गत जेठ ३० गते बुटवलको तिनाउ नदीमा आएको बाढीले सिँचाइ प्रणालीको बाँध भत्काएपछि रुपन्देहीका सयौं किसानले धान रोपाइँ गर्न पाएका छैनन्।
तिनाउको पक्की पुलको तलदेखि पश्चिमतर्फ लगिएको चार तपाहा सिँचाइ प्रणालीलाई बाढीले भत्काइदिएपछि धान रोप्न तयार रहेका सयौं किसान चिन्तित बनेका छन्।
बाढीले सिँचाइ प्रणालीको मुहान भत्काइदिनुको साथै बाढीसहितको बालुवा र ढुङ्गामाटोले नहर भरिएको छ।
बाँध बाँध्ने र नहर सफा गरी सिँचाइको लागि पानी लगिरहेको अवस्थामा आएको बाढीले पुनः नहर भरिएको कारण जेसिभी र डोजर लगाएर मात्र नहर सफा गर्न सकिने बुटवल -१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए।
तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने असारदेखि खोला तथा नहरमा मेसिन लगाउन रोक लगाएको छ। जसको कारण रोपाइँ गर्ने समयमा समेत नहर सफा गर्न सकिएको छैन।
वडा अध्यक्ष न्यौपानेले असार १ गतेपछि खोला वा नहरमा मेसिन लगाएर नदीजन्य वस्तु उत्खनन् गर्न रोक लगाएको कारण किसानसमेत समस्यामा परेको बताए।
उनले नदीजन्य वस्तु उत्खनन् गर्न रोक लगाएको भए पनि मेसिन प्रयोग बिना नहर सफा गर्न नसकिने भएकोले नहर सफा गर्नको लागि मेसिन प्रयोग गर्न दिन प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको बताए।
बुटवल उपमहानगरपालिकामा गठित विपद व्यवस्थापन समितिले पनि नहर सफा गर्न जेसिभी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयलाइ सिफारिस गरिसकेको छ। जिल्ला प्रशासन कार्यालयले भने नगरको विपद व्यवस्थापन समितिको सिफारिससँगै प्राविधिक टोलीको अनुगमन रिपोर्ट पनि मागेकोले उक्त रिपोर्ट बुझाएपछि समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चार तपाहा सिँचाइ प्रणाली समितिका पदाधिकारीसँग प्रत्यक्ष भेटेर छलफल भएकोले अब छिट्टै समस्या समाधान हुने बताए।
यस वर्ष जेठ महिनाको सुरूमै वर्षा भएपछि समयमै धानको व्याड राखे पनि बाढीले बाँध बगाएपछि समयमा धान रोप्न नपाएको किसानले गुनासो गरे।
धान रोप्नको लागि खेत हिल्याउने र बिउ गोडेर रोपाइँको तयारी अवस्थामा रहेका किसानको खेत अहिले सुकिसकेको छ। समयमा धान रोप्न नपाउँदा गोडेको बिउ समेत कुहिएको मोतीपुरका किसान यमबहादुर थापाले गुनासो गरे।
रुपन्देहीको महत्वपूर्ण सिँचाइ आयोजनाको रूपमा रहेको चारतपाह सिँचाइ प्रणालीबाट बुटवल पश्चिमको ४ हजार हेक्टर बढी खेतमा सिँचाइ हुँदै आएको छ।
बाढीले बाँध बगाएपछि बुटवल-११ को नहरपुरसँगै वडा नम्बर १२ देखि १९ सम्मका वडा तथा शुद्धोधन र सियारी गाउँपालिकाका केही वडामा समेत सिँचाइ सुविधा नपुगेको वडा अध्यक्ष न्यौपानेले बताए।
´सयौं किसान बाढीले गर्दा वर्षाको बेलामा समेत काकाकुलको अवस्थामा पुगेका छन्,’उनले भने।
पानीले भरिने कुलोमा गिट्टी बालुवाले भरिँदा पानी जान सकेको छैन।