जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ।
जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले स्याउ जोन लागू हुन बाँकी पातारासी गाउँपालिका–१,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णयसमेत गरिएको परियोजना इकाइ कार्यालयले जनाएको छ।
सो परियोजना यसअघि चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको स्याउ सुपरजोन कार्यालयकी प्रमुख गङ्गा पोख्रेलले जानकारी दिइन्।
यसअघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिको थियो।
थोरै जनशक्तिले सुपरजोनमा काम भइरहेको र स्थानीयबासी तथा सम्बन्धित सरोकारवाला कार्यालयमार्फत् काम गर्न आवश्यक रहेको जनाइएको छ।
सिफारिस गरिएका कार्यक्रम स्वीकृत भने केन्द्रले गर्ने कार्यालयको भनाइ छ।
बैठकमा जिसस उपप्रमुख बुढाले कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुँदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकामा थप राम्रो भएको बताए।
लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत चक्लाबन्दी बगैंचा घेरवार सिँचाइ, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ।
क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग हुँदै आएको छ। क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन्। जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य तीन गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ।
१३ बढी लाख राजश्व संकलन
ट्राफिक कार्यालयले सवारी कारबाहीबाट १३ लाख रूपैयाँ बढी राजश्व संकलन गरेको छ।
सो कार्यालयले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत् रु १३ लाख २२ हजार ५० राजश्व संकलन भएको भएको प्रहरी हबल्दार कुशराज शाहीले बताए।
उनले भने,‘आव २०७७/७८ मा एक हजार ३२८ सवारी कारबाहीबाट रु १३ लाख २२ हजार राजश्व सङ्कलन भएको छ। यसमध्ये चालक अनुमतिपत्रबिनै सवारी चलाउने चालकको कारबाहीबाट रु तीन लाख २२ हजार जरिवाना असूली भएको छ।’
क्षमताभन्दा बढी यात्रु राख्ने २५९ सवारीलाई कारबाहीबाट दुई लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी संकलन भएको छ।
गत आवमा २६ सवारी दुर्घटना भएका छन्। यसमा चार जनाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते र ३७ सामान्य घाइते भएका छन्।
पछिल्लो समयमा सवारी साधनको बढ्ने क्रमले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै सवारी चलाउने चालकको सङ्ख्या बढेको छ।
ट्राफिक कार्यालयको गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार लाइसेन्सबिना नै सवारी चलाउने यहाँका ३१९ चालक कारबाहीमा परेका छन्।
तीमध्ये सबभन्दा बढी अटो चालक, मोटरसाइकल र ट्याक्टर, जीप चालक छन्। अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला प्रहरी सहायक निरीक्षक बिमलकुमार रावतले जानकारी दिए। रासस