प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटले रासायनिक मलका लागि ३ अर्ब बजेट थप गरेको छ। ओली सरकारले अध्यादेस मार्फत ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा रासायनिक मलका लागि १२ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो।
नयाँ बजेट अनुसार अर्थले मल किन्नका लागि १५ अर्ब रुपैयाँ छुट्याएर पठाएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरि बहादुर केसीले जानकारी दिए।
‘पहिले १२ अर्ब रुपैयाँ छुट्याइएको थियो, अहिले ३ अर्ब रुपैयाँ थप गरिदिएको छ,’ उनले भने।
वर्षेनी मलको हाहाकार भएपछि सरकारले मलमा बजेट वृद्धि गरेको हो। तर मलका लागि उक्त बजेट भने अपुग देखिन्छ।
खेतिपातीका लागि सरकारी तथ्यांकले वार्षिक ७ लाख मेट्रिक टन मल आवश्यक रहेको देखाउँछ। तर आवश्यकता अनुसार मल आयात हुँदैन। अहिले विनियोजित बजेटले ३ लाख मेट्रिक टन मल ल्याउन सकिने मन्त्रालयको अनुमान छ।