झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा ‘कृषकसँग प्राविधिक’ कार्यक्रम सुरू भएको छ। वडाका कृषकलाई वडा कार्यालयले कार्यक्रममा सहभागी गराएको हो।
कृषि शाखाको प्राविधिक सहयोगमा वडाले कार्यक्रमको आयोजना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य बद्रीनाथ खनालले बताए। उनले ‘कृषकसँग प्राविधिक कार्यक्रम’ले कृषकहरूलाई जैविक विषादी तथा झोल मल बनाउने तरिका सिकाइएको बताए।
कृषकहरूले खाद्य उत्पादनमा प्रयोग गर्ने रासायनिक मलको कमी ल्याउन र विषादीरहीत खाद्य उत्पादन गरी नागरिकलाई स्वस्थकर अर्गानिक खानामा आत्मनिर्भर बनाउनको लागि वडा कार्यपालिकाले यो कार्यक्रम ल्याएको हो।
कार्यक्रममा आफ्नै घर, खेतबारी तथा वन जङ्गलमा पाइने तीतो, पीरो, अमिलो वनस्पति टुक्रा पारी गोबर, गहुँत, साबुन, खरानी र पानीमा मिश्रण गरी जैविक विषादी बनाउन, झोल मल बनाई प्राङगारिक मल र जैविक विषादीको रुपमा प्रयोग गर्न कृषकहरुलाई प्रशिक्षण दिइएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए।
वडाका व्यावसायिक कृषकमध्ये ३० जना कृषकहरूलाई कार्यक्रममा सहभागी गराएको थियो। कार्यक्रमको सहजीकरण नगरका कृषि शाखा प्रमुख रविन भट्टराई र कृषि प्रावधिक बेदनिधि अकिकारीले गरेका थिए।
जान्न, सिक्न खोज्ने कृषकहरूलाई यो कार्यक्रममा सहभागी गराइएको भए पनि पछिल्ला दिनहरूमा सबैलाई समेट्ने वडाध्यक्ष खुलालले बताए। कार्यक्रममा सहभागीले यो कार्यक्रमलाई कम्तीमा १५ दिन सञ्चालन गर्नुपर्ने बताए।
सहभागी नारायण दाहाल र पुजन कटवालले वडाको यो कार्यक्रम किसानका लागि निक्कै फलदायी बनेकोले नियमित रुपमा सञ्चालन गर्नुपर्ने बताए।
‘यस्ता रचनात्मक कार्यक्रमले किसानको आयआर्जन वृद्धि गर्न सक्नेछन्,’ कटवालले भने।