उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन्।
उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्।
उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा ) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनकी प्रेमा गुरूङले जानकारी दिइन्।
अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेंलपुर अवस्थामा रहेको छ।
बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयबासी खेतबारीमै व्यस्त हुने गरेका छन्। उवा भित्र्याउनका लागि गाउँभरिमा एकै साइत कुरेर भित्र्याउने चलन छ।
सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउँमा गहुँ उत्पादन हुने गर्दछ।
अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ। आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ।
हिमालमा धेरै पानी पर्दैन। उवाका लागि पानी आवश्यक हुन्छ। पानी परेपछि यसले धेरै उत्पादन हुन्छ। उवाको रोटी, सातु र अरु परिकार बन्छ।
रोटीको साथै सातु पनि स्थानीयबासीले खानाको रूपमा खान्छन्। सरकारी अनुदानको चामल नियमित नहुँदा उवालाई नै बाँडीचुडी गरेर खाने गरिन्छ।
व्यापारीले पुर्याएको चामल धेरै महँगो हुन्छ। कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरू हुन्छ।
मुख्यबालीका रूपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो। आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वशासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन्।
हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयबासी ई गुरूङले बताए।
उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन। स्थानीय बजारमा प्रति क्विन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैं पाउन गाह्रो छ।
अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरूङले बताए। पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ।