कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले चार लाख वटा माला बराबरको सयपत्री क्षति भएको छ। उक्त माला प्रतिगोटा औसत ५० रूपैयाँका दरले बिक्री हुँदा दुई करोड मूल्य बराबरको क्षति पुगेको फ्लोरिकल्चर एसोसियसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए।
किसानले तिहारलाई फूल टिपेर पछि पनि त्यही बोटबाट उत्पादन लिन सक्थे। बेमौसमी बर्षाले बोट-बिरूवा नै बगाएर लगेपछि किसानले ठूलो नोक्सानी बेर्होनु परेको पोखरेल बताउँछन्।
‘तिहारपछि पनि त्यही बोटबाट दुइटा माला बन्ने फूल उत्पादन हुन्थ्यो। वर्षाले सबै सखाप पार्यो,’ उनले भने।
पोखरेलका अनुसार बेमासौमी वर्षाले सबभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुर्याएको छ। उक्त प्रदेशमा उत्पादित ७० प्रतिशत फूलमा क्षति पुगेको छ।
लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउँथ्यो। त्यस्तै, बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ। अन्य जिल्लामा भने न्यून क्षति भएको उनले बताए।
तिहार तथा छठ पर्व लक्षित गरी उत्पादन गरिएको फूल क्षति हुँदा तिहारलाई सयपत्रीको माला अपुग हुने उनको भनाइ छ। तिहारका लागि सयपत्री पहिलेदेखि नै आयात हुँदै आएको छ। यस वर्ष क्षति भएकाले थप आयात गर्नुपर्ने देखिन्छ।
‘गोदावरी र मखमली आन्तरिक उत्पादनले नै पुग्छ। साढे दुई लाख वटा सयपत्री आयात गर्नुपर्छ,’ उनले भने।
तिहारमा सयपत्री, गोदावरी र मखमली गरी १८ लाख बढी मालाको माग छ। जसमा सयपत्री १५ लाख ५० हजार, गोदावरी १५ हजार र मखमली ३ लाख हुन्छ।
तिहारका लागि सयपत्रीका १३ लाख ५० हजार वटा माला आन्तरिक उत्पादनले धान्दै आएको छ भने २ लाख माला छिमेकी मुलुक भारतबाट आयात हुन्छ। यस वर्ष भने थप ५० हजार वटा माला आयात गर्नुपर्ने उनले बताए।
सयपत्रीको व्यवसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, सर्लाही, सिराहा, रूपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा हुँदै आएको एसोसिएसनले जानकारी दिएको छ।
मखमलीको व्यवसायिक उत्पादन काठमाडौं उपत्यकका इचंगुनारायण, गुण्डु, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा हुँदै आएको छ। यस वर्ष माला प्रतिगोटा ८० देखि ९० रूपैयाँ पुग्ने पोखरेलले बताए।
‘प्रतिगोटा ५० देखि ६० रूपैयाँ थोक मूल्य नै छ। त्यसमा २० देखि २५ प्रतिशत नाफा राख्दा ८० देखि ९० रूपैयाँसम्म पर्न सक्छ,’ उनले भने।
सयपत्री आयात गरिए पनि तिहारमा मखमली भने निर्यात हुँदै आएको छ। नेपालीहरू बस्ने अष्ट्रेलिया, युरोप लगायत खाडीका केही देशमा एक लाख माला निर्यात हुने उनले जानकारी दिए।
पछिल्लो समय कोरानाका कारण बर्सेनि फूलको कारोबार घट्दै गएको एसोसिएसनले बताएको छ। कोरोनाअघिको सामान्य अवस्थामा आव ०७५/०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो।
०७६/०७७ मा कोभिडका कारण २ अर्ब १५ करोड रूपैयाँको कारोबारमा सीमित भयो। ०७७/७८ मा वर्षभरी निषेधाज्ञाले गर्दा झनै कमी आई १ अर्ब ६३ करोडको कारोबार भएको छ।
१४ औं गोदावरी पुष्प मेला हुँदैः
ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी पुष्प मेला हुने भएको छ। फूल प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको हो। कृषि विभाग र फ्लोरिकल्चर एसोसिएसनको संयुक्त आयोजनामा उक्त मेला हुने भएको छ।
नजिकिएको तिहार तथा छठ लक्षित गरी हुने मेलामा विभिन्न प्रजातिका फूल तथा बिरूवा प्रदर्शनी र बिक्रीवितरण गरिने एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए।
उनका अनुसार ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने अभियानका साथ हुने प्रदर्शनीमा व्यावसायिक ४४ र सूचनामूलक चार गरी ४८ वटा स्टल रहने छन्।
मेलामा १६ लाख खर्च हुने अनुमान गरिएको छ। मेला सञ्चालनका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार लाख सहयोग गर्ने अध्यक्ष तामाङले जानकारी दिए।
त्यस्तै ८ लाख रूपैयाँ स्टल भाडाबाट आउने छ। मेला हेर्न जान विद्यार्थीलाई ५० रूपैयाँ र अन्यलाई एक सय रूपैयाँ शुल्क तोकिएको छ। मेलामा अनावश्यक भीड नियन्त्रण गर्न शूल्क तोकिएको आयोजकले जनाएको छ।
पुष्प व्यवसायीहरू प्रतिस्पर्धाका लागि आवश्यक पर्ने फूल-बिरूवा कोभिडले तयारी गर्न नसकेका कारण यस वर्ष गोदावरीको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी भने नहुने भएको छ।
मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद तथा प्रमाणपत्र दिइने आयोजकले बताएको छ। मेलामा ३५ हजार बढीको अवलोकनबाट ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
मेलाले पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने आयोजकले विश्वास लिएको छ।
मेला कात्तिक १२ देखि १५ गतेसम्म चल्ने छ।