चाँगुनारायण नगरपालिका–६ तौथली बस्ने सुकुमाया तामाङ हरेक साल धान रोप्छिन्। छ रोपनी खेतमा उब्जेको धान नै उनको परिवार धान्ने आम्दानीको मुख्य स्रोत हो। उनका श्रीमान किसान नै हुन्। त्यसैले घर चलाउनदेखि छोराछोरी पढाउनेसम्मको खर्च धानले नै धान्नुपर्ने अवस्था छ।
पहिले स्थानीय जातको धान रोपिरहेकी सुकुमायाले पोहोर भने हाइब्रिड धान रोपिन्। नयाँ जातको बीउ राम्ररी फल्यो। स्थानीय जातको करिब पाँच-सात मुरी फल्थ्यो। हाइब्रिडबाट करिब तीस मुरी भित्र्याइन्।
राम्रो आम्दानी भएपछि उनी दंग परिन्। सहकारीबाट ऋण लिएर यसपालि त्यही धान रोपिन्। सुकुमायालाई यो वर्ष अझ बढी धान फल्छ भन्ने आश थियो। फेरि रोप्ने बेलामा प्रशस्तै पानी परेकाले उत्पादन बढ्ने आश गर्नु स्वाभाविक हो।
तर सुकुमायाको छ रोपनी खेतमा एक दाना पनि धान पोसाएन, सबै फोस्रा।
'अब यो वर्ष के खाने भन्ने चिन्ताले सताएको छ,' वर्षभरी खाने अन्न जोहो नहुँदा उनको पेट अहिलेदेखि पोल्न थालेको छ।
यो भेगमा एक सिजन मात्र धान लगाइन्छ। किसानले आफूलाई वर्षभरलाई पुग्ने धान राखेर बढी भएको बेच्छन्। त्यसैबाट उनीहरूको व्यवहार चल्छ।
तर धानका दाना नै नभएपछि पेटमा के हाल्ने, अरू खर्च कसरी जुटाउने भन्ने पिरले सुकुमायालाई गाँजेको छ। अझ उनलाई त ऋण र त्यसको ब्याजको पनि भार छ।
उनले खेती गर्न दुइटा सहकारीबाट ३० हजार रूपैयाँ ऋण लिएकी थिइन्। त्यस्तै दसैंपछि धान भित्र्याउँला, अनि बेचेर तिर्ने भन्दै ऋणपान गरेर दसैं मनाइन्। तर ऋण गरेर दसैं मनाउनु उनलाई दशा लागेजस्तै भयो।
'ब्याज पनि तिर्नुपर्छ,' उनले मलीन हुँदै भनिन्, 'हाम्रो आम्दानी भनेकै यही हो। वर्षभरी खाने धान नफल्दा के खाने, बच्चाहरूलाई कसरी पढाउने?'
छोराछोरी पढ्दै गरेका र श्रीमान पनि खेती नै गर्ने भएकाले घरमा कोही जागिरे वा अरू पेसामा छैनन्। त्यसैले उनको आम्दानीको पनि विकल्प छैन।
धान राम्रो फलेको भए उनीहरू यतिखेर आलु लगाउने तयारीमा हुन्थे। तर दाना नलागेका धान काट्न समेत सुकुमायालाई जाँगर छैन। भन्छिन्, 'सरकारले केही राहत दिन्छ कि भन्ने आश छ।'
सुकुमायाकै जस्तो अवस्था छ सुनिता तामाङको पनि। सुनिता र सुकुमायाले एकै जातको धान लगाएका हुन्। गत वर्ष यही हाइब्रिड बीउ लगाउँदा सुनिताको खेतमा पनि राम्रो उत्पादन भयो। यो वर्ष फोस्रा लागेको देख्दा चकित परेकी छन्।
'कहिलेकाहीँ यो सपना त होइन भने झैं लाग्छ। खेत पुगेर धानका बाला हेर्दा झसंग हुन्छु,' सुनिताले भनिन्।
विगतमा उनी स्थानीय जातकै धान लगाउँथिन्। स्थानीय बीउ कुलो लाग्ने ठाउँ पर्यो भने एक रोपनीमा ७/८ मुरी फल्थ्यो, नभए ४/५ मुरीमा चित्त बुझाउनुपर्छ। हाइब्रिड लगाउँदा १०/१५ मुरी फल्यो। त्यही देखेर सुनिताले यो वर्ष पनि हाइब्रिड धान लगाएकी थिइन्।
मल, बीउ, ज्याला गरेर एक रोपनीमा धान लगाउँदा दस हजार खर्च हुन्छ। सुनिताले पचास हजार खर्चेर पाँच रोपनीमा हाइब्रिड धान लगाएकी थिइन्।
'बीस हजार ऋण लिएकी थिएँ। धान बेचेर तिरौंला भन्ने थियो, फल्दै फलेन,' उनले भनिन्, 'अर्कोपटक त धान लगाउन ऋण पनि पाइँदैन जस्तो छ।'
सुकुमाया र सुनिता यो क्षेत्रमा धान नफलेर पीडित भएका प्रतिनिधि मात्रै हुन्। उक्त नगरपालिकामा करिब दुई सय रोपनीमा लगाएको बालीमा धान नफलेको अर्का पीडित किसान विजय लामाले बताए।
'हाम्रो नगरपालिकामा ७० घर धानमा आश्रित छन्,' विजयले भने, 'सबैको मुख्य आयस्रोत धान नै हो।'
विजयका अनुसार किसानले गत वर्ष लगाएकै हाइब्रिड–डिवाइ २८ जातको धान यसपालि पनि लगाएका थिए। यो चिनियाँ जातको बीउ हो। एक रोपनी जग्गामा औसत दस मुरी धान फल्छ। दुई सय रोपनीमा दुई हजार केजी फल्थ्यो। अहिले बजारमा धान प्रतिकिलो ४० रूपैयाँ छ। त्यसलाई आधार मान्दा ४० लाख मूल्य बराबरको धान क्षति भएको छ।
धान नफलेकोबारे स्थानीय जनप्रतिनिधिलाई मौखिक जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको उनले गुनासो गरे।
'हामीले वडा र नगरपालिकाका प्रतिनिधिलाई जानकारी गराइसक्यौं। केही प्रतिक्रिया आएको छैन,' उनले भने।
हामीले चाँगुनारायण नगरकोट–६ का वडाध्यक्ष सन्ते वाइवासँग यसबारे सौध्यौं। उनले किसानको समस्याबारे नगरपालिकासँग छलफल भइरहेको दावी गरे।
'हामी छलफल गर्दैछौं। कृषि ज्ञान केन्द्रलाई क्षतिपूर्तिका लागि सिफारिस गर्छौं,' वाइवाले सेतोपाटीसँग भने।
विजय लगायतका केही किसान अब मिलेर बीउ किनेको पसल पुगेर कुरा गर्ने तयारीमा छन्। उनीहरूले च्यामासिंहको छुमा गणेश कृषि सेवाबाट यो बीउ किनेका थिए।
उक्त पसलका सञ्चालक सूर्यराम सुवालले चिसो मौसमका कारण धान नफलेको जिकिर गर्दै भने, 'हामीले गत वर्ष पनि यही बीउ बेचेको हो। किसानहरू राम्रो धान फल्यो भन्थे। यो वर्ष हावापानी नमिलेर धान फलेन, हाम्रो के गल्ती?'
उनकै अनुसार पनि यो जातको बीउ काठमाडौं उपत्यकाका लागि आधिकारिक रूपमा सिफारिस गरिएको छैन।
'तर किसानले त्यही जातको बीउ मागेपछि हामीले बेचेका हौं,' उनले दावी गरे, 'यो बीउबाट उब्जनी नहुँदा हामी जिम्मेवार हुँदैनौं भनेरै किसानलाई बेचेका थियौं।'
यो जातको धान नफल्ने समस्या नगरकोटमा मात्रै होइन। ललितपुर बुंगमती–२२ मा रोपिएको यही बीउको धान पनि फोस्रा लागेको स्थानीय किसान मीरा शाहले जानकारी दिइन्।
'पोहोर त्यही बीउ रोप्दा राम्रो धान फलेको थियो। अहिले बालै लागेन,' उनले भनिन्, 'कहिले मौसमले धोका दिन्छ, कहिले मल पाइँदैन। सबै पाएको बेला धान फल्दैन। हामी किसानलाई मात्रै किन यस्तो पर्छ।'
यो बीउ किन नफल्नुको कारणबारे हामीले वरिष्ठ धान विज्ञ डा. कृष्णकुमार मिश्रलाई सोध्यौं। तर खेती भएको ठाउँमै गएर नहेरी यकिन गरेर भन्न नसकिने उनको भनाइ छ।
'धान नफल्ने धेरै कारण हुन्छन्। गएर नहेरी यही हो भन्न सकिँदैन,' उनले भने।
तर सामान्यतया धानको बीउ लट अनुसार फरक पर्ने हुने कहिलेकाहीँ बाली नलाग्ने समस्या हुने मिश्र बताउँछन्। उनका अनुसार दुइटा जात क्रस गराएर हाइब्रिड बीउ निकालिन्छ। अहिले उमारेको धानबाट बीउ निकालेमा, मलखादको मात्रा वा हावापानी नमिलेमा पनि धान नफल्ने समस्या हुन्छ।