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय ३२ मेट्रिक टन गहुँको बिउ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो।
जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिउ प्राप्त गर्दै आएका छन्।
गत वर्ष पनि ४० प्रतिशत अनुदानमा १ सय ३६ मेट्रिक टन गहुँको बिउ किसानलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।
अनुदानमा उन्नत बिउको उपलब्धतासँगै किसानहरूले जग्गा बाँझो राख्ने क्रम हट्दै जाँदा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ।
यो वर्ष नगरपालिकाको २ हजार ७ सय १ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ। त्यसमा झण्डै ८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको छ।
गत वर्ष नगरपालिकाभित्र २ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन भएको नगरपालिकाको कृषि शाखाको भनाइ छ। चैत महिनाको मध्यबाटै नगरपालिकाको उत्तरी क्षेत्रका किसानले गहुँ खेती स्याहार्न सुरू गरेका थिए।
नगरपालिकाले वडा नं. १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नं. ११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९, १० मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ।