दाङमा कात्तिके झरीले भित्र्याउनका लागि काटेको धान बालीमा ३० प्रतिशत क्षति पुगेको छ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्र पौडेलले जिल्लाका दश पालिकाबाट संकलित सूचना अनुसार काटेको धानमा ३० प्रतिशत क्षति भएको विवरण दिएका हुन्।
दाङमा ३९ हजार हेक्टरमा यो वर्ष धान खेती भएकोमा झन्डै ३४ सय हेक्टर किसानले काटेको धान वर्षाको कारण डुबानमा परेको छ।
त्यस्तै, डुबानमा परेको, बगेको र ढलेको समेत गरी ४३ सय हेक्टरमा क्षति पुगेको पौडेलले जानकारी दिए। त्यसमध्ये सुरक्षित रूपमा हार्बेस्टिङ गरेको दस हजार हेक्टरमा क्षति पुगेको पौडेलले बताए।
जिल्लाका दस पालिकामध्ये बबई गाउँपालिकको विवरण राम्रोसँग नआइ पुगेको भए पनि राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा स्थानीय खोलामा आएको बाढीले करिब अढाई सय हेक्टरको काटेको धान बगाएको पौडेलले बताए।
‘राप्ती गाउँपालिकाको राप्ती नदीको तटीय क्षेत्र मसुरीया क्षेत्रमा एक सय हेक्टर बढी र बबई नदीको तटीय क्षेत्र दंगीशरणमा डेढ सय हेक्टर गरी साढे दुई सय हेक्टर क्षेत्रफलको काटेको धानबाली बगाएर बाढीले लगेको छ,’ पौडेलले भने।
घोराही उपमहानगरपालिकाभित्र मात्रै झन्डै ६ सय हेक्टर धानबालीमा क्षति पुगेको छ। पौडेलका अनुसार ढिकपुर, कर्मटिया जस्ता ठाउँमा बाढीले झन्डै २५ विघा क्षेत्रफल जतिमा काटेको धान बगाएको छ।
तुलसीपुर उपमहानगरपालिकाभित्र कूल तीन सय ५० हेक्टरमा खेती भएकोमध्ये बबई तटीय क्षेत्रजस्तै तुलसीपुर ११, १२ र १३ मा बढी क्षति भएको पौडेलले जानकारी दिए।
तुलसीपुरका ती ठाउँमा काटेको धान समेत बाढीले बगाएर लगेको उनले बताए।