खेतमा पाकेर पहेलपुर देखिन थालेको पूर्वी तराईका किसानको धान सोमबार रातिको वर्षाले सखाप बनाइदिएको छ।
पूर्वी तराईका झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा यतिबेला धान पाकेर खेत पहेलपुर बनेका थिए।
पाकेको धान काटेर पाँजा लगाउन तम्तयार रहेका किसान हावाहुरीसहित एकै रातको वर्षाले धान नष्ट गरिदिएपछि मर्माहत बनेका छन्।
पानी अझै पूर्ण रूपमा रोकिएको छैन। हावासहित परेको पानीले धानका बोट भाँचेर पानीमा बाला डुबेका छन्।
वर्षभरिको जोहो टार्ने भन्दै खेती लगाएका किसानको खेतमा पाकेको धान ढलेर सोत्तर नै बनेको छ। झापाका अधिकांश स्थानमा धान पाकिसकेको थियो। कतिपय किसानले धान काटेर खेतमै सुकाएको अवस्थामा पानी परेर धानको बाला डुबाएको छ।
धान उत्पादनको हिसाबले पकेट क्षेत्रका रूपमा चिनिएको शिवसताक्षी नगरपालिकाका अधिकांश क्षेत्रमा पाकिसकेको धान पानीले नोक्सान गरिदिएको किसानले बताएका छन्। अघिल्लो दिन धान पाकेर पहेलै देखिएका खेतका फाँटहरू अहिले पानीले डुबेका छन्।
झापाका मेचीनगर, विर्तामोड, झापा, कन्काई, गौरीगञ्ज, गौरादह, हल्दीबारी, कचनकवल लगायतका क्षेत्रमा सोमबार रातिदेखि बेस्सरी पानी परेको छ। खेतका गरामा सुकाउन लगाइएको धानको पाजा पानीले चुर्लुम्मै डुबाएपछि किसानहरूको हात मंगलबार बिहानदेखि पुर्पुरोमा पुगेको छ।
शिवसताक्षी नगरको शिवगञ्ज, पाँचगाछी, मंगलबारे, पाराबारी लगायतका सबैजसो क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरूले बताएका छन्।
रामबहादुर दाहालले हावासहित परेको पानीले काटेर खेतमा सुकाएको धान नष्ट भएको बताए। ‘धानको बाला अब दुई दिनसम्म पानीमा डुब्ने हो भने कुहिन थाल्छ,’ उनले सेतोपाटीसँग भने।
यसपालि समयमा मनसुन सुरू भएर समयमै धान रोपे पनि काट्ने बेलाको पानीले किसानको एक वर्षको मेहनत सबै खेर गएको उनले बताए। अघिल्लो दिनसम्म लहलह झुलेको धान एकै रातको वर्षाले नष्ट गरिदिएपछि अधिकांश किसान मर्माहत बनेका छन्।
´पानीले खत्तम बनाइदियो, उत्पादन बढ्ला भनेर खुसी भएको बेला पाकेको धानखेती सबै डुबेको छ, पानी सुक्दा खेतमै झरेर उम्रिसक्छ,’ किसानका दुःख सुनाउँदै शिवगञ्जका राम रायले भने।
शिवसताक्षीका रामबहादुर न्यौपानेले दसैंपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउँदै पानीले डुबाएको बताए।
‘पाँच कट्ठा खेतको धान काटिसकेको थियो, अरु पाकेर काट्न तयार थियो, काटेको र काट्न बाँकी रहेको दुबै धान पानीले नष्ट गरिदियो,´ न्यौपानेले भने।
झापामा राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, सावित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको रोपाइँ हुने गरेको छ। शिवसताक्षी नगरपालिकाको कृषि शाखाका अनुसार यी धान चाँडै पाक्छन्।