पशुपालनतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले गाई उपलब्ध गराएको छ। नगरपालिकाले वडा नं. १२ का ५० जना किसानलाई लागत साझेदारीमा एक/एक वटा गाई उपलब्ध गराएको हो।
किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन ५० प्रतिशत लागत साझेदारीमा गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो। नगरपालिकाको पशु विकास शाखाका अनुसार संघीय कार्यक्रमअनुसारे लागत साझेदारीमा गाई प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक नगरप्रमुख जगेश्वरी देवी चौधरीले जानकारी दिईन्।
किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा गाई खरिदमा अनुदानको अतिरिक्त पशुबिमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ। वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन्।
सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन्। तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत उपलब्ध गराउँदै आएको छ। उपप्रमुख चौधरीले उपलब्ध गराएका सेवा/सुविधा लिन किसानलाई आग्रह गरिन्।
वडाध्यक्ष सहदेव थारूले आफूहरू सधै किसानको पक्षमा रहेको उल्लेख गर्दै व्यवसायिक पशुपालन गर्न आग्रह गरे। लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्णप्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख गरे।