हामीसँग विविध खालको हावापानी भएको भूगोल छ। त्यसैले यहाँ विविध खालको खेती हुनसक्छ।
नेपालमा कृषिको लागि धेरै अवसर छ। तर हामीले यसको उपयोग गर्न सकेका छैनौं। नेपालमा एक हेक्टरमा ३ टन धान फलाइन्छ भने त्यही धान जापानमा दोब्बर फल्छ।
मकै १ हेक्टर जमिनमा ३\४ टन फलाइन्छ तर त्यतिनै जमिनमा युरोप,अमेरिकामा १०\१२ टन फल्छ। त्यो जुन ग्याप छ हामीले पूरा गर्न सकिन्छ। यसको लागि जमिन बढाउनुपर्छ भन्ने होइन, हामीसँग दक्ष प्राविधिक जनशक्ति हुनुपर्छ र त्यही अनुसारको प्रविधि, बीउ र मल हुनुपर्छ।
हामीसँग चुनौती पनि धेरै छन्। कृषकलाई मलको अभाव छ। धान रोप्ने बेला भयो, मल पाइँदैन। त्यसले गर्दा उत्पादनमा असर पर्छ। प्राविधिक जनशक्ति छैनन्।
सरकारले योजना बनाउँदा विज्ञको धारणा लिनुपर्छ। अहिले स्थानीय, प्रदेश र संघीय सरकार छन्। तीन प्रदेश मिलेर योजना बनाएमात्रै काम गर्न सजिलो हुन्छ।
सरकारसँग पर्याप्त विज्ञ नभए विज्ञसँग छलफल गर्न सकिन्छ। कृषिमा सुरू भएको आधुनिकीकरणले केही हदसम्म उत्पादनमा प्रभावित परेको छ। तर यो देशको आवश्यकता अनुसार प्रविधि उपलब्ध नभएको हो कि! भन्ने देखिएको छ।
कृषिमा प्रविधि सानो कुरा होइन। यसको मूल्य धेरै छ। हामी जे चिज पनि योजना नबनाइ ल्याउँछौं। हामीले जमिनको क्षमताका आधारमा प्रविधि भित्र्याएका छैनौं। हामी उत्पादन गर्नुपर्छ भनेर सबै उत्पादनमा लाग्छन् तर कुन बजार सुरक्षित छ भन्ने मूल्यांकन हुँदैन। जसले गर्दा एक वर्ष उत्पादन राम्रो हुन्छ अर्को वर्ष धेरै घाटा हुन्छ। यस्तो भएमा किसान निराश हुन्छन्।
त्यसैले योजना बनाउँदाबाट नै यो पकेट क्षेत्रमा यस्तो उत्पादन हुने भन्ने निर्धारण गरिनुपर्छ। किसानले उत्पादन गरेको सामग्रीको बजार सुरक्षित हुनुपर्छ।
बजार सुरक्षित भएन भने काम गर्न कठिन हुन्छ। हाम्रो खुला बोर्डरसमेत छ। यदि हामीले त्यसमा नियन्त्रण गर्न सकिएन भने भारतको उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन। किनकि, उनीहरूले ठूलो क्षेत्रमा उत्पादन गरेका हुन्छन्। जसले गर्दा उनीहरूको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन हुन्छ। उपभोक्ताले मूल्य हेर्छ, उसले उत्पादन भएको ठाउँ हेर्दैन।
हामीले जथाभावी विषादी प्रयोग गर्छौं। तरकारीमा विषादी कति छ भनेर बेला-बेलामा नापिन्छ पनि। तर कालीमाटीमा परीक्षण हुन्छ। यो गलत हो, किनकि कालीमाटीमा आएको तरकारी धेरैले लगिसकेका हुन्छन्। जुन ठाउँमा उत्पादन भएको छ त्यहीँ ठाउँमा अनुगमन गर्नुपर्छ। विषादी किनबेचको केही मापदण्ड बनाउनुपर्छ। तर हामीकहाँ जथाभावी गरिन्छ। विषादी छर्कनेले के गर्ने भन्ने कुनै प्रावधान छैन। कति विषादी भित्रिन्छ भनेर समेत कुनै तथ्यांक निकालिएको छैन।
युरोप, अमेरिकामा प्रयोग गर्नै नपाइने केमिकल अहिले पनि प्रयोग गरिन्छ। धेरै खतरनाक खालका केमिकल प्रयोग हुन्छ। यसको अनुगमन र नियन्त्रणमा ढिलो भइसकेको छ। यसले जुनसुकै बेला दुर्घटना निम्त्याउने जोखिम छ।
जलवायु परिवर्तनले पनि हाम्रो कृषिमा धेरै असर पारिरहेको छ। कृषिको उत्पादनमा बढाउन प्रयोग गर्ने प्रविधिका लागि धेरै कार्बनडाइअक्साइड निक्लिन्छ, जसले जलवायुमा असर गर्छ। मल उद्योगले धेरै ऊर्जाको खपत गर्छ।
हिजो,असारमा धान रोपिन्थ्यो अहिले त्यो समयनै बदल्नुपर्ने हो कि भन्ने परिस्थिति आएको छ।
धान उत्पादन गर्ने समयमा यति धेरै पानी पर्यो कि, जसले गर्दा किसानको धान खेतमै उम्रिएको छ। अस्वभाविक खडेरी र वर्षा हुनसक्छ यसबाट किसानले ठूलो मर्का सहनुपर्छ।
विषादीको प्रयोगले डरलाग्दो समस्या निम्त्याइरहेको छ। प्रकृतिमा आधारित उत्पादनलाई हामीले जोड दिनुपर्छ। अहिले विश्वका ठूला-ठूला केमिकल कम्पनी यसमा लागेका छन्।
विषादी प्रयोग गर्दैमा खेती बढ्छ भन्ने सोच गलत हो। विषादी प्रयोग गर्ने अल्छी तरिका हो। आज छर्किएर भोलि मरिहाल्छ भनेर यस्तो गरिएको हो। यसका लागि अन्य विभिन्न उपाय हुन्छन्।
हाम्रा यस्ता समस्यालाई एकैपटक समाधान गर्न कठिन छ। यसका लागि नेपाल सरकारले एग्रिकल्चर इमर्जेन्सी गर्न जरूरी छ।कृषिका हरेक विषयलाई प्राथमिकताका तोकेर चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ।
यस्तो नगर्ने हो भने हामी झन्-झन् खराब परिस्थितिमा हुन्छौं। युवाहरू विदेश गएका छन्। पुराना पुस्तालाई बुझाउन कठिन हुन्छ।
जनशक्तिको अभावलाई पूरा संकटकालीन शक्ति प्रयोग गरेर उनीहरूलाई यहाँ बस्ने वातावरण बनाउनुपर्छ।
उनीहरूलाई विश्वासमा लिएर कृषिमा लाग्न उत्साह दिनुपर्छ। त्यस्तै विदेशिएका विज्ञलाई फर्काउन समेत पहल गर्नुपर्छ।
भारत-चीनजस्ता देशले आफ्ना विज्ञलाई फर्काएका छन्। गाँउमा कृषिको कुरा गरिन्छ। तर श्रम गर्ने जनशक्ति छैन। केही वर्ष धेरै मेहनत गर्नुपर्छ। त्यसपछि आफैं सबै मिल्दै जान्छ।
बेलायतको हार्पर याडम्स विश्वविद्यालयबाट प्लान्ट प्याथोलिजिमा पिएचडी गरेका डा. सुभाष भट्टराई बेलायतको बायोटेक कम्पनीमा कार्यरत छन्। उनीसँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्: