गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको अर्गानिक सिस्नुको धुलो लोकप्रिय बन्दै गएको छ।
प्रशस्त आइरन र भिटामिन पाइने सिस्नुलाई स्थानीय ‘उच्च पहाडी अर्गानिक लाप्राकी सिस्नु पाउडर उत्पादक समूह’ ले प्रति किलो ८ सय रुपैयाँमा विक्रि गर्दै आएको छ।
गाउँका खर्क, जंगल र खोल्सामा पाइने सिस्नुलाई सुकाएर धुलो बनाई प्याकिङ गरिन्छ। गाउँलेसँग आलो सिस्नु प्रति केजी २५ रुपैयाँका दरले किन्ने गरिएको समूहका अध्यक्ष निकेश गुरुङले बताए।
उनकाअनुसार गाउँमा उत्पादित सिस्नुको धुलो काठमाडौं र धार्चे गाउँपालिकाको केन्द्र माछीखोलाबाट बिक्रि हुने गरेको छ। एनआरएनले बनाइदिएको लाप्राक नमुना बस्ती घुम्न आउनेहरूले समेत कोसेलीका रुपमा सिस्नु किन्ने गरेका छन्।
गाउँलेको उद्यमशीलता विकासमा टेवा पुर्याउन उनीहरूलाई प्रोत्साहित गरिने गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ (सन्तोष) ले बताए।
साहस नेपाल नामक संस्थाले सिस्नु सुकाउने टनेल उपलब्ध गराउन लागेको जानकारी पनि उनले दिए। ‘बजार बढ्दै गयो भने हामी उत्पादन पनि बढाउँदै जानेछौं’, गुरुङले सेतोपाटीसँग भने।
समूहमा निकेशसहित श्रीमाया गुरूङ, डिलमाया गुरूङ, रुपा गुरुङ र हिमाया गुरुङ सदस्य छन्।
स्थानीय धार्चे गाउँपालिकाले आयोजना गर्ने कार्यक्रमहरूमा अतिथिलाई कोसेलीका रुपमा सिस्नुको धुलो दिने चलन बसाए गाउँलेलाई राहत पुग्ने थियो।