डिवाइ–२८ जातको धानको बिऊका कारण बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन्।
प्रविधिक टोलिले क्षतिको तथ्यांक संकलन गरिरहेको बिऊ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले बताए।
उनका अनुसार कृषि ज्ञान केन्द्रका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ।
‘समितिले कहाँ–कहाँ क्षति भएको छ त्यसको तथ्यांक संकलन गर्दै छ। एकदुई दिनमै डाटा आउँछ त्यो अनुसार क्षतिपूर्ति दिन लगाउँछौं,’ उनले भने।
बिऊ बिजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति सम्बन्धी निर्देशिका–२०७३ अनुसार किसानले क्षतिपूर्ति पाउने छन्।
आयातकर्ताले क्षतिपूर्ति दिन आनाकानी गरे बिउविजन ऐनअनुसार कारबाही हुने उनको भनाइ छ।
पहाडका लागि सिफारिस नभएको जात लगाएकाले धानमा बाला नलागेको उनले बताए।
‘हामी चागुनारायण–६ मा अवलोकन गर्न गएका थियौं। अधिकांश ठाउँमा दाना लागेको छैन,’ उनले भने।
उनका अनुसार डिवाइ–२८ तराईमा सिफारिस गरिएको जात हो। हाइब्रिड संवेदनशील बिऊ हो।
एकवर्ष राम्रो फल्यो भन्दैमा अर्को वर्ष पनि राम्रो फल्छ भन्ने हुँदैन। धानले राम्रा उत्पादन दिन तापक्रम, वातावरण, हावापानी सबै मिल्न पर्छ।
किसानले लगाएका बिऊ डिवाइ–२८ जातको धान हो या होइन भनेर जाँच गरिने उनले बताए।
उनका अनुसार आयात अनुमति लिने बेलामा आयातकर्ताले डिएनए फिंगर प्रिन्ट दर्ता गरेको हुन्छ।
‘हामीले नमुना संकलन गरिसकेका छौं। बिऊ नै गलत हो कि जाँच गछौं,’ उनले भने।
किसानले धानको बिउमा समस्या खेपेको पहिलो पटक होइन। पहिले डिवाइ–६९ मा पनि त्यसै समस्या खेपेका थिए।
सिफारिस नगरेको धान बिक्री गर्नेलाई कारबाही गर्नुपर्ने राष्ट्रिय कृषक समुह महासंघ नेपालको संस्थापक अध्यक्ष उद्धव अधिकारीको भनाइ छ।
सरकारले कारबाही नगरेका कारण व्यापारीहरूले पटक–पटक किसानलाई झुक्काएको उनको आरोप छ। उनकाअनुसार डिवाइ–६९ जातको विउबाट भएको नोक्सानको पनि क्षतिपूर्ति नभएको उनले बताए।
भक्तपुर, ललितपुर, काठमाडौं उपत्यका आसपासका क्षेत्रका किसानले लगाएको धानमा बाला लागेको छैन।
भक्तपुरमा १ हजार, ललितपुर एकसय रोपनी र अन्यमा १ हजार दुई सय रोपनी क्षेत्रफलमा लगाएको धानमा बाला नलागेको सूचना आएको कृषक समुह महासंघ नेपालको संस्थापक अध्यक्ष अधिकारीको भनाइ छ।
बिउ बिजन केन्द्रले तथ्यांक संकलन गरेको बताए पनि पीडित समुदायमा भने अहिलेसम्म कोही तथ्यांक संकलन गर्न नपुगेको अधिकारीको दावी छ।
‘चागुनारायण ६ र सूर्यविनायकका ४ र ७ मा हिजो यसैसम्बन्धी छलफल थियो। त्यहाँ तथ्यांक संकलन गर्न आएको बताएको छैनन्,’ उनले भने।
नेपाल कृषि अनुसन्धान परिषद्ले अहिलेसम्म पहाडका लागि हाइब्रिड धानको जात विकास गरेको छैन। तराईका लागि भने हर्दिनाथ हाइब्रिड–१ र हर्दिना–३ छ।
किसानहरू हाइब्रिड धानमा आकर्षित हुँदा रैथाने बिउ भने मासिँदै गएको अधिकारी बताउँछन्।
सरकारले किसालनाई रैथाने बिउ लगाउन प्रोत्साहन गर्न पर्ने उनले भनाइ छ।
इम्पोर्ट प्रमिटमा पनि सिफारिस गरिएको क्षेत्रमा बाहेक अन्यत्र लगाउन पाइँदैन भनेर स्पष्ट लेखिएको छ।
डिवाइ– २८ जातको धान आयात गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्ट सञ्चालक मधुसुदन प्रधान तराईमा मात्रै बेचेको बताउँछन्।
‘मैले तराई लागि डिलरहरूलाई बेचेको हो। काठमाडौंमा बेचेको छैन,’ उनले भने, ‘व्यापारीले कहाँ–कहाँ बेच्छन् मैले अनुगमन गर्ने होइन।’
डिलरहरूबाट यहाँका व्यापारीले ल्याएर बेच्ने गरेको उनको भनाइ छ।
बिऊको प्याकेटको पछाडि नै तराईको लागि मात्रै सिफारिस गरिएको लेखिएकाले किसानहरू आफैले हेरेर किन्नु पर्ने उनले बताए।