माटोमा तरकारीको बीउ छर्दा कति बीउ राखियो र कति बिरूवा उम्रिए भन्ने आकडा निकाल्न कठिन हुन्छ। अर्कोतिर कुनै बिरूवा राम्रो हुन्छ भने कुनै बिरूवा नराम्रो हुन्छ।
सबै बिरूवाले मलखाद र पानी पाउँदैनन्। तर नर्सरी ट्रेमा कति बीउ छरियो र कति बिरूवा उम्रिए भन्ने तथ्यांक निकाल्न सकिने सलुम एग्रिकल्चरका कार्यकारी निर्देशक श्रीकृष्ण अधिकारीले बताए।
नर्सरी ट्रेमा उम्रिएका बिरूवा स्वस्थ र बलियो हुने अधिकारीको दाबी छ।
'यसले बीउमा क्षति हुन दिँदैन। ९० देखि ९५ प्रतिशत बीउ जोगिन्छ। अर्को कुरा यसले क्षेत्रफलको समेत बचत हुन्छ भने गुणस्तरीय र एकनासको बिरूवा उत्पादन हुन्छ,' उनले भने, 'ट्रेमा बिरूवा उमार्न पिटमोस, कोकोपिटसँगै कम्पोस्ट मल राखेर भरिन्छ। अंकुरण गर्न ठिक्क भएको बीउलाई प्रत्येक प्वालमा खसालिन्छ। बिरूवाले सीमित क्षेत्रमा मात्रै जरा फैलाउने भएकाले बिरूवा स्वस्थ र बलियो हुन्छ।'
उनका अनुसार यसमा उम्रिएको बिरूवा अनियन्त्रित र अस्वभाविक रूपमा बढ्न पाउँदैन। माटोमा बिरूवा राख्दा अनावश्यक नाइट्रोजन पाउने भएकाले बिरूवा हुरहुरती बढ्छ।
'यो एकपटक किन्दा ४-५ पटकसम्म प्रयोग गर्न सकिन्छ। दुई महिनासम्म बिरूवा राख्नुपर्यो भने बिरूवालाई एकनासले राख्न सकिन्छ,' अधिकारीले भने, 'बिरूवा ग्राफ्टिङ गर्न समेत उपयुक्त छ। बिरूवाको सही तथ्यांक निकाल्न सकिन्छ।'
गमलामा पनि फलाउन सकिन्छ तरकारीः
गतिलो माटो नभएको ठाउँमा, घरको कम्पाउन्ड र कौसीमा तरकारी लगाउन प्लास्टिकका गमला पनि प्रयोग गर्न सकिने उनले बताए। उनका अनुसार माटो रङका प्लास्टिकका गमला एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुन्छ भने कौसीलाई भार पनि पर्दैन। त्यस्तै नर्सरी र फूलका लागि समेत गमला उपयुक्त छ।
माटोको गमला लागतको हिसाबले महँगो र उपलब्धता समेत थोरै हुने भएकाले प्लास्टिक गमला उपयुक्त हुने उनको भनाइ छ।
'माटोरहित उत्पादनका लागि कोकोपिट, पिटमोस वा कम्पोस्ट मल राखेर बिरूवा उत्पादन गर्न सकिन्छ। सुरूआती खर्च धेरै भए पनि पुन: प्रयोग गर्दा फाइदा हुन्छ,' उनले भने, 'यो गमलामा साग, काउली, खुर्सानी, फूललगायत लगाउन सकिन्छ।'