मोरङको पथरीमा पहिलो पटक ड्रोनमार्फत खेतमा औषधि छर्ने कामको सफल परीक्षण गरिएको छ।
पथरी शनिश्चरेका क्षितिज सुब्बा र नवलपरासीका रवि गुरूङले नेपालमै पहिलो पटक पथरीमा ड्रोनबाट खेतमा औषधी छर्किएका हुन्।
२ वर्ष लामो अनुसन्धानपछि ड्रोनलाई प्रयोगमा ल्याइएको सुब्बाले जानकारी दिए। यो निर्माणका लागि उनीहरूलाई थप ३ जना साथीले सहयोग गरेका छन्।
‘हामी पाँच जनाको टिमले काठमाडौंको मधुकर ड्रोन सेन्टरमा ड्रोनबाट कृषिमा क्रान्ति गर्ने अभियानमा सुरू गरेका हौं, आफू पढेको स्कुल र हुर्केको स्थानमा प्रदर्शन गर्न पाउँदा नसोचेको खुसी महसुस भएको छ’, सुब्बाले भने।
कृषक र कृषि संस्थाका लागि उपयोगी औषधि छर्कने उक्त ड्रोनले १० मिनेटमा ४ बागाहा जमिनमा औषधी छर्कनसक्ने क्षमता छ। ‘यो ड्रोनले २५ देखि ४० केजीसम्म बोकेर २५ देखि ४० मिनेटसम्म उड्नसक्छ,’ क्षितिजले भने, ‘जसबाट कृषकले बल प्रयोग गर्नु नपर्ने, समय बचत हुने र विषादी छर्दा कृषकलाई असर नगर्ने तथा हिलोमा पस्नु नपर्ने जस्ता सुविधा पाउँछन्।’
ड्रोन बनाउन सुरूमा ८ जना युवाले थाले पनि विभिन्न समस्या र विदेशमा अवसरका कारणले हाल ५ जना मात्र रहेको उनको बताए।
‘हालसम्म मधुकर ड्रोन सेन्टरका सञ्चालक उज्जल घिमिरेको सहयोगमा अनुसन्धान हुँदैछ। ब्यक्तिको लगानीमा यो खालको आविश्कार गर्न ठूलो चुनौती हुन्छ। ८ जनाबाट ५ जनामा आइपुग्दा आफूहरूले धेरै समस्या भोगिरहेका छौं’, उनले भने, ‘राज्यले पाटपूर्जा ल्याउन, बनेका सामानको परीक्षण गर्न राज्यले सहयोग गरे युवाहरू विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य हुने थियो’, क्षितिजले सुनाए।
किसानको समय बचत हुनुका साथै १० जनाको काम १ जनाले सुरक्षित तरिकाले सहजैं र कम समयमा सम्पन्न गर्नसकिने उनले दाबी गरे।
कृषिमा क्रान्ति गर्न निस्किएका युवा आज कृषकका समस्या बुझ्न गाउँ गाउँमा निस्किएको भन्दै उनले आगामी दिनमा अझ सुधारेर नयाँ प्रविधिका साथ कृषक माझ आउने बताए।
क्षितिजलाई हौसला दिन उनी पढेको अन्नपूर्ण बोडिङ र पञ्चायत मावीका शिक्षक विद्यार्थीहरू परीक्षणस्थलमा सहभागी जनाएका थिए।