बन्दाबन्दीका कारण उत्पादन भएका गोलभेडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन्।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो। सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने गरेका व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन्।
सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमै कुहिने गरेका हुन्।
उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन्। दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था आएको किसानको गुनासो छ।
बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेडा बिक्री नहुँदा ११ लाख रुपैयाँ बराबरको घाटा लागेको बताए। गोलभेडा बिक्री गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताए। भुषालले कृषि विकास बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए।
उनको तरकारी खेती छेउमै चन्द्र चौधरीले खेती गरेका छन्। चौधरी आफै पनि गाउँको अगुवा किसान मध्ये एक हुन्। चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन्। उनी घर घरका मानिसहरु व्यवसायीक तरकारी खेतीमा लागेको भए पनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछन्।
व्यवसायिक तरकारी खेतीका लागि विधिबत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन्। बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन्।