असार १२ गते दाङको राजपुरमा मेसिनले धान रोप्ने अभ्यास हुँदै थियो। स्थानीय मोहन खनालको १५ कठ्ठा क्षेत्रफलको जग्गा धान रोप्न तयार पारिएको थियो।
यसअघि जिल्लामा मेसिनबाट धान कतै पनि रोपिएको थिएन। त्यसैले स्थानीय सर्वसाधारण मेसिनले धान रोपेको दृष्य अवलोकन गर्न आइसकेका थिए।
मेसिनले खेतमा धान रोप्न थालेपछि स्थानीय सर्वसाधारण चकित बने।
खनालले पनि मेसिनले धान रोप्दा काम छिटो, कम खर्चिलो र सजिलो भएको प्रतिक्रिया दिए।
‘मेरो १५ कठ्ठा क्षेत्रफलमा मेसिनले धान रोप्न २ घन्टा पनि लागेन,’ उनले भने, ‘मानिसले रोपेको भए ८/१० जनालाई बिहानदेखि बेलुकासम्म लाग्ने निश्चित थियो।’
मेसिनले धान रोपेको देख्दा गाउँ घरका सर्वसाधारण सबै दंग परेको उनले बताए।
‘यो मेरो पहिलो अनुभव थियो, त्यसैले थोरै ट्रेमा ब्याड रोखेको थिएँ,’ खनालले भने, ‘मेसिनले त्यो ट्रेको धानको ब्याड आफैं गजबले तानेर लाइनमा रोप्दो रहेछ।’
धान रोप्ने मेसिनका लागि ट्रेमा धानको ब्याड राख्नुपर्ने हुँदा ब्याड काड्न (उखेल्न) छुट्टै मानिसको समेत आवश्यकता नपर्ने खनालले जानकारी दिए।
‘मेसिनले धान रोप्दा मान्छे पनि थोरै लाग्ने र खर्च पनि कम हुने मैले देखें,’ उनले भने, ‘यसैगरी कृषिमा प्रविधिको प्रयोग जताततै हुन सके साँच्चै चमात्कारै हुन्छ होला।’
जिल्लामा पहिलो पटक धान रोप्ने मेसिन भित्र्याएपछि त्यसबाट धान कसरी रोप्ने ? भनेर स्थानीयलाई अभ्यास गराउन कृषि ज्ञान केन्द्रले आफ्ना प्राविधिक पठाएर जिल्लामा पहिलो अभ्यास गराएको हो।
धान रोप्ने काम राजपुर गाउँपलिकास्थित सूर्योदय कृषि सहकारीमार्फत् भएको हो।
कृषि ज्ञान केन्द्र दाङले यसै वर्ष जिल्लामा तीन वटा धान रोप्ने मेसिन भित्र्याएको हुँदा एउटा मेसिन उक्त सहकारीलाई पनि प्रदान गरेको थियो।
राजपुरकोे सूर्योदय सहकारी, गढवाको निलकमल महिला समूह र लमहीको हरित क्रान्ति कृषि सहकारी संस्थालाई धान रोप्ने मेसिन वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रूद्रमणि पौडेलले सेतोपाटीलाई बताए।
सहकारी, समूह वा फारम दर्ता गरेका किसानको माग फारमका आधारमा धानबाली ब्लग कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदामा धान रोप्ने मेसिन केन्द्रले पहिलो पटक जिल्लमा भित्र्याएको हो।
संघीय सशर्त अर्थात् सरकारबाट उपलब्ध प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत २ करोड ४४ लाख बजेट जिल्लाका दश वटै स्थानीय तहलाई एक/एक वटा मेसिन उपलब्ध गराउन भनी केन्द्रलाई आएको भए पनि पहिलो पटक जिल्लाका दुई सहकारी र एक कृषि समूहलाई प्रदान गर्न सम्भव भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रूद्रमणि पौडेलले सेतोपाटीलाई बताए।
केन्द्रमा रकम आएपछि जिल्लाका सबै स्थानीय तहहरूलाई बालीवस्तु छनोटका लागि समय दिएर पत्राचार गरिएको सूचना अधिकारी पौडेलले बताए।
किसानले छनोट गरेर पठाएको बालीवस्तुलाई राखेर गत माघ महिनातिर ज्ञान केन्द्रले एक महिने सूचना जारी गरेको थियो। तर, त्यतिखेर ६ वटा स्थानीय तहले मात्रै माग फारमको निवेदन दिएका थिए।
फेरि कृषि ज्ञान केन्द्रले १५ दिने म्यादसहित दोस्रो पटक सूचना जारी गरेपछि थप दुइटा स्थानीय तहले निवदेन हालेको सूचना अधिकारी पौडेलले बताए।
तर, तीमध्ये शान्तिनगर, दंगिशरण गाउँपालिकाले मकै बालीको ब्लकका रूपमा निवेदन दिएका थिए। ती ठाउँमा दुई वर्ष पहिले नै केन्द्रले मकै रोप्ने, गोड्नेजस्ता उपकरण प्रदान गरिसकेको थियो। थप उपकरण यसपटक पनि प्रदान गरिएको पौडेलले जनाए।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाबाट प्लाष्टिक टनेलमा तरकारी खेतीको लागि उपकरण माग भएपछि त्यस्तै उपकरण केन्द्रले दिएको छ।
घोराही उपमहानगरपालिका १० बाट पनि धानबालीकै ब्लकका रूपमा निवेदन परे पनि त्यहाँका स्थानीयले ढुवानीका साधन मागे। बंगलाचुली गाउँपालिकामा सुन्तलाजन्य बालीका लागि ब्लक तयार अनुसार भिरालो जमिनमा खाडल खन्ने मेसिन मागेका थिए।
राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते देउखुरीको लमहीमा डेमोको रूपमा मेसिनले धान रोपेर दिवस मनाउने तयारी गरिएको छ। त्यहाँ ज्ञान केन्द्रका केही कर्मचारी, स्थानीय किसानको उपस्थितिमा डेमोको रूपमा मेसिनले धान रोपेर धान दिवस मनाउने तयारी गरिएको छ।
गत वर्ष नै धान रोप्ने मेसिन भित्र्याउने कोसिस गरेको भए पनि त्यो सम्भव नभए पनि यो वर्ष पहिलो पटक दाङमा तीन वटा धान रोप्ने मेसिन भित्र्याउन पाउँदा खुसी लागेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलेले बताए।
चीनबाट आएको धान रोप्ने मेसिनलाई लगभग साढे ५ देखि ६ लाख बराबर मूल्य पर्न गएको र इण्डियाको मेसिनलाई साढे ७ लाख जति पर्न गएको केन्द्रका सूचना अधिकारी पौडेलले बताए।
चीनबाट ल्याइएको मेसिनभन्दा इण्डियाबाट ल्याइएको मेसिन अलि ठूलो साइजको रहेको हुँदा केही महंगो पर्ने गरेको उनले जानकारी दिए ।
गढवाको गोबरडियास्थित निलकमल महिला समूहले इण्डियन मेसिन ल्याएको र अन्य दुइटा राजपुरकोे सूर्योदय र लमहीको हरित क्रान्ति कृषि सहकारी संस्थाले चीनका मेसिन ल्याएका छन्।
कृषि ज्ञान केन्द्रले जिल्लाका दश वटै पालिकामा एक-एक वटा मेसिन दिने योजना बनाएको भए पनि कतिपय पालिकाले बालीवस्तु छनोट गरिसकेपछि ढिला गरी मात्रै माग फारम भरेको हुँदा समस्या भएको पौडेलेले जानकारी दिए।
दाङको देउखुरी क्षेत्रको गढवा, राजपुर र लमहीमा केन्द्रले एक/एक वटा धानबालीको लागि ब्लग सञ्चालन गरिएको छ।
बालीवस्तु छनोट गरिसकेपछि ढिला गरी पठाएको हुँदा देउखुरीका चार पालिकामध्ये राप्ती गाउँपालिका मात्रै छनोटमा पर्न नसकेको पौडेलले जानकारी दिए।