६ वर्षअघि भरतपुर-८ का ज्ञानहरि कँडेलले खेतमा कागतीका बेर्ना सार्दा छिमेकी खिसी टिउरी गर्थे। ज्ञानहरिले खेतमा काँडा रोपेर 'रमिता देखाउन थाले' भनेर कुरा काट्थे।
करिब दस कट्ठा जमिनमा मौसमी तरकारी र अन्न बाली लगाउने गरेका उनले एक्कासी गाउँमा कसैले नगरेको कागती खेती सुरू गर्दा छरछिमेकमा अचम्मको विषय बनेको थियो।
६ वर्षपछि ज्ञानहरिले गरेको कागती खेतीबाट भएको प्रगतिले स्थानीय दंगै परेका छन्।
त्यतिखेर खिसी टिउरी गर्ने छिमेकी अहिले त्यसका लागि लज्जित त छँदैछन्, ज्ञानहरिको सिको गर्दै आफ्नो खेतीलाई पनि व्यावसायिक बनाउनमा तल्लिन छन्।
४२ वर्षीय ज्ञानहरि पहिले निर्माण सामग्रीको व्यवसाय गर्थे। त्यो सफल हुन सकेन। प्रायः साथीभाइ वैदेशिक रोजगारीमा थिए, उनलाई पनि विदेशिने चाहना भयो।
‘आफूले गरेको व्यवसाय सफल भएन, साथीहरू पनि नजिक नहुँदा एक्लोपनको महसुस हुन थाल्यो,’ उनले भने, ‘बरू विदेशै जाउँ किझैं भयो।’
वैदेशिक रोजगारीको विषयमा सोच्दै गर्दा सामुन्ने रहेको टेलिभिजन सेटमा बजिरहेको व्यावसायिक खेतीसम्बन्धी कार्यक्रमले उनको ध्यान तान्यो।
‘नेपालमै पनि कृषिमा अनेक गर्न सकिँदो रहेछ, एउटा काममा असफल हुँदैमा हरेस खान नहुने रहेछ भन्ने लाग्यो,’ ज्ञानहरिले सुनाए, ‘त्यही दिनबाट मेरो जीवनको नयाँ अध्याय सुरू भयो।’
पूर्व-पश्चिम राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणतर्फ घरसँगै जोडिएको जमिनमा व्यावसायिक कृषि सुरू गर्ने उद्देश्यले बुझ्दै जाँदा उनले कागती खेतीको विषयमा जानकारी पाए। चितवनमा पनि कागती खेतीको सम्भावना रहेको बुझेपछि उनी यससम्बन्धी तालिममा सहभागी भए।
जनकपुरमा भएको एउटा तालिममा उनी सहभागी मध्येबाटै उत्कृष्ट बने। आयोजकले उनलाई ‘रंगपुर’ जातको कागतीको बिरूवा उपहार दियो। त्यो ल्याएर बारीको एउटा छेउमा रोपे। बाँकी जमिनमा त्यसअघि नै ‘सुन कागती’का एक सय वटा बेर्ना किनेर रोपिसकेका थिए। यो सब गर्न उनले ५० हजार रुपैयाँ खर्च गरेका थिए। रोपेको तीन वर्षपछि कागतीको उत्पादन सुरू भयो। तीन वर्षयता ज्ञानहरिको कमाइको स्रोत नै यही कागती बनिरहेको छ।
झट्ट हेर्दा साना-साना बुटा भए पनि त्यसमा लटरम्म कागती फलेका छन्। ती बोटबाट दैनिक ३० किलोसम्म कागती संकलन गरेर बिक्री गर्ने गरेको उनले बताए।
‘अहिले एक किलो कागतीको १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। किन्नेहरू घरैमा आइपुग्छन्, बजारको चिन्ता छैन,’ उनी भन्छन्।
कोरोना महामारीको समयमा उनले प्रतिकिलो ४५० रुपैयाँसम्ममा कागती बेचेका थिए। भिटामिन सी प्राप्त हुने, रोग प्रतिरोधी क्षमता बढाउने भएकाले महामारी बढ्दा कागतीको माग विशेष थियो।
ज्ञानहरिलाई कागती टिप्दा पैसा टिपेझैं लाग्छ। बाह्रै महिना उत्पादन दिने कागतीबाट हाल उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी लिइरहेका छन्। केही बोटले अझै उत्पादन दिन सुरू गरेका छैनन्। आगामी वर्ष सबै बोटले उत्पादन दिन थाले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनी बताउँछन्।
आफूले दिनरात मेहनत गरेर फलाएको फलबाट मनग्य आम्दानी हुँदा उनमा खुसीको सीमा छैन। व्यवसाय सुरू गर्दैगर्दा छिमेकीले गरेका खिसी टिउरीको बेवास्ता गर्दै काम गर्दा पाएको उपलब्धिबाट उनी गद्गगद् हुन्छन्।
उपहार पाएर रोपेको रंगपुर बिरूवाले पनि तीन वर्षदेखि उत्पादन दिइरहेको छ। ‘सर्वत पानी’ बनाउन उपयुक्त मानिने ठूलो आकारको यो कागती यस वर्ष बोटैलाई धान्न हम्मे हुनेगरी फलेको छ।
‘यो बोटलेमात्रै लगभग ३० हजार रुपैयाँ आम्दानी दिइसक्यो,’ उनले सुनाए, ‘यसको विशेषता थाहा पाएपछि धेरै मान्छे बीउ लिन आउने गरेका छन्। म पनि यसलाई बिस्तार गर्ने सोचमा छु।’
कागती खेती सफल भएपछि यसको क्षेत्र बिस्तार गर्दै निबुवा र सयपत्री फूलको खेती सुरू गर्ने तयारीमा ज्ञानहरि छन्। त्यसपछि कागती र निबुवाबाट अचार, जाम र सर्वत बनाएर बिक्री गर्ने सोच उनले बनाएका छन्। कृषिजन्य उत्पादनको कारोबारका लागि कुटो कोदालो कृषि बारी नामको व्यवसाय दर्ता गरेका छन् उनले।
कुटो कोदालो कृषि बारीको अवलोकन गर्न देशका विभिन्न ठाउँबाट किसानदेखि विज्ञसम्म आउने गरेका छन्। हरेक दिनजसो हुने अवलोकनले कागती खेती गरिएको ठाउँ अनुसन्धान केन्द्रजस्तो देखिन्छ।
उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले दह्रो साथ दिएका छन्। २ छोरा र श्रीमतीको साथले खेतीलाई व्यवसायिक बनाउन सघाएको ज्ञानहरि बताउँछन्।
‘पहिले कांक्रा, करेला, लौका, मकैलगायतको खेती गर्दा पनि परिवारको साथ थियो तर त्यसबाट दुःखअनुसारको आम्दानी थिएन,’ उनले भने, ‘तर कागती खेतीमा अन्य खेतीमा जस्तो दुःख नहुने, आम्दानी भने राम्रो हुने रहेछ।’
श्रीमती लक्ष्मी कँडेल कागती खेती सुरू गर्दा गतिलो हुँदैन कि भन्ने चिन्ता लागे पनि बिस्तारै सन्तुष्ट हुन थालेको बताउँछिन्।
‘सुरूमा के होला, कस्तो होला जस्तो लागेको थियो, परिश्रम यसै खेर जाने हो कि भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘अहिले सफल हुँदा खुसी लागेको छ। परिवारले गरेको मेहनतले सार्थकता पाएको छ।’
६३ वर्षीय शोभाखर कँडेल स्थानीय शितल कृषक समूहका अध्यक्ष हुन्, ज्ञानहरि उपाध्यक्ष। ज्ञानहरिले तरकारी लगाउन छाडेर खेतभर कागतीको बेर्ना रोप्दा शोभाखर भन्थे, ‘ज्ञानहरिले खेतमा काँडा रोपेर बुद्धि बिगार्यो।’
‘यस्तो काम गरेर पनि प्रगति होला र? किन बुद्धि बिगार्योझैं लाग्थ्यो,’ शोभाखरले भने, ‘घरैमा गएर किन यस्तो काम गरिस् भन्थें। तर अहिले मनबाटै लाग्यो भने के हुदो रहेनछ र भन्ने लाग्न थाल्यो।’
उनले ज्ञानहरिले गाउँभरका किसानमा लोभलाग्दो प्रगति गरिरहेको बताए।
‘उसले गरेको कामबाट हाम्रो टोलको सान बढेको छ, टाढा-टाढाका मान्छेहरू यहाँको खेती हेर्न आउने गरेका छन्,’ शोभाखर भन्छन्, ‘हामी पनि उसको सिको गरेर पच्छ्याउँदै छौं।’
ज्ञानहरिले गरेको प्रगति देखेर गाउँमा अन्यले पनि व्यावसायिक कृषि सुरू गरेका छन्। गाउँमा खेत प्रशस्त हुनेले व्यावसायिक खेती गरे पनि कम जमिन हुनेले पनि करेसाबारीमा आफूलाई पुग्ने तरकारी र फलफूलका बिरुवा रोप्ने अभियान थालनी भएको शोभाखरले बताए।
‘व्यावसायिक खेती गर्न नसक्नेले पनि सकेसम्म घरका लागि आवश्यक तरकारी आफैंले उत्पादन गरौं भन्ने अभियान नै सुरू भएको छ,’ उनले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्न थालेका छौं। यसले सबैलाई उत्साहित बनाएको छ।’