बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्, साना-साना दाना पनि लागिसकेका छन्।
मीनाले वर्षौंदेखि आफ्नो बारीमा आलु, गहुँ र सिमी लगाइन्। तर जति नै मेहनत गरे पनि बारीको उब्जनीले उनको परिवारलाई वर्षभरि हातमुख जोड्न पुग्दैनथ्यो।
गत वर्ष जिल्लाको कृषि ज्ञान केन्द्रले उनीहरूलाई नयाँ बिरूवाका बारे जानकारी दिएको थियो। विदेशबाट बेर्ना ल्याएर स्याउ रोप्ने जानकारी पाएपछि मीनाले पनि चासो राखिन्।
ज्ञान केन्द्रले स्याउका बेर्ना दिनेमात्र होइन हुर्काउने किसानलाई प्रोत्साहन गर्न डेढ सयसम्म रुपैयाँसम्म नगद दिने योजना ल्याएको थियो।
‘पुसदेखि नै हामीले खाल्डा बनाउने, त्यसमा घरको मल हाल्ने काम गरेका थियौं,’ मीनाले सेतोपाटीसँग भनिन्।
कृषक समूहसँग सम्झौता गरी ज्ञान केन्द्रका कर्मचारीले टर्कीबाट ल्याइएका ‘एम-९ रुटस्टक हाइडेन्सिटी’ स्याउका बेर्ना गाउँमै पुर्याइदिए।
मीनाले ६५ बेर्ना पाइन्। ती बेर्ना गत फागुनमा उनले आफ्नो २ कठ्ठा जमिनमा रोपिन्। उनले रोपेका सबै बेर्ना जोगिए।
‘अहिले त फलेका पनि छन्, साना बोटमा स्याउ लागे बोटै भाँचिने हुन् कि भनेर दाना चुडिसक्यौं,’ उनले भनिन्।
मीनाजस्तै फूलबारी कृषक समूहका २५ जना किसानले यसपालि ११ सय बोट ‘एम-९ रुटस्टक हाइडेन्सिटी’ स्याउ लगाएका छन्।
उनीहरूलाई स्याउ फलाए हामी किन्छौं भन्ने धेरै छन्। पहिलोपटक स्याउका बिरूवा लगाएकी मीनालाई स्याउबाट राम्रो आम्दानी हुने आशा छ।
‘गाउँमा पुरै प्लट बनाएका छौं, जसरी बिरूवा जागेका छन् त्यसैगरी फले त फाइदै होला,’ उनले भनिन्।
बुढीनन्दा नगरपालिका-९ का शेरबहादुर रावतले पनि ५ सय बोट सोही प्रजातिका स्याउ रोपेका छन्।
२०५७ देखि स्याउ खेती गर्दै आएका उनी गत वर्षदेखि व्यावसायीक रूपमा लागेको बताउँछन्।
‘पहिले यताउति लिन नसकेर गाइगोरुलाई खुवाउँथ्यौं। अहिले त सदरमुकामदेखि धनगढीसम्म जान थाल्यो। त्यसैले यसपालिदेखि व्यावसायिक रूपमै खेती गरेको छु,’ उनले भने।
उनको बारीमा पनि स्याउका बोटमा दाना लागेका छन्।
उनले अरू तीन हजार बोट जुम्लाको स्याउ पनि रोपेका छन्।
‘मैले लगाएको जुम्लाको भन्दा यो हाइडेन्सिटी स्याउ पहिलो वर्षमा नै फल्ने रहेछ। नयाँ भएकाले बाँकी फाइदा थाहा भएन। टिकाउ कति हुन्छ थाहा छैन,’ उनले भने।
बाजुरामा यस वर्ष नेपालमै पाइने र टर्कीबाट ल्याइएको उन्नत जातको गरी धेरै जमिनमा स्याउ खेती गरिएको छ।
स्वामीकार्तिक गाउँपालिकामा स्याउ खेती बढी हुने गरेको छ। यहाँ स्थानीय प्रजातिका २५ हजार बोट गाउँपालिकाले नै ल्याएर यस वर्ष लगाइएको छ।
ज्ञान केन्द्रबाट टर्कीबाट ल्याएर जिल्लाभर उन्नत जातको ४ बेर्ना हजार वितरण गरेको छ। ज्ञान केन्द्रले खप्तडछेडेदहमा यस प्रजातिका एक हजार, बडिमालिकामा ३ सय, गौमुलमा ७ सय बोट, बुढीनन्दा नगरपालिकामा ६ हजार, स्वामिकार्तिक गाउँपालिका २ हजार बेर्ना वितरण गरिएको छ।
टर्कीबाट ल्याइएको गाला, फुजी र गोल्डेन प्रजातिका स्याउ बेर्ना विभिन्न स्थानीय तहमा चार वटा बगैंचा तयार पारी लगाइएको छ। यसको प्रतिबोट एक हजार ९५ रुपैयाँ खरिद मूल्य परेको ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतिले बताए।
‘कृषि ज्ञान केन्द्रले स्याउ रखेदेख गर्ने गरी समूह वा फार्मलाई बेर्ना दिएको हो। एकै ठाउँमा ठूलो फार्म भएकालाई दिइएको छ,’ उनले भने।
रूवाको मूल्यको १० प्रतिशत किसानले ब्यहोर्नुपर्छ।
ज्ञान केन्द्रले बेर्नाको ९० प्रतिशत, थोपा सिंचाइको व्यवस्था गर्ने, ड्रेसलिङ, काँटछाँटमा सहयोग गर्ने छ। प्राविधिक सहयोग भने नि:शुल्क पाउने व्यवस्था छ।
‘थोपा सिंचाइ बजेट अपुग भएर यस वर्ष ढिला भयो। अर्को वर्ष बजेट थपेर पनि काम हुन्छ,’ सिजापतिले भने।
थोपा सिचाइका लागि टंकी स्थापना भएका छन्। त्यहाँबाट पानी फ्लो गराई जरा-जरामा पुगाउने व्यवस्था गरिने छ। किसानहरूले अहिले भने पानी बोकेर विरुवामा हाल्नुपरेको छ।
‘अहिले बर्खामा पानीको त्यति समस्या छैन, पानी अभाव हुने सिजनमा सिंचाइ पुगाउँछौं,’ उनले भने।
यसै वर्ष ५० लाख बजेटमा ४ हजार बोट उन्नत स्याउ र थोपा सिंचाइको काम भइरहेको छ।
२ वर्षअघि स्वामीकार्तिक र गौमुलले १/१ हजार बोट टर्कीको स्याउ ल्याएर परीक्षण गरिसकेका थिए। यसपछि यहाँ उन्नत जातको स्याउ प्रति आकर्षण बढेको हो।
यो स्याउ पहिलो वर्ष नै फले पनि बोटको वृद्धि हुँदैन भनेर दाना हटाइन्छ। दोस्रो वर्ष आधा फल्न दिने र तेस्रो वर्षबाट पूरा उत्पादन हुन थाल्ने सिजापतिले बताए।
‘एक रोपनीमा ६४ हजार रुपैयाँसम्म यसले उत्पादन दिन्छ, हामीले सात रोपनीमा एक हजारका दरले २८ रोपनीमा यो स्याउ लगाएका छौं। तेस्रो वर्षदेखि स्याउ राम्रो फलाउन सके एक करोड बढीको उत्पादन हुने अपेक्षा राखिएको छ,’ उनले भने।
अहिले बाजुराका किसानहरुले ठूला बगैंचामा स्याउ लगाउन थालेका छन्। स्थानीय प्रजातिमा रोग किराका आक्रमण बढी हुनाले उन्नत जातको स्याउमा आकर्षण बढेको ज्ञान केन्द्रको भनाइ छ।
‘यो आफैंमा सानो जातको बिरूवा हो। यो बिरूवा एक रोपनीका एक सय ५० सम्म रोप्न सकिन्छ,’ सिजापतिले भने।
बाजुरामा स्याउका लागि अनुकूल वातावरण छ। अरू फलफूलभन्दा उत्पादन राम्रो भएकाले स्याउ उत्पादनमा जोड दिइएको ज्ञान केन्द्रले जनाएको छ।
‘प्रशोधन उद्योग पनि जडान गर्ने तयारी छ। त्यसबाट जुस पनि बेच्न सकिने छ र बाहिर निर्यात गर्ने लक्ष्य छ,’ सिजापतिले भने।
बाटोको समस्याले बाजुरामा उत्पादन भएको स्याउ सहज रूपमा बाहिर लगेर बिक्री गर्न सकिएको छैन।
बाजुराको स्याउ बिक्रीको मुख्य बजारका रूपमा धनगढी, महेन्द्रनगर र नेपालगन्जलाई हेरिएको छ।
पोहर बाटो ठप्प भएपछि मुख्यमन्त्री कृषि परियोजनाअन्तर्गत फलेको स्याउ हेलिकप्टरबाट नेपालगन्ज ल्याउनु परेको थियो। यो वर्ष पनि बाटोको भर पर्ने अवस्था नरहेको किसान बताउँछन्।