बंगलादेशबाट हालसम्म २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्र्याइएको छ।
पहिलो लटमा उक्त परिमाणको मल भित्र्यिएको कृषि सामाग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरेलले जानकारी दिए।
उनकाअनुसार दोस्रो लटको १० हजार मेट्रिक टन मल लोडिङमा छ। बाँकी मल भने तेस्रो लटमा ल्याइन्छ।
नेपाल भित्रिएको मल विभिन्न जिल्लामा वितरण भएको उनले बताए।
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्न लागेको हो। बंगलादेशबाट युरिया मल ल्याउन कृषि सामग्री कम्पनी र बंगलादेशको
’बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो।
बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको छ।
कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो।
जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो।
बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न असोजमा संयुक्त अरब इमिरेट्स (युएई)को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइएको छ।