उनलाई फुर्सद थियो तर मन खाली थिएन। घरि एउटा विचार आउँथ्यो, घरि अर्कै।
स्नातक सकिसकेपछि धेरै साथीभाइ जागिरको खोजिमा थिए। सकभर सरकारी नभए प्राइभेट। त्यतिले पनि नपुगे वा नपाए विदेश जाने विकल्प त छँदै थियो।
चार वर्षअघि बिबिए पूरा गरेपछि तुलसीपुरका २८ वर्षीय हरिश गिरी जागिरको खोजीमा थिएनन्।
उनको मनमा विचारहरूको तँछाडमछाड चलिरहेको थियो।
उद्यमी बन्ने निधो गरिसकेका थिए तर केको उद्यम गर्ने सोचिसकेका थिएनन्।
हरिश त्यतिखेर हरबखत आफूले उद्यम गर्ने अरूलाई पनि रोजगारी दिनेबारे सोचिबस्थे।
केही नयाँ र समाजलाई सकारात्मक प्रभाव पार्ने खाले उद्यम गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई धेरै काम गरायो।
यो हुटहुटी उनलाई विद्यार्थी जीवनमै पनि हुन्थ्यो।
बिबिए पढ्न काठमाडौं बस्दा आमाबाले अड्कलेर पठाएको खर्चले पुग्दैनथ्यो। अनि उनले खर्चको जोहो गर्न नागपोखरीस्थित टुर्स एन्ड ट्राभल्स एजेन्सीमा एक वर्ष जति काम पनि गरेका थिए। जागिरले जीवनमा खासै सुन्तुष्टि हुने ठाउँ उनले देखेनन्।
त्यहाँ काम गर्दा उनले थाहा पाए, जागिर होइन उद्यम गर्नुपर्छ।
त्यसपछि हरिशले जेसिबीलगायत मोटर गाडी किने। ठेक्कापट्टाको काम पनि गरे। ती काममा उनको मन भने रमाउन सकेन।
फेरि उनले एक आफन्तसँग मिलेर दाङको घोराहीमा ठूलो क्षमताको न्याप्किन पेपर उत्पादन गर्ने उद्योग खोले। ती आफन्तसँग कुरा मिलेन, हरिशले त्यहाँबाट हात झिके।
काम गर्दा समस्या जहाँ पनि हुन्छ। एउटा ठक्करबाट हरिशले हार मानेनन्। बरू उनले केही सिके र अनुभव बटुल्ने अवसर पाए। हरिशको मनमा समाजलाई सकारात्मक प्रभाव पार्ने कुनै न कुनै उद्यमशिलता गरेर देखाउने हुटहुटी छँदै थियो।
‘परम्परागत ढंगले व्यापार त जसले पनि गर्न सक्छ, तर समाजलाई सकारात्मक ढंगले प्रभाव पार्ने र नयाँ कुरा के हुन्छ भनेर खोजी गर्नु महत्वपूर्ण कुरा हो। म पनि त्यसैको खोजीमा लागें,’ उनले भने।
उनी एक्लैले गुपचुप बजारको अध्ययन, अनुगमन र अनुसन्धान गर्दै गए। अनेक विकल्प र सम्भावनाको खोजी गरे।
खोजीको क्रममा उनले सबभन्दा महत्वपूर्ण भान्सा हो भन्ने बोध गरेछन्। भान्सामा मानिसले धेरै खर्च गर्छन् भन्ने पनि उनको निष्कर्ष थियो। भान्सामा सबभन्दा खर्चिलो भने मासु नै हुन्छ।
त्यसपछि उनी विभिन्न मासु पसल हेर्न गए। जिल्लामा प्रचलनमा रहेका धेरैभन्दा धेरै मासु पसल हेरे। ती सबै परम्परागत थिए।
जुनसुकै मासुपसलमा एउटै दृश्य। काठको अचानो, खुल्ला ठाउँमै मानिसले मासु काट्थे, त्यसको वरिपरि झिंगा भन्किरहेका हुन्थे, मासु काट्ने मानिसले फोहर कपडा लगाएको, बेच्दा पोलेथिनमा हालेर मासु बेच्ने गरेको देख्दा उनलाई दिगमिग लाग्यो।
त्यस्ता पसलमा प्राय: भुत्ला फाल्ने, मासु काट्ने र बिक्री कक्षसमेत एउटै हुन्थ्यो।
धेरै सोधखोज र विचारपछि उनले निधो गरे- म मासु पसल खोल्छु।
त्यसपछि सुरू गरे- विकल्प मिट्स।
‘मान्छेको स्वास्थ्यसँग खेलवाड गर्नुहुन्न र उपभोक्ताले स्वच्छ तथा सफा मासु उपभोग गर्न पाउनु पर्छ भन्ने म सोच्थें,’ हरिशले भने, ‘स्वच्छ मासु पाइने ठाउँ कतै नदेखेपछि विकल्प मिट्स खोल्ने निधो गरेको हुँ।’
यो पसल तुलसीपुरको ‘ग’ लाइनमा छ।
यो सामान्य मासु पसल होइन। अत्याधुनिक र सुविधा सम्पन्न छ। यसमा उनले लाखौं लगानी गरेका छन्। इन्भेष्टमेन्ट बैंकबाट ५० लाख ऋण लिएका उनले झन्डै ४५ लाख जति मासु पसलमै लगानी लगाएको बताए।
२८ वर्षीय हरिशले तीन महिना अगाडिदेखि सञ्चालन गरेको अत्याधुनिक मासु पसल देख्नेहरू दंग पर्छन्।
विकल्प मिट्समा कुखुरा काट्ने, पानी तताउने, भुत्ला फाल्ने, सफा गर्ने, मासु काट्ने, मासु प्याक गर्नेजस्ता सम्पूर्ण काम मेसिनबाटै हुने गर्छ। खसीको मासु काट्नका छुट्टै मेसिन छ। ती सबै स्टिलका उपकरण हुन्। उच्च गुणस्तरिय प्रविधि र उपकरण भएकाले आफूकहाँ काटिएको मासु ब्याक्टेरिया नलाग्ने, स्वस्थ र गुणस्तरीय हुने उनको दाबी छ।
त्यसरी काटेको मासुलाई स्वास्थ्य मापदण्ड अनुरूप प्याकिङ गर्ने र माइनस १८ डिग्री सेलसियस भन्दा कम तापक्रमका फ्रिजमा राख्ने गरिएको हरिशले बताए। उनले मिट फ्रोजन गर्ने अत्याधुनिक फ्रिज भारतबाट ल्याएको जानकारी दिए।
विकल्प मिट्समा मासु काट्ने मानिस छुट्टै र सफा लुगा लगाउँछन्। सफा लुगा अनिवार्य गरिएको गरेको हरिशले बताए। मासु काट्ने, अन्य प्रोसेसिङका काम गर्ने तथा बिक्री गर्ने कक्ष अलग-अलग छन्।
पकाएको मासु बेच्ने, फ्रोजन म:म बिक्री कक्ष पनि अलग छन्।
‘हामीले म्यानपावर कम र मेसिनको बढी उपयोग गर्छौं,’ हरिशले भने, ‘त्यसले गर्दा एकातिर काम छिटो हुन्छ भने अर्कोतर्फ खर्च पनि धेरै लाग्दैन।’
विकल्प मिट्सले सी फुड पनि बिक्री गर्ने गरेको छ। सप्लायर्समार्फत् विभिन्न सी फुडका आइटम ल्याउने गरेको हरिशले बताए।
बजारका सामान्य मासु पसलको मूल्य र विकल्प मिट्सले बेच्ने मासुको मूल्य लगभग समान छ।
‘बाहिरको डेकोरेसन देखेर कसैले हामीले बेच्ने मासु महंगो पर्छ कि भन्ने सोच्नु स्वभाविक हो,’ हरिशले भने ‘तर, हामीले बजारमा जुन मूल्यमा मासु किन्न पाइन्छ त्यही मूल्यमै बिक्री गर्दै आएका छौं।’
अझ हरिशले आफूले किलोको हिसाबले बेच्ने गरेको पकाएको मासु र म:म बजार मूल्यभन्दा सस्तो रहेको दाबी गरे।
चर्को मूल्य राखेर कमाउनमात्र खोज्नुभन्दा धेरै मात्रामा सामान बिक्री गरेर कमाउने वातावरण होस् भन्ने उनलाई लाग्छ।
‘पहिला मानिसको विश्वास जित्न सक्नुपर्छ,’ उनले भने, ‘त्यहाँ राम्रो छ भन्ने थाहा पाएपछि मार्केट आफैं निर्माण हुन्छ।’
हरिशका अनुसार विकल्प मिट्समा फ्रोजन मासु किन्न सीमित मानिसहरू मात्रै आउने गर्छन्।
‘जो देश-विदेश घुमेर आउनु भएको छ वा फ्रोजन मिटको महत्व बुझ्नु भएको छ उहाँहरूले मात्रै फ्रोजन मिट किनेर लैजानु हुन्छ,’ हरिशले भने, ‘ती बाहेक स्थानीय जम्मै उपभोक्ताहरू ताजा मासुमात्रै खोज्नुहुन्छ। उहाँहरूका लागि फ्रोजन मासु बासी हो र स्वास्थ्यलाई हानी गर्छ। जुन गलत हो।’
हरिशले भविष्यमा उपभोक्ताले फ्रोजन मिटको महत्व बुझ्दै जाने र आफ्नो व्यापार राम्रो हुने विश्वास राखेका छन्।
स्वास्थ्य मापदण्ड अनुसार कुनै पनि जीवजन्तुको मासु काटेपछि आठ घन्टासम्म माइनस १८ डिग्री सेल्सियसभन्दा कम तापक्रमको फ्रिजमा भण्डारण गरेको मासु खानलाई उपयुक्त हुन्छ।
उनले ससेज प्लान्ट स्थापना गर्ने तयारी भइरहेको हरिशले जानकारी दिए।
विकल्प मिट्सले सुरूवाती दिनहरूमा दैनिक ३५/४० हजारसम्मको कारोबार गर्यो। तर, कोरोना महामारीले निषेधाज्ञा जारी भएपछि सबै बजार ठप्प छ। तै, हरिशले हरेश खाएनन्। पाँच जनामध्ये तीन जना मासु काट्ने कर्मचारीलाई गास,बासको प्रबन्धसहित पसलभित्रै राखे।
अनि होम डेलिभरी सेवा सुरू गरे।
होम डेलिभरी थालेपछि त्यसले उत्साह थपेको हरिशले बताए।
‘बन्द गरेर घरमै बसेको भए बर्बाद नै हुन्थ्यो नि,’ हरिशले भने ‘होम डेलिभरिले अहिले नहुनुभन्दा ठिकै छ भन्नुपर्छ।’
लकडाउनमा पनि दैनिक १५/२० हजारको कारोबार भइरहेको हरिशले बताए। त्यसले कर्मचारी पाल्न र घर भाडा तिर्नसम्म पुगेको छ।
हरिशले घर भाडामात्रै मासिक ५० हजार तिर्ने गर्छन्। कर्मचारी खर्च र बिजुलीसमेत गरी मासिक डेढ लाख खर्च हुने हरिशले बताए।
‘हामी सुरूवातमै छौं र अहिलै नाफा खोज्नु मुर्खता हो,’ उनले भने, ‘तर, भविष्यमा मासिक ५/७ लाख बढीको व्यापार हुन्छ भन्ने विश्वास छ मलाई।’
अहिले सहरभित्रै मासु बेचिरहेका छन्, भोलिका दिनमा अरू जिल्लामा पनि विकल्प मिट्सको शाखा विस्तार गर्ने उनको सोच छ।
हरिश परिवारका एक्ला छोरा हुन्। लाखौं ऋण लिएर पसल सुरू गरेलगत्तै जारी लकडाउनले उनका अभिभावक र दिदीबिहनी आत्तिएका छन्। तर हरिश भने विचलित छैनन्।
‘सधैं यस्तै अवस्था पक्कै रहने छैन,’ उनले भने, ‘यस्तै मेहनत गरे कसो कमाइ नहोला!’
आफ्नो हरिशले युवा वर्ग काम गर्नका लागि विदेश जान नपर्ने गरी नेपालमै काम भएको ठान्छन्।
‘अध्ययन र सीप सिक्नका लागि केही समयका लागि विदेश जानु ठिकै हो,’ हरिशले थपे ‘तर हामीजस्ता युवाहरूले आफ्नै देशमा श्रम र सृजना खन्याउनु पर्छ भन्ने मलाई लाग्छ।’
नेपालमै प्रशस्त सम्भावना रहेको भन्दै उनले कुनै पनि काम परम्परागतभन्दा अलि फरक र नयाँ ढंगले गर्न जरूरी रहेको सोच्छन् उनी।
‘हामी जस्ता युवाहरूले उद्यमशीलतालाई बढाउनु पर्छ जसले समाजमा सकारात्मक प्रभाव पारोस् र समाजका समस्याहरू हल गर्न सकोस्,’ उनले भने।
उनले विकल्प मिट्सले पनि सर्वसाधारणलाई मासुको व्यापार कसरी गर्ने, मासु कसरी भण्डारण गर्ने, कस्तो मासु खाने, मासु काट्ने ठाउँ कस्तो हुनुपर्छ भन्नेजस्ता कुरा बुझाउँदै गएको र त्यसले समाजमा सकारात्मक प्रभाव पर्दै जाने विश्वास व्यक्त गरे।