नुवाकोट, ककनीका दीपेश तामाङले साढे पाँच रोपनी जग्गामा स्ट्रबेरी खेती गरेका छन्।
अहिले उनको जग्गामा लहरै देखिने बिरूवामा भुइँ छोप्ने गरी स्ट्रबेरी फलेको छ। हरिया बिरूवामा राताम्मे भएका स्ट्रबेरी बगैंचामा पुग्दा दीपेशलाई बिछट्टै खुसी मिल्छ।
'बगैंचामा आइपुग्दा मन नै हलुका हुन्छ,' दीपेशले सेतोपाटीसँग भने, 'यी स्ट्रबेरीका दाना मात्र होइनन्, मेरो खुसी र परिवार पाल्ने आधार हुन्।'
दीपेशले आफ्नो पुर्ख्यौली जमिनमा स्ट्रबेरी खेती गरेका हुन्। यसबाट वर्षमा ३० लाखसम्मको व्यापार हुने उनले बताए।
'वार्षिक ३० लाखसम्मको कारोबार हुन्छ। सबै खर्च र लगानी कटाउँदा १५ लाखसम्म बचत गर्छु,' ३३ वर्षीय दीपेश भन्छन्, 'साथीहरू परदेशमा दिन-रात खट्दा यति कमाउँदैनन्, बचत गर्नै सकेनौं भन्दै गुनासो गर्छन्। तर मेहनत गरे स्वदेशमै फलाउन सकिने रहेछ नि पैसा।'
उनका अनुसार स्ट्रबेरी वर्षमा सात महिना फल्छ, कात्तिकबाट सुरू भएर वैशाखसम्म। विशेषगरी राम्रो घाम लाग्ने जमिनमा उत्पादन राम्रो हुन्छ।
अहिले सिजन सुरू भएकाले दीपेशलाई स्ट्रबेरी टिप्न भ्याइनभ्याइ छ। बिहान दस बजे बगैंचा पुग्ने उनी दिउँसो ३ बजेसम्म स्ट्रबेरी बटुल्छन्। बेलुका ८ बजेसम्म प्याकिङ गर्छन् र भोलिपल्ट बजार पठाउँछन्।
विगतका वर्षमा दैनिक सय किलोसम्म स्ट्रबेरी टिपे पनि यो वर्ष मनसुनले केही क्षति पुर्याएकाले उत्पादन घटेको उनले बताए। अहिले दिन बिराएर टिप्दा पनि एकपटकमा ५० देखि ८० किलो हुन्छ। स्ट्रबेरीका हरेक दानामा उनी पैसा देख्छन्।
'आज टिप्यो भोलि पाक्छ, पर्सि फेरि टिप्यो,' खुसी साट्दै उनी सुनाउँछन्, 'दिनदिनै पैसा टिपिरहेजस्तो लाग्छ। एक दिनकै स्ट्रबेरीबाट झन्डै ४० हजारको व्यापार हुन्छ। महिनाभरि खटेर काम गर्दा त्यति कमाउन मुश्किल छ। मैले एक दिनमै कमाइरहेको छु।'
स्ट्रबेरीका दाना टिप्न उनलाई श्रीमतीले साथ दिन्छिन्। तामाङ दम्पती आफूले मात्र नभ्याएपछि अरू दुई जना कर्मचारी राखेका छन्। कामदारलाई मासिक १४ हजार तलब दिने उनले बताए।
'गाउँमै फल टिप्ने र बगैंचामा काम गरेर आम्दानी गर्न पाउँदा कर्मचारी पनि खुसी छन्,' उनले भने।
स्ट्रबेरीबाट यति धेरै कमाइ होला भनेर दीपेश आफैंले भने कहिल्यै सोचेका थिएनन्। तर व्यवसायप्रतिको लगाव, मेहनत र खटाइले प्रशस्त आम्दानी गर्न सकिने उनको अनुभव छ।
दीपेशले १५ वर्षको उमेरदेखि नै स्ट्रबेरी खेती सुरू गरेका हुन्। त्यो बेला ककनीमा स्ट्रबेरी खेती परियोजनाका लागि जापानी सहयोग नियोग जाइकाअन्तर्गतको जाइटी नेपाल पुगेको थियो। परियोजनाले नुवाकोटमा स्ट्रबेरीका केही बिरूवा रोपेर परीक्षण गर्यो। त्यसले राम्रो उत्पादन दिएपछि स्ट्रबेरीका लागि हावापानी अनुकूल स्थानका रूपमा छनोट भयो ककनी।
दीपेशले त्यही बेला जाइटी नेपालको परियोजनामा काम गर्ने अवसर पाएका थिए।
'म र केही साथीहरूले त्यो प्रोजेक्टमा काम गर्ने मौका पायौं। केही वर्षपछि हामीले एक-दुइटा बिरूवा लियौं र बारीमा लगायौं,' सुरूआती दिन सम्झिँदै दीपेशले भने, 'त्यसले राम्रो फल दियो अनि व्यावसायिक रूपमै विस्तार गर्ने सोच आयो।'
यसरी स्ट्रबेरी रोप्न सुरू गरेका उनले अहिले वार्षिक ३० हजार बिरूवा लगाइरहेका छन्। उनको इच्छा कम्तीमा एक लाख बिरूवा लगाउने हो।
बजारमा स्ट्रबेरीको माग राम्रो छ। उनका अनुसार ककनीमा उत्पादन भएको स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज लगायत सहरमा पुग्छन्। त्यस्तै भारतको कलकत्ताबाट पनि निकै माग आउने उनले बताए।
सामान्यतया स्ट्रबेरीको बजार मूल्य ४ सय ५० रूपैयाँ प्रतिकिलो छ। तर दीपेशको उत्पादन अलि भिन्न छ। उनको बगैंचामा साना, मध्यम र ठूला स्ट्रबेरीका दाना फल्छन्। जसलाई उनले 'ए', 'बी' र 'सी' ग्रेडमा छुट्याएका छन्।
'ए' ग्रेडमा सबभन्दा ठूला दाना पर्छन् जुन उनले सात सय रूपैयाँ प्रतिकिलोसम्म बेच्छन्। त्यस्तै 'बी' ग्रेडमा पर्ने मध्यम दाना पाँच सय प्रतिकिलोसम्म बिक्छ। अनि 'सी' ग्रेडका स्ट्रबेरी किलोको साढे चार सय रूपैयाँ।
दीपेशका अनुसार पहिले पहिले ककनीमा मकै, कोदो र मुला खेती गरिन्थ्यो। उब्जाउ भएको अन्नले वर्षभरि खाना नपुग्ने अवस्था थियो। आम्दानीको स्रोत नभएपछि केटाकेटीलाई राम्रो शिक्षासमेत दिन सकेका थिएनन्। अचेल धेरै स्थानीयले बारीमा स्ट्रबेरी खेती गरिरहेका छन्। आम्दानी राम्रो छ।
ककनी गाउँपालिका वडा नम्बर २ मा अहिले ५ सयभन्दा बढी घरधुरीले स्ट्रबेरी खेती गरिरहेका उनले जानकारी दिए। स्थानीयले एक रोपनीदेखि ७ रोपनी जग्गामा खेती गरेका छन्।
'परदेशमा जति काममा खट्नुपर्छ त्यति यहाँ खट्नुपर्दैन। दिनमा ४/५ घन्टा खटियो भने विदेशमा कमाउने पैसा यहीँ सजिलै कमाइन्छ,' उनी भन्छन्, 'न परिवारलाई छोड्नुपर्यो न अरूको हेपाइ सहनुपर्यो।'
अहिले परिवार धान्ने तरिकाले मात्र स्ट्रबेरी खेती भइरहेकामा उनलाई भने आधुनिक तरिकाले खेती गर्न मन छ। जापान र पोर्चुगलजस्ता देशमा आधुनिक तरिकाले स्ट्रबेरी उत्पादन भइरहेको भन्दै उनी त्यस्तो प्रविधि ल्याउन सके मागअनुसार प्रशस्त उत्पादन गर्न सकिने बताउँछन्।
जेठबाट स्ट्रबेरीको अफ सिजन सुरू हुन्छ। असोजसम्म दीपेश पुराना बिरूवाको पात फ्याँक्ने, बेर्ना बनाउने, नर्सरीमा नयाँ बिरूवा बनाएर हुर्काउने काममा व्यस्त हुन्छन्।
उनका अनुसार एक वर्ष फल दिएको बिरूवामा अर्को वर्ष झाँगिएको पात निकालेर फ्याँक्नुपर्छ। बिरूवाबाट लहरा फैलन थाल्छ र त्यहाँबाट २०/२५ वटा नयाँ बिरूवा उत्पादन हुन्छ।
ककनीमै दीपेशको नर्सरी छ। उनी हरेक वर्ष आफ्नै नर्सरीमा नयाँ बिरूवा उत्पादन गर्छन्। माटो र मल मिसाएर पोलिथिनमा लहरा भएका बिरूवा रोपेर करिब तीन महिनासम्म राख्छन्। पोलिथिनमा बिरूवाको जरा फैलिन सुरू भएपछि भदौ पहिलो सातातिर बगैंचामा रोप्छन्।
'एकपटक फल दिइसकेको बिरूवाले अर्को सिजनमा राम्रो फल दिँदैन,' उनले स्ट्रबेरी खेतीको अनुभव सुनाउँदै भने, 'पुरानो बिरूवा निकालेर नयाँ रोप्दा राम्रो फल दिन्छ।'
उनले स्थानीयलाई पनि नयाँ बिरूवा बनाउन सहयोग गर्छन्।