रूपन्देहीका रोहितप्रसाद पासीले अघिल्लो वर्ष कोरोना महामारीका कारण केरा खेतीबाट बेहोरेको साढे दुई लाख रूपैयाँ घाटा यस वर्ष पूर्ति गर्ने सोचेका थिए। तर गत भदौ-असोजमा परेको अत्यधिक वर्षाले दसैं र तिहारलाई लक्ष्य गरेर लगाइएको केरा समयमा पाकेन। उनले त्यो अहिलेसम्म बिक्री गर्न सकेका छैनन्।
सियारी गाउँपालिका-४, ओर्लहवाका रोहितले चार वर्षदेखि पासवान एकीकृत कृषि फार्ममार्फत् केरा र कागती खेतीसँगै माछापालन पनि गर्दै आएका छन्।
रोहितले थाहा पाएदेखि नै उनका बुबा र दाजुहरू तरकारी खेती गर्थे। बुटवल र भैरहवा प्रमुख बजार थिए। रोहितले बुबा र दाजुहरूकै कर्म पछ्याउन थालेपछि पढाइ बीचमै छाडिदिए।
आठ कक्षासम्म मात्र पढेका रोहित तरकारी खेतीभन्दा विदेश गएर काम गर्न चाहन्थे। विदेशमा धेरै पैसा कमाउन सकिन्छ भन्ने सोचेर उनी २०६६ सालमा मलेसिया गए। घरमा खेतीकिसानी मात्रै गरेका उनलाई विदेशी भूमिको केमिकल उद्योग फापेन। उनी बिरामी परे र एक वर्षमै घर फर्किए।
घर फर्किएपछि उनले सानैदेखि गर्दै आएको तरकारी खेतीलाई नै निरन्तरता दिँदै आएका छन्।
डेढ बिघा जग्गा भाडामा लिएर तरकारी खेती सुरू गरेका उनले केराबाट राम्रो आम्दानी हुने थाहा पाएपछि २०७५ देखि केरा खेतीमा हात हाले। त्यसका लागि थप दुई बिघा जग्गा भाडामा लिए। तर केराबाट अझै लगानी उठाउन नसकेको उनी बताउँछन्।
उनका अनुसार पहिलो वर्ष कमसल बिरूवाका कारण राम्रो उत्पादन भएन। दोस्रो वर्ष कोरोना महामारी र तेस्रो वर्ष अत्यधिक वर्षाले घाटा लाग्यो, उनले भने, 'अहिलेको उत्पादन तेस्रो हो। पहिलो वर्ष राम्रो बिरूवा नपरेपछि केराको कोसा र घरी सानो फल्यो। गत वर्ष कोरोनाका कारण चाडपर्वमा पनि केराले बजार पाएन। यो वर्ष आम्दानी होला भन्ने सोचेको थिएँ, वर्षाले दसैं-तिहारमा बेच्नुपर्ने केरा बल्ल पाक्दै छ।'
२०७५ सालमा दुई बिघामा ३ हजार ६ सय केराको बोट लगाउँदा रोहितले २ लाख रूपैयाँ लगानी गरेका थिए। सस्तो पर्ने भन्दै किसानको बारीबाटै बिरूवा ल्याउँदा घाटा बेहोरेको उनको भनाइ छ।
'मैले बिरूवा ल्याउँदा नै सस्तो खोजेर गल्ती गरेँ, बिरूवा उम्रिएकै चार-पाँच महिनाको परेछ, वैशाखमा लगाएको बिरुवा ठूलो नहुँदै भदौमै पसाएपछि कोसा र घरी सानो लाग्यो, फल फस्टाउन सकेन,' उनले भने।
पहिलो वर्ष कोसा सानो लागे पनि २०७५/७६ मा लुम्बिनी प्रदेश कृषि मन्त्रालयबाट १० लाख रूपैयाँ अनुदान पाएपछि १० लाख ऋण खोजेर थप १० बिघा जग्गामा केरा खेती गरेको उनले बताए। जग्गाको भाडा नै वार्षिक साढे दुई लाख रूपैयाँ छ। तीन वर्ष पहिलेसम्म सिरूबारी र झाडीले ढाकिएको अर्कैको जग्गालाई रोहितले केरा खेती गरेर हराभरा बनाएका छन्।
उनले त्यो १० बिघामा १६ हजारभन्दा बढी केराका बोट लगाएका छन्। आधाभन्दा बढी बोटमा एकनासका केराका घरी झुन्डिएका छन्। केही बोटमै पाकिसके भने केही पाक्ने तयारीमा छन्। पाकेर बिक्रीका लागि तयार भएका केरा देखेर उनी खुसी हुनुपर्ने हो तर हुन सकेका छैनन्। चाडपर्व सकिएपछि बजार नभएको भन्दै व्यापारीले केरा नउठाएपछि उनलाई लगानी कहाँबाट उठाउने भन्ने चिन्ता छ।
अघिल्लो वर्ष करिब २५ लाख लगानी गरेका उनले २१-२२ लाखको मात्र केरा बिक्री गरेका थिए। यस वर्ष पनि गोडमेल, मलजल र केराको स्याहारसुसारमा १० लाख खर्च भईसकेको उनी बताउँछन्। 'अहिलेसम्म सात लाखको मात्रै केरा बिक्री भयो, यस वर्ष पनि घाटा थपियो,' उनले भने।
उनले अगाडि भने, 'दसैं बेला ३६ रूपैयाँ दर्जनमा दिँदा पनि व्यापारीहरूले नउठाएपछि अहिलेसम्म बोटमै छन्। यो वर्ष १८-२० लाखको बिक्री होला भन्ने थियो तर १२-१३ लाखको केरा बोटमै छन्। आठ हजारभन्दा बढी बोटमा अहिले पनि बजार पठाउन तयार केरा छ। एउटा घरी १ सय ६० रूपैयाँमा दिए पनि १२-१३ लाखको बिक्री हुन्छ तर १ सय २० रूपैयाँ घरीमा पनि व्यापारीले उठाउन मानेका छैनन्।'
दसैंअघिसम्म ३६ रूपैयाँ दर्जनमा उठाएका व्यापारीले अहिले बजार छैन भन्दै २५ रूपैयाँ दर्जनमा पनि नउठाएको रोहितले बताए। भारतबाट महँगो रकम तिरेर केरा ल्याउने व्यापारीले नेपाली उत्पादन भने नउठाउने गरेको उनको गुनासो छ।
'व्यापारीले सकेसम्म पेल्न खोज्दा रैछ, केराको भाउ नै छैन भन्छ,' उनले भने, 'केराको घरी काटेर यहाँबाट बुटवल र भैरहवा मन्डीसम्म आफैंले पुर्याइदिँदा पनि २५ रूपैयाँ दर्जनमा पनि लिइदिन्नन्।'
केरा बिक्री नभए पनि केराघारी सफा गर्ने, पाकेको केरा काटेर बाहिर ल्याउने काममा उनले दैनिक चार जना कामदारलाई रोजगारी दिएका छन्। नयाँ बिरूवा लगाउने र गोडमेल गरी मलजल गर्ने बेला ९-१० जना कामदार खटिइरहन्छन्। आफू निरन्तर खेतीकिसानीमा लागे पनि गाउँपालिकाले कुनै सहयोग नगरेको उनले दुःखेसो गरे।
'केराको बिरूवा लगाउँदा र पसाउँदा कम्पोष्ट र रासायनिक मल चाहिन्छ, न त समयमा रासायनिक मल पाइन्छ न त उत्पादन भएको केरा बिक्रीको व्यवस्था छ,' उनले भने।
घारीमै केरा पाकेर पहेँलै भए पनि व्यापारीले नउठाएपछि अब भने फ्रिजिङ गरेर बिक्री गर्ने उनले योजना बनाएका छन्।
'अब आफैंले घरको कोठामा एसी लगाएर भए पनि केरा भण्डारण गर्न सकिन्छ कि भन्ने सोचिरहेको छु, त्यसो गर्न सकियो भने यो क्षेत्रका खुद्रा व्यापारीलाई यहीँबाट बिक्री गर्न सकिन्थ्यो,' उनले योजना सुनाए।
हुन त उनले मान्छे राखेरै भए पनि दुईवटा ठेलामा केरा बेच्न दैनिक रूपले गाउँघर डुलाउने गरेका छन्। तर १० बिघामा लगाएको केरा ठेलामा बिक्री गरेर कहिले सकिनु!
केरा खेतीबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि अहिले रोहितले कागती खेती पनि सुरू गरेका छन्। यो वर्ष केराघारीकै बीचमै ४ सय बोट सुन कागती लगाए। कागतीबाट राम्रो आम्दानी लिन सके त्यसैलाई बढाउँदै लैजाने उनको योजना छ।
यसरी १० बिघामा केरा र कागती खेती गरेका उनले डेढ बिघामा बनाएको पोखरीमा माछापालन पनि गरेका छन्। माछापालन गरेको तीन कट्ठाबाहेक अरू पोखरी उनले भाडामा लिएका हुन्। माछाबाट भने राम्रो आम्दानी हुने गरेको उनी बताउँछन्।
'माछाले केरामा भएको घाटा पूर्ति भएको छ, नभए त कहाँबाट परिवार पाल्न सकिन्थ्यो र।' उनले भने।
रोहितले रहु, नैनी, कमन ग्रास, सिल्भर, भाकुर लगायत जातका माछा पालेका छन्। तीन-चार लाख रूपैयाँ लगानी भयो भने ८-९ लाख आम्दानी गर्न सकिने उनले बताए।
केरा खेतीका लागि कामदार राखेका रोहितले माछापोखरीको रेखदेख भने श्रीमती र आफैं मिलेर गर्छन्।
'बिहानमा एकपटक दाना राखिदिने हो, दिउँसो पोखरीमा कत्तिको अक्सिजन छ भनेर हेर्नुपर्छ, आकाशमा बादलले ढाकिए पोखरीमा अक्सिजन कम हुन्छ, यस्तो बेला पोखरीको पानी चलाइदिने, बाहिरबाट पानी हालिदिने गर्नुपर्छ,' उनले भने।
नेपाली किसानहरू खेतीपातीमा आकर्षित भए पनि समयमा मल र बीउ नपाउने र बजारको व्यवस्था नहुँदा निरन्तर लाग्न नसकेको उनको बुझाइ छ।
'पहिलो त नेपालका किसानले समयमा मल र बीउ नै पाउन सक्दैनन्, सीमापारिका किसानले सस्तो र समयमै मल, बीउ पाउँछन्, बजार व्यवस्थापन पनि सरकारले गरिदिएको हुन्छ। नेपालमा एक बोरा रासायनिक मल पाउने पैसाले भारतका किसानले तीन बोरा पाएका हुन्छन्। प्रतिस्पर्धा उनीहरूसँगै गर्नुपर्छ। सरकारलाई चाहिँ यस्ता कुरामा वास्तै छैन,' उनले भने।
सरकारले बिमा नीति सुधार गर्दै बीउबिजन र मलमा अनुदान दिने र बजार व्यवस्थापनसँगै भारतीय केरा आयात रोक्न सके नेपाललाई आत्मनिर्भर बनाउने गरी किसानलाई उत्पादनमा लगाउन सकिने उनको भनाइ छ।