उद्योगीले उखुको पैसा नदिएको भन्दै उखु किसान फेरी काठमाडौं आएका छन्।
६ वटा उखु मिलबाट करिब ४१ करोड रूपैयाँ लिन बाँकी भएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय यादवले जानकारी दिए।
'हामीले अनुदान र उखुको पैसा गरेर अझै ४१ करोड जति लिनबाँकी छ,' उनले भने, 'तथ्यांक त न हामीलाई सरकारले दिएको छ, न उद्योगीले। किसानले पाउन बाँकी पैसा छलफल गरेर जोड्दा यति निस्क्यो।’
उनका अनुसार अन्नपूर्ण चिनी मिलबाट १२ करोड, इन्दिरा सुगर मिलबाट २ करोड, महालक्ष्मी सुगर मिलबाट ८ करोड, श्रीराम सुगर मिलबाट ३ करोड १४ लाख र लुम्बिनीबाट २ करोड भुक्तानी लिन बाँकी छ।
त्यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको पैसा पनि उद्योगीबाट पाउन नसकेको उनले बताए। अहिले भुक्तानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने र भुक्तानी नभए आन्दोनमा उत्रिने उनको भनाइ छ।
पुरानो बक्यौता सम्पूर्ण चुक्ता भएको र नयाँको बारेमा मन्त्रालयमा कुनै जानकारी नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले जानकारी दिए।