असिना पानीले बिक्रि गर्न तयारी अवस्थाका तरकारी खेतिमा क्षति गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया क्षेत्रमा बुधबार दिउँसो ठूलो असिनापानी परेपछि बिक्रिका लागि तयारी अवस्थाको टमाटर, काँक्रा, करेला, खुर्सानी सखाप पारिदएको छ।
‘ठूलो असिना पानी आयो र तयारी अवस्थाको सबै तरकारी सखाप पारिदियो,’ कृषक शिशिर रावतले सेतोपाटीसँग भने, ‘एकातर्फ कोरोना महामारीले तरकारी बिकेको थिएन अर्कौतर्फ आज त असिनाले सबै सखाप पारिदियो।’
रावत आफूले लगाएको झन्डै एक बिगाहा क्षेत्रफलको टमाटर, काँक्रा र करेला असिना पानीले सबै नष्ट गरेको बताए। उनले मंगलबार मात्रै प्रति केजी ३ रुपैंयाको दरले केही टमाटर बिक्रि गरेका थिए।
‘मंगलबार मात्रै मैले कही टमाटर तीन रुपैंया किलो बेचेको थिएँ,’ रावतले भने ‘ केही बेरमा अर्का ब्यापारी गाडी लिएर टमाटर टिप्न आउँछु भन्दै हुनुहुन्थ्यो, तर असिनाले सबै सखाप पारिदियो।’
तरकारी बिक्रि नभएको समाचार प्रकाशित भएपछि केही तरकारी व्यवसायीले आफूलाई फोन गरि बुधबार किन्नका लागि आउन लागेकै समयमा असिनाले तरकारी सबै सखाप पारेपछि आफूलगाएत आसपासका किसानले ठूलो क्षति बेहोर्नुपरेको रावतले बताए ।
बदरिया गाउँमा मात्रै झन्डै २५ बिगाहा जति क्षेत्रफलमा स्थानीयले तरकारी खेति गरेको र त्यो सबै असिना पानीले सखाप पारेको रावतले बताए।
‘एक त कोरोनाको महामारीले तरकारी बिक्रि भएको थिएन,’ रावतले भने ‘त्यसैमाथि आज प्रकृतिले समेत हामीलाई रुवाएको छ।’
मंगलबार तीन रुपैंया किलो टमाटरसमेत बिक्रि नभएको समाचार प्रकाशित भएपछि उनलाई केही ब्यवसायीले फोन सम्पर्क गरि बुधबार तरकारी किन्न आउने बचन दिएका थिए।
‘हिजो तीन रुपैंया किलो टमाटर बेचेको थिएँ, तर आज एक जना ब्यवसायी १२ रुपैंया किलो लैजाने भनेर आउँदै हुनुहुन्थ्यो,’ रावतले भने, ‘तर, उहाँ आइनपुग्दै भारी असिना पानीले सबै तरकारी नष्ट गरिदियो।’