रूपन्देहीलगायत क्षेत्रमा पाकेर काट्न ठिक्क पारेका धानलाई पानीले क्षति पुर्याएको छ।
दसैँ मनाएर धान काट्ने तयारी गरेका किसानहरू हावाहुरीसहित पानी परेपछि चिन्तामा छन्।
कतै धान काटिसकेर सुकाइएको थियो भने कतै धान काट्ने तयारी चल्दै थियो। तर आइतबारदेखि निरन्तर परेको पानीले धानमा क्षति पुर्याएपछि किसानहरू मर्माहत छन्।
हावाहुरीले धान खेतमै ढलेको छ। धान पाकेर पहेँलै देखिएका फाँटहरू बाढी पसेर जलमग्न भएका छन्।
छिटो पाक्ने धान राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धान किसानले काटिसकेका थिए।
रुपन्देहीको तिलोत्तमा, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटहीमाई, गैंडहवा, लुम्बिनी, मायादेवी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्।
गैंडहवाका सन्दिप गुप्ताले हावाहुरी र पानीले धानमा क्षति पुगेको बताए। उनले धान भित्र्याउन नपाइएको बताए।
यसपालि धान रोप्ने बेला समयमै पानी परेकोले धेरै उत्पादन हुने किसानहरूको आशा थियो।
अर्का किसान तिलोत्तमाका सागर पाण्डेले एक बर्षको मेहनत दुई दिनको पानीले खत्तम गरिदिएको बताए।
ओमसतिया ५ तरैनिका गजेन्द्र चौधरीले दुईदिन अघिसम्म लहलह झुलेको धान बर्षाले नष्ट गरिदिएपछि मर्माहत बनाएको बताए। पानीले भिजाएको धान केही दिनमा उम्रिन्छ।
पानीले अधिकांश किसानको धान खेती नष्ट गरिदिएको गजेन्द्रको भनाइ छ।
रुपन्देहीको देवदहका रामचन्द्र सारुले दसैंपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउँदै पानीले डुबाएको बताए।
‘पाँच कट्ठा खेतको धान काटिसकेको थियो, अरु पाकेर काट्न तयार थियो। काटेको र काट्न बाँकी रहेको धान पानीले नष्ट गरिदियो,’ उनले भने।
दाङमा पनि क्षति:
आइतबारदेखिको अविरल बर्षाका कारण दाङका विभिन्न फाँटमा पाकेको धानबालीमा क्षति पुगेको छ।
काटेर भित्र्याउने तयारी अवस्थाको धान पानीमा डुबेपछि किसान चिन्तित छन् । केही ठाउँमा काटेको धानबाली बाढीले बगाएको छ।
जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले अविरल बर्षाका कारण काटेको धानबालीमा ठूलो नोक्सानी पुगेको बताए। तर क्षतिको विवरण भने सार्वजनिक भइ नसकेको उनले जानकारी दिए।
‘हामीले दशवटै पालिकाका कृषि इकाइहरुमा सूचना संकलन गर्न आग्रह गरेका छौं,’ पौडेलले भने, ‘अहिलेसम्म बर्षा जारी छ र क्षतिको विवरण कतैबाट पनि आइसकेको छैन।’
केन्द्रका सूचना अधिकारी पौडेलले यो बर्ष दाङमा ३९ हजार हेक्टरमा धान खेति भएको जानकारी दिए।
‘अहिलेसम्म किसानले झन्डै २० प्रतिशत धान काटेको अनुमान छ,’ पौडेलले भने, ‘कोटेको धानबालीमा ठूलो क्षति पुग्ने देखिएको छ।’