आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका सबैजसो स्थानमा बाढी-पहिरो र डुबानको समस्या निम्तिएको छ।
मनसुन सकिएको भन्दै चाडपर्व मनाएर खेती स्याहार्न कस्सिएका किसानलाई अहिलेको वर्षाले सबभन्दा बढी मारमा पारेको छ।
वर्षभरि परिवारको पेट पाल्ने धान खेती पाकेर स्याहार्न नपाउँदै बेमौसमी वर्षाले सबै नष्ट गरिदिएपछि किसानलाई वर्षभरि के खाने भन्ने चिन्ताले सताउन थालेको छ।
विगतका वर्षभन्दा यसवर्ष समयमै मनसुन सुरू भएको र बीउ र मलको समेत खासै अभाव नभएपछि किसानहरू धान उत्पादन बढ्ने आशामा थिए। तराईका खेतका फाटमा लहलह झुलेका धानका बाला देख्दा उत्पादन बढ्ने सबैले अनुमान गरेका थिए। तर चारदिनदेखि लगातार परेको भारी वर्षाले किसानहरूको सबै सपना चकनाचुर पारिदिएको छ।
देशका अधिकांश स्थानमा अहिलेको पानीले क्षति पुर्याएको छ। लुम्बिनी प्रदेशमा पनि सबै जिल्लामा धान खेती नष्ट भएको छ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाको ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर भित्र्याउन तयार पारेको धानबाली पूर्णरूपमा नष्ट भएको छ।
प्रदेशका १२ वटै जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा यसवर्ष ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धानखेती गरिएको थियो। जसमध्ये भित्र्याउन बाँकी रहेको र खेतमा काटेर छोडिएको ९३ हजार ५ सय ७६ हेक्टर खेतको धानबाली नष्ट भएको छ।
निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार ५५ हजार ५४ हेक्टर क्षेत्रको धानबाली भने किसानले पानी नपर्दै भित्र्याइसकेकोले जोगिएको छ। भित्र्याउन बाँकी रहेकोमध्ये काट्न बाँकी रहेको भन्दा काटेर खेतमा छोडिएको धान धेरै नष्ट भएको छ।
निर्देशनालयले संकलन गरेको विवरण अनुसार सबभन्दा बढी कपिलवस्तुमा ३५ हजार ४ सय ६३ हेक्टर जमिनको धान नष्ट भएको छ। काटेर राखिएको ८ हजार ८ हेक्टर र काट्न बाँकी रहेको २७ हजार ४ सय ५५ हेक्टरको धानमा क्षति पुगेको निर्देशनालयले जनाएको छ।
त्यस्तै, रूपन्देहीमा २४ हजार हेक्टरभन्दा बढी खेतमा लगाइएको धान पानीले नष्ट बनाएको छ। जिल्लाको ३ हजार ४ सय ६८ हेक्टर जमिनमा काटेर राखिएको र काट्न बाँकी रहेको २० हजार ७ सय ९३ हेक्टरको धानबाली सबै डुबानले सोत्तर बनेको छ।
दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा नोक्सानी पुर्याएको छ। काट्न बाँकी ४ हजार ३ सय हेक्टर जमिनको धान वर्षाले ढालेर क्षति पुगेको छ। दाङमा वर्षाअघि १० हजार हेक्टर जमिनको धान भित्र्याइएको छ।
बर्दियामा काटेर खेतमा रहेको १० हजार हेक्टर र काट्न बाँकी रहेको २५ हजार २ सय हेक्टरको धान ढलेर नष्ट भएको छ। बर्दियामा १५ हजार २० हेक्टरको धान मात्र भित्र्याइएको थियो।
निर्देशनालयका अनुसार बर्दियामा ७३ हेक्टर क्षेत्रमा लगाइएको केराका बोट वर्षाले ढालेको छ। बाँकेमा ७ हजार ५ सय हेक्टरको काटेर खेतमा राखिएको र काट्न बाँकी रहेको १० हजार हेक्टरको धान वर्षाले नष्ट गरेको छ।
निर्देशनालयका अनुसार प्युठानमा ३ हजार ७ हेक्टरमा काटिएको र काट्न बाँकी रहेको ७ सय ८८ हेक्टर खेतको धान ढलेर नष्ट भएको छ।
प्रदेशको पश्चिम नवलपरासीमा ४ हजार १ सय हेक्टरमा काट्न बाँकी रहेको धान सबै ढालिदिएको छ।
नवलपरासीमा ४ सय १० हेक्टर खेतको धान काटेर खेतमै छोडिएको थियो।
अहिलेको पानीले रूकुममा पूर्वमा ४ सय १२, गुल्मीमा ६ सय ५८, पाल्पामा ५ सय ३५ हेक्टर खेतको धान नष्ट भएको छ। यस्तै, रोल्पामा मकै र तरकारी बालीमा वर्षाले क्षति पुर्याएको छ।
निर्देशनालयका अनुसार पहाडी जिल्लामा लगाइएको मकै, तथा स्याउ खेतीमा पनि पानीले क्षति पुर्याएको छ।
अहिले पनि प्रदेशका अधिकांश भागमा भारी वर्षा भइरहेकाले खेतीमा हुनसक्ने क्षति बढ्न सक्ने निर्देशनालयले जनाएको छ।
‘अहिले पनि पानी परिरहेको छ, वर्षा कहिलेसम्म भइरहन्छ र त्यसको प्रभाव कुन तहसम्म पुग्छ केही आकलन गर्न सकिएको छैन, क्षति बढ्न भने सक्छ,’ उनले भने।
निर्देशनालयका अनुसार प्रदेशमा प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिकटन धान उत्पादन हुने गरेको थियो।
काट्न बाँकी रहेको धान डुबान बन्द भएपछि केही भए पनि स्याहार्न मिले पनि काटेर छोडेको धान भने धेरै नष्ट भएको देवकोटाले बताए।
काट्न बाँकी रहेकोमध्ये ५७ प्रतिशत धानबालीमा क्षति पुगेको देवकोटाले बताए।
बाँकी ४३ प्रतिशत धानबाली भने मौसम सुधार भएपछि भित्र्याउन सकिने देवकोटाले दाबी गरे। तर किसानका खेतको अवस्थालाई हेर्दा भने पोटाइसकेको धानको बाला पानीमा डुबेपछि पानी सुक्दासम्म खेतमै कुहिन सक्ने देखिएको छ।
पश्चिम तराईका अधिकांश खेतमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ।
दसैंअगाडि थोरैमात्र धान स्याहारेका किसानले दसैं मनाएसँगै धान काट्न सुरू गरेका थिए।
निर्देशनालयले भने काटेर खेतमै क्षति भएको किसानलाई मात्र आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल सुरू गरेको छ।
प्रदेश तथा संघीय मन्त्रालयसँग छलफल भइरहेको प्रमुख देवकोटाले बताए।