कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले महामारीले प्रभावित किसानलाई राहत दिने भएको छ।
कोभिड १९ महामारीको संकटमा रहेका कृषकहरुको समस्या समाधान गर्न आइतबार मन्त्री पद्मा अर्यालले विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन्।
‘हामी कोभिड १९ महामारीको संकटमा छौं। हामीले कृषकहरुका समस्या सधानमा ध्यान दिनुपर्छ, मन्त्री अर्यालले भनिन्, सुरक्षाका मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान तिर लाग्नुस्।’
सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक कदम अगाडि बढाउन मन्त्री अर्यालले निर्देशन दिएकी हुन्।
निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गरेर नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी समेत गर्न उनले निर्देशन दिइन्।
‘अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्, उनीहरूलाई राहतको व्यवस्था गर्नु पर्छ,’ उनले भनिन्।
महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गरिने उनले बताइन्।
कृषि तथा पशुपन्छी बजार तथा ढुवानीमा कतै असहज भए तत्काल सहजिकरणको लागि सम्बन्धित निकायमा अनुरोध गर्न समेत उनले निर्देशन दिएकी छन्।