सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।
बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा २० देखि २२प्रतिशत नाफा जोडेर मूल्य तोकिएको जानकारी दिए।
उनकाअनुसार बोर्डले फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ तोकेको छ।
पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’लाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १ सय ४८ र ‘बी ग्रेड’को कफीको मूल्य ९५ रुपैयाँ तोकिएको छ।
उक्त मूल्य बुधबारबाट लागु हुने बोर्डले जनाएको छ।
नेपालमा कफी उत्पादन हुने भएपनि विदेशबाट पनि उत्तिकै मात्रामा कफि आयात हुँदै आएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा २९६.५ मेट्रिक टन कफी उत्पादन भएको थियो। भन्सार विभागको तथ्यांक अनुसार सो आर्थिक वर्षमा ११ करोड ८८ लाख मूल्य बराबरको २ सय ६६ मेट्रिक टन कफी आयात हुँदा यहाँबाट ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन मात्रै कफी निर्यात भएको थियो।
आर्थिक वर्ष ०७७/०७८ को तथ्यांक हेर्ने हो भने १० करोड ६७ लाख मूल्य बराबरको १९८.७६ मेट्रिक टन कफी आयात हुँदा ९ करोड ६० लाख मूल्य बराबरको ७२.४८ मेट्रिक टन कफी निर्यात भएको थियो।
बोर्डका अनुसार कुल उत्पादनको २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ।
बोर्डले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कफि दिवसको रूपमा मनाउँदै आएको छ।
बुधबार मनाउन लागिएको १७ औं कफी दिवसको नारा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’ रहेको छ।