कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ। देशभरका किसान अहिले चिन्तित अवस्थामा छन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा लुम्बिनी, सुदुरपश्चिम र प्रदेश–१ बाट धानबालीमा पुर्याएको क्षतिको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए। अन्य प्रदेशबाट भने विवरण आउन बाँकी छ।
‘हामीले सातैवटा प्रदेशमा विवरण संकलनका लागि टोलि खटाएका छौं,’ उनले भने, ‘अब केही दिनमै आउँछ होला।’
तीनवटा प्रदेशमा मात्रै ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट ७ अर्ब २२ करोड रूपैयाँ नोक्सान भएको प्रवक्ता सञ्जेलले जानकारी दिए।
अझै चारवटा प्रदेशबाट क्षतिको विवरण नआएकाले यतिनै हेक्टर क्षेत्रफलमा क्षति पुग्यो भन्न नसकिने उनको भनाइ छ।
मन्त्रालयले पठाएको तीनवटा प्रदेशको तथ्यांक हेर्दा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ।
उक्त प्रदेशमा १ लाख ३० हजार ५६ हेक्टरको धानबाली क्षति भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ। विशेषगरी पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान र रोल्पा बढी प्रभावित भएका छन्।
ती जिल्लाहरूमा तीन लाख नौ हजार एक सय १० हेक्टर क्षेत्रफलमध्ये १ लाख ३० हजार ५६ हेक्टरको धानबाली क्षतिग्रस्त भएको छ। त्यस्तै, पाल्पाको ८ हजार १९० हेक्टरमध्ये ५३५ हेक्टरको धानबाली क्षतिग्रस्त छ। यस्तै, गुल्मीको १० हजार २४६ हेक्टरमा ६ सय ५८ हेक्टरमा क्षति, कपिलवस्तुको ६४ हजार ३५० हेक्टरमधये ३५ हजार ४६३ हेक्टरको बाली नष्ट भएको छ।
सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल प्रसाद बोहराका अनुसार कैलाली र कञ्चनपुरमा मात्रै २० देखि ३० प्रतिशत धानबालीमा क्षति पुर्याएको छ। पहाडि जिल्लाबाट भने तथ्यांक आउन बाँकी रहेको उनले जानकारी दिए।
सो प्रदेशमा करिब दुई लाख हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। त्यसमध्ये कैलाली र कञ्चनपुरमा मात्रै एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान लगाइन्छ। कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकोमा वर्षाले क्षति पुगेपछि आधाले कमी हुने आँकलन गरिएको छ।
कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र मानिए पनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पुर्याएको छ।
प्रदेश–१ को कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सरसस्वती श्रेष्ठले धान लगाइएको कुल क्षेत्रफल मध्ये ४९ हजार ९ सय ४४ हेक्टर क्षेत्रफल अविरल पानीले प्रभावित रहेको बताइन्। उक्त प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला बढी प्रभावित छन्।
उनका अनुसार यसवर्ष प्रदेश–१ मा तीन लाख ३६ हजार नौ सय ४४ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।
‘कति धान लडेको छ। त्यसलाई उठाएर जोगाउन सकिन्छ,’ उनले भनिन्, ‘प्रभावित मध्ये १ देखि ३ प्रतिशत बाली चाहिँ पुरै क्षति हुने देखिएको छ।’
कुन जिल्लामा कति क्षति भयो भनेर तथ्यांक मगाइएको उनले जानकारी दिएकी छिन्।
प्रदेश–२ का धान लगाइएको कुल क्षेत्रफल मध्ये ५ देखि ६ प्रतिशत क्षेत्र बढी प्रभावित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिए।
उक्त प्रदेशमा ४ लाख ३ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। सबैभन्दा बढी सप्तरीमा क्षति भएको छ।
बाग्मति प्रदेशमा प्रारम्भिक तथ्यांक अनुसार ४ हजार हेक्टर क्षेत्रफलमा क्षति भएको प्रदेशको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाले जानकारी दिए।
उक्त प्रदेशमा एक लाख ४२ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। सबै जिल्लाबाट तथ्यांक प्राप्त नभएकोले यकिन तथ्यांक भने आउन बाँकी रहेको उनले बताए।
कृषि विकास निर्देशनालयकी कृषि विज्ञ शशि अधिकारीका अनुसार गण्डकी प्रदेशमा धान लगाइएको कुल क्षेत्रफलको ३ प्रतिशत पूर्ण क्षति भएको छ।
गण्डकी प्रदेशमा एक लाख १७ हजार एक सय ३५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। त्यसमध्ये दुई हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको कृषि विज्ञ अधिकारीले जानकारी दिइन्।
त्यस्तै, ७ हजार ८ सय २१ हेक्टर क्षेत्रफलमा भने आंशिक क्षति भएको छ। गण्डकी प्रदेशका सबैभन्दा बढी कास्की र पर्वत जिल्ला प्रभावित छन्।
कर्णाली प्रदेशमा १२ हजार ६ सय ४८ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको उक्त प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायाले जानकारी दिए।
सो प्रदेशमा कुल ४८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका धान लगाइएको थियो। जुम्लामा १८ हेक्टर क्षेत्रफलमा लगाएको धान सबै बाढीले बगाएको उनले बताए।
त्यस्तै, सुर्खेत, दैलेख, कालिकोट, मुगु लगायतका जिल्लामा पानीबाट प्रभावित छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।
कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदा २८ प्रतिशत छ। त्यसमध्ये धानको मात्रै १० प्रतिशत छ। धानमा भएको क्षतिले कुल ग्राहस्थ उत्पादनको योगदान घट्ने देखिन्छ।
पानीमा डुबेका धानलाई बाहिर निकालेर स्टिम राइस, चिउरा बनाएर क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ।