बेमौसमी बाढीले दिएको सास्ती
सबैतिर धान रोप्ने चटारो हुँदा मोरङ, जहदा क्षेत्रका धेरै किसान पानी कम भएको रनाहामा थिए। जब धान भित्र्याउने बेला भयो, बेमौसमी झरीले निम्त्याएको बाढीले धान सखाप पारिदियो।
अब वर्षभर के खाने? पीडाको रनाहा फेरि दोहोरियो।
‘अबको केही दिनमा मनका मन (तराईमा ४० किलोग्रामलाई एक मन भन्ने चलन छ) धान खलियानबाट भित्र्याइन्थ्यो,’ मोरङ, जहदा-२ का किसान दिनेश्वर साह भन्दै थिए, ‘यसपटक एक-एक मुठी जम्मा गर्न पनि दु:ख छ।’
उनको ६ बिघाको धानखेतमा सिघिंया खोलाको लेदोसहितको बाढी पस्यो। डुबेको बालीबाट बीउ जोगाउने धान निकाल्न पनि मुस्किल भयो।
किसानका अनुसार धानको धेरैजसो भाग बाढीले पुर्यो। बाँकी रहेको बाली खेतैमा उम्रिएर भुर्कुट। जोगिएको धान भिजेर उम्रन थालेपछि खान पुग्ने धान संकलन गर्न गाह्रो भयो।
दिनेश्वर आफैं अघिल्ला वर्षहरूमा डेढ–दुई सय मन धान बेच्थे। त्यसबाट प्राप्त खर्चले परिवार चलाउने, नानीहरू पढाउने, औषधि उपचार गर्ने सबै खर्चबर्च जोहो हुन्थ्यो। खेतीपातीका लागि लगानी त्यहीँबाट पुग्थ्यो। ‘यसपटक के गर्ने साह्रै दोधार छ,’ उनले भने, ‘६ बिघाबाट खान पुग्ने धान निस्कन पनि मुस्किल छ।’
धान र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने जहदाका सयौं किसानले बेमौसमी बाढीको कहर भोगेका छन्। जहदा-४ का ६३ वर्षीय लालबहादुर सिंहले एक महिनाअगाडि एक बिघामा लगाएको तरकारी खेतीमा बाढी पस्दा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको बताए ।
‘एक बिघा खेतमा गोलभेंडा, काउली, पर्वल लगाएको थिएँ, लेदोले सबै पुरिदियो,’ उनले भने, ‘पानी मात्र पसेको भए तरकारीमा धेरै असर गर्ने थिएन। तर लेदोले सबै बिरूवा नष्ट गरिदियो।’
डेढ बिघा खेतमा लगाएको कान्छी मन्सुली धान पनि बाढीले कामै नलाग्ने बनाएको उनी बताउँछन्।
जहदा गाउँपालिका–४ कै बलराम सिंहका लागि यसपटकको बाढीले अकल्पनीय दुःख लिएर आयो। जब लोहन्द्रा खोलाको बेमौसमी बाढीले लहलह झुलेका धानका बाला डुबायो, उनका सपना पनि डुबे। धानबारी क्षणमै बगर बन्यो।
‘अघिल्लो साँझसम्म धानबारी ठिकै थियो,’ उनले भने, ‘बिहान हेर्दा धानबारीमा लेदो मात्र। झुलेका बालाहरू सबै पुरिए।’
यसपटकको बेमौसमी वर्षा र त्यसले ल्याएको बाढी खेतमा पसेपछि कृषिको पकेट क्षेत्र मानिने जहदा लगायत देशभरका धेरै किसानको उठिबास लाग्ने अवस्था आएको छ। एकमुठी धान पनि भित्र्याउन नपाउने अवस्था छ।
बलरामले एक बिघामा धान र साढे दुई बिघा क्षेत्रफलमा तरकारी खेती लगाएका थिए। धान पाक्न तयार थियो, तरकारीका बिरुवा हुर्किने क्रममा थिए। ‘बाढीले एकैछिनमा सबै सखाप पार्यो,' उनले सुनाए।
प्रदेश १ को ५० हजार हेक्टरभन्दा बढी जमिनमा लगाइएको धानबालीमा पछिल्लो बाढीले कुनै न कुनै रूपमा असर गरेको छ। सरकारी अनुमानअनुसार यो बाढीले करिब ८ प्रतिशत उत्पादन घट्ने देखिएको छ। तर किसानलाई यो अनुमान हावादारी लाग्छ किनभने उनीहरूको सर्वस्व नै गुमेको छ। त्यही भएर बाढीले छोपेको धानबारीबाट थोरै भए पनि धान निकाल्न किसानहरू अनेक उपाय लगाइरहेका छन्। तर पाँजामै उम्रिन थालिसकेका कारण बचेको धान पनि जोगिने अवस्था छैन।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा किसानलाई परेको मर्कामा मह्लमपट्टी लगाउने बचन दिएका थिए। तर मुख्यमन्त्रीले संसदबाटै दिएको आश्वासनबारे जहदाका किसान बेखबर छन्। ‘अहिलेसम्म गाउँमा सरकारी मान्छे कोही आएको छैन,’ किसानको शंका छ, ‘राहत पाइएला भन्ने ठूलो आशा छैन।’
जहदा गाउँपालिकाका कृषि प्राविधिक सौरभ राजपुतका अनुसार गाउँपालिकाको कुल ६ हजार बिघाभन्दा बढीमा धान खेती हुने गरेको छ। यसपटकको बेमौसमी बाढीले चार हजार बिघाभन्दा बढीमा क्षति पुर्याएको छ। क्षतिको यही फराकिलो आकार र पीडितको संख्या धेरै भएकै कारण किसानले सरकारी राहतमा भर नगरेका हुन्।
‘यति धेरै जना पीडित छन्, सरकारले सबैलाई राहत कसरी देला?’ दिनेश्वर साहले भने, ‘अरू बेला पनि विभिन्न आश्वासन पाएकै हो। कहिल्यै पूरा भएन।’